Thursday, June 18, 2026
Home Blog Page 658

‘शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् :राष्ट्रियसभा अध्यक्ष दाहाल

0

काठमाडौँ: राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले शैक्षिक क्षेत्रका समस्या अन्त्य गर्न राजनीतिक दलले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

“शिक्षा क्षेत्रमा देखिएका विकृति विभिन्न कोणबाट आएका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “यस्ता समस्या समाधान गर्न राजनीतिक दल वा विचारबाट भन्दा माथि उठेर सबै एकजुट भएर समन्वय गर्नु जरुरी छ ।” आफू छोटो समय शिक्षकका रुपमा काम गरेको स्मरण गर्दै उहाँले नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा शैक्षिक उन्नयनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

शिक्षण पेसालाई अपमानित गर्ने खराब संस्कृतिको विकास हुन थालेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले सबै मिलेर शिक्षणलाई सम्मानित पेसाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली जनताको त्याग र बलिदानबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई नयाँ संविधान कार्यान्वयनका क्रममा रहेको भन्दै उहाँले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी सबैले इमान्दारिपूर्वक पूरा गर्नुपर्ने बताउनुभयो ।

साँखु क्षेत्रको विकासका साथै विद्यालयको भौतिक पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि आफूले गर्न सक्ने सहयोगसहित आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष दाहालले सबैको एकताबद्ध साथ आवश्यक रहेको बताउनुभयो ।

“शैक्षिक गुणस्तर कायम गर्नु शिक्षक, अभिभावक, विद्यार्थी सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “यहाँको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकासँगको सहकार्यमा मैले गर्न सक्ने सहयोग र पहलका लागि प्रतिबद्धता व्यक्त गर्दछु ।”

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गर्नुभयो । “विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वाेच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराउनुुभयो । सो अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएकामा खुसी व्यक्त गरेका थिए ।

सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते

0

किमाथाङ्का (सङ्खुवासभा): मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प

0

वासिङ्टन डीसी । नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो एक सम्बोधनमा कमला ह्यारिसलाई निशाना बनाएका छन् । ‘उनले (कमल ह्यारिस)ले जितिन् भने तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्,’ आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने ।

ह्यारिस पूर्णतया अयोग्य भएको र यसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्न योग्य नभएको पनि उनले बताए । ‘सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन ।’ आफ्नी प्रतिद्वन्द्वीलाई निशाना बनाउँदै ट्रम्पले भने ।

ह्यारिस राष्ट्रपति बने भने उनले लाखौं मानिसहरूलाई तेस्रो विश्वयुद्धमा धकेल्ने आरोप पनि उनले लगाए । यसअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई निशाना बनाएकी थिइन्  ।

उनले उनी डराउने भएकोले आफूहरूलाई  विभाजित गर्न चाहेको बताएकी थिइन् । तर धेरै जनता यी सबै कुराबाट थाकेको अनि एक अर्कालाई औंला उठाउन चाहँदैनन् बरु  हात मिलाउन चाहन्छन् भनेर भनेकी थिइन् । 

आजको विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७९ पैसा, बहराइन दिना र एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको
छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

0

म्याग्दी (बेनी): म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

उहाँका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिनुभयो । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उहाँले बताउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ ।

सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका
थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण
हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ ।

‘‘पर्यटकको आगमन बढेको छ, हुमखोलादेखि आधार शिविरसम्मको दुई दिनको पदयात्रामा होटल सुविधा नभएकाले हामीले सामुदायिक लज बनाउने अवधारणा अघि सारेका छौँ, त्यसको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ, मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने भएकाले तिहारलगत्तै सङ्घीय सरकारमार्फत निर्णय गराउन पहल गर्छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ ।

आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् । आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ ।

हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि पालिकाले पदमार्गलाई थप स्तरोन्नति गर्ने, सञ्चार, खानेपानीलगायत सुविधाको पहुँच विस्तार गर्ने योजना अघि सारेको गाउँपालिका उपाध्यक्ष क्षदिवाकुमारी तिलिजापुनले बताउनुभयो । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने अभियान सार्थक बन्दै गएको उहाँको भनाइ छ ।

पिताको आरोहणमार्ग पछ्याउँदै माथिएस आधारशिविरमा

अन्नपूर्णमा पहिलो मानवपाइला टेक्ने मौरिस अर्जोगका छोरा माथिएस पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण आधार शिविरमा पुग्नुभएको छ । अन्नपूर्ण हिमालको पहिलो आरोहण गरेर कीर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही हर्जोगका छोरा माथिएस बुबाले आरोहण गरेको पदमार्ग हुँदै आरोहण आधार शिविर पुग्नुभएको हो । ७५ वर्षअघि पिता हिँडेको मार्ग हुँदै शनिबार उहाँ उहाँ पुगेर फर्किनुभएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड तालनजिक राखिएको पितामौरिसको सालिकमा माल्यार्पणसमेत गर्नुभएको थियो ।

आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुने र त्यस अवसरमा माथिएसले ८२ वर्षीया आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । माथिएसले आफ्नो बुबाले आरोहण गरेको ठाउँमा आउन पाउँदा आफूलाई गौरबको अनुभूति भएको बतानुभएको थियो । पिताले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरूमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताउनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा मानