Thursday, June 18, 2026
Home Blog Page 657

गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन

0

काठमाडौं: यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो।

गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग÷सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोकिएको सन्दर्भमा हाल विभिन्न स्थानीय सरकारहरुले कर उठाइरहेकोले उक्त कार्य रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय-निकायहरुमा निर्देशन गरिदिनु हुन भनी लेखी आएको हुँदा आवश्यक समन्वयका लागि अनुरोध छ ।”

यसअघि यातायात व्यवसायीहरुले अवैध रुपमा कर लिएको भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर कर उठाउने कार्य रोक्न ध्यानाकर्षण गराएका थिए।

नेपाल यायातायत व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यही कात्तिक ८ गते यातायात मन्त्रालयलाई स्थानइि सरकारबाट पटके कर उठाइरहेको सन्दर्भमा त्यसलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएको बताए।

सोही पत्रका आधारमा मन्त्रालयले यही कात्तिक ११ गते गृहमन्त्रालयलाई पत्राचार गरेकोमा कात्तिक १२ गते गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरु पत्राचार गरेको हो।

सिटौलाले देशका विभिन्न पालिकाहरुले सरकारले रोकेको कर उठाउने कार्य पालिकाहरुले जारी राखेको पाइएपछि उक्त कार्य रोक्न माग भएअनुसार गृहबाट आवश्यक निर्देशन गएकाले रोकिने आशा रहेको बताए।

विसं २०७५ सालको मन्त्रिपरिषद बैठकले कर उठाउने कार्य रोक्ने निर्णय गरेको थियो। उक्त निर्णय इकार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्य योजना बनाएर लागू पनि गरिसकेको छ।

लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल

0

काठमाडौँ: नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौँ उपत्यकामा बढी नै चहलपहल देखिन्छ । विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । राति नौ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको छ ।

काठमाडौँ उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने
गरिन्छ ।

पसलमा आगलागी, चार लाखको क्षति

यसैगरी काठमाडौँ महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी हँुदा रु चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

भारु एक सयको एक सय ६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक

0

जलेश्वर (महोत्तरी): तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् ।

नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयो ।

महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताउनुभयो । उहाँले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली रु एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताउनुभयो ।

जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली रु एक हजारको सरदर भारु छ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताउनुभयो ।

त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली रु एक हजारको सरदर भारु छ सयमा कारोबार गरेको बताउनुभयो । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु एक सयको लागि रु एक सय ६६ तिर्नुपरेको बताउनुभयो ।

त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताउनुभयो । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु एक सयका लागि रु एक सय ६६ लिएका छन्भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली रु एक सय ६६ लिने गरेका छन् ।

बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले रु छसम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले रु एक हजार बराबर नेपाली रु एक हजार छ सय दिएमात्र पाउने गरेको र कुनै कुनै ठाउँमा रु सात–आठसम्म पनि बट्टा (कमिशन) लिने गरेको एक ठूला व्यापारीले बताएका छन् ।

यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ ।

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

0

जुम्ला: यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “बसबाट एक हजार छ सय ६० मेट्रिक टन, जिप र हाइसबाट छ सय ६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ ।

त्यस्तै मालवाहक ट्रकबाट छ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य रु ६० मा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।

घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो

0

गुल्मी: जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन् ।

उहाँहरू दसैँतिहारजस्ता चाडबाडको समयमा बर्सेनि कहिले पैदलयात्रा त कहिलो सवारीसाधनमार्फत बेलाउती (अम्बा) बिक्री गर्न सदरमुकाम तम्घास आउने दैनिकीजस्तै बनेको छ । घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भए पनि गाडीभाडा बचाउन पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन् । एकाबिहानै पिठ्युमा डोकाभरि अम्बाको भारी बोकेर झिस्मिसेमा आँखा मिच्दै घरबाट हिँडेका ती महिला सदरमुकामसम्म आइपुग्दा पसिनाले निथ्रुक्कै भिजेका हुन्छन् ।

गाउँमा यतिबेला प्रायः धेरैका खर्यान तथा बारीमा अम्बा प्रशस्त मात्रमा पाइन्छन् । गाउँमा अम्बाको खासै महत्त्व नहुने भएका कारण उनीहरू पाकेको अम्बा टिपेर बिक्रीका लागि ल्याउने गर्दछन् । यसो गर्दा अम्बा पनि खेर नजाने र अलिकति भए पनि आम्दानी गर्न सकिने भएका कारण अम्बा बोकेर बिक्रीका लागि सदरमुकामसम्म आउने जाँगर बढेको इस्मा गाउँपालिका–५ बुल्मकी भीमकला कुमालले बताउनुभयो ।

धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बिक्री गरेर नुनतेल र चिनी किन्न खर्च जुटाउनका लागि सदरमुकाम तम्घाससम्म आइपुगेको बताउनुहुन्छ । सिजनअनुसारको फल भएका कारण सबैले मन पराउने र खान पनि निकै स्वादिलो हुने भएका कारण आफूहरू तम्घास आइपुगेको उहाँहरूले बताउनुभयो । “भनेको समयमा कसैले पैसा सापटी दिँदैन घरको अबस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा अम्बा बिक्री गर्न आइपुगेका हौंँ”, राधिका मुखियाले भन्नुभयो ।

राधिका मुखिया आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक रु पाँच सयदेखि आठ सयसम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ । एक दाना अम्बा रु दुईदेखि तीनमा बिक्री हुने गर्छ । बिक्री गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जाने हो”, मुखियाले भन्नुभयो । सहरदेखि गाउँसम्म यतिबेला दसैँ सकिएसँगै तिहारको चहलपहल बढ्दै जान थालेको छ । तर जिल्लाका विपन्न परिवारका नागरिक भने तिहारखर्च जुटाउन सडकमा बसेर बेलाउती (अम्बा) बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको
छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको
छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष सैंजुको निधन

0

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगसम्बन्धी समस्या झेल्दै आएका सैंजुको सानेपास्थित आफ्नै निवासमा बुधबार निधन भएको उनकी छोरी मीता प्रधानले जानकारी दिएकी छिन् ।

उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोग सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए ।

सुप्रबल गोरखा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रबल त्रिशक्तिपट्टबाट उनी सम्मानित थिए ।

पूर्वराजदूत सैंजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी १ सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् ।

उनका श्रीमती, एक छोरा, एक छोरी छन् । उनको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

रत्न कुमारी र नेत्र कुमारीको हत्यारा पत्ता लगाउने ‘टाइगर’ सर्वोत्कृष्ट

0

काठमाडौँ: अपराध अनुसन्धान गर्न नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आएको छ । नेपालमा २०३२ सालदेखि अपराधीको पहिचान गर्न कुकुर प्रयोग गर्न थालिएको हो ।

अनुसन्धान गर्ने कुकुर उत्पादन र व्यवस्थापन महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयले गर्छ । केनाइन कार्यालयको प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. देउती गुरुङ हुन् ।

अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् । अनुसन्धानमा परिचालन गर्न अहिले प्रहरीसँग १ सय वटा कुकुर रहेको डीआईजी डा. गुरुङले रातोपाटीलाई बताइन् ।

रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना

0

काठमाडौं: रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ। यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो। यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ।

गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो। यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका थिए। सन् २०२० मा सुनुवाइ गर्दै अदालतले च्यानलमाथिको प्रतिबन्ध फुकुवा नभएसम्म दैनिक १ लाख रुबल (रुसी मुद्रा) जरिवाना गरेको थियो।

यसका लागि ९ महिनाको समय दिइएको थियो । यस अवधिमा कम्पनीले जरिवाना नतिरेमा हरेक २४ घण्टामा दोब्बर हुने बताइएको थियो। अहिले यो जरिवाना २० ट्रिलियन डलर पुगेको छ।

गुगललाई २०२२ मा रूसमा दिवालिया घोषित गरिएको थियो, तर गुगलको सर्च इन्जिन र युट्युब जस्ता सेवाहरू अझै पनि रूसमा उपलब्ध छन्। रूसले एक्स र फेसबुकलाई पनि प्रतिबन्ध लगाएको छ, तर गुगलमा यो प्रतिबन्ध अझै लगाइएको छैन । तर, गुगलले रुसमा आफ्नो सेवा भने घटाएको छ।

यति ठूलो जरिवाना संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो। यसले गुगलले आफ्नो सेवामा असर नपर्ने बताएको छ।

पछिल्लो १० वर्षमा विभिन्न देशले गुगललाई कुल १४ अर्ब डलर जरिवाना लगाएका छन्। त्यस्तै बेलायतमा पनि गुगलले डिजिटल विज्ञापन बजारको अनुचित फाइदा उठाएको आरोप लागेको छ।

सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुन्छ : ईश्वर पोखरेल

0

काठमाडाैं: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका छन्।

नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानविन समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका हुन्।

सबै दलका प्रतिनिधि रहेको संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सवैले स्वभाविक रुपमा लिनुपर्ने उनले बताए। पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षड्यन्त्र भइरहेको दाबी गरे।

उनले अराजकताका विरुद्ध खवरदारी गर्न कार्यकर्तालाई आग्रह गरे।

पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीन बहादुर गुरुङले दिनुभएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढंगले कुनै काम नभएको दावी गरे।

मीन बहादुर गुरुङ एमाले निकट भएकै कारण उनलाई २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको उनले बताए।

पोखरेलले कांग्रेस-एमालेबीचको सहकार्य आगामी चूनावसंग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे। मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले कांग्रेस-एमालेको गठबन्धनलाई अन्यथा नलिन उनले आग्रह गरे।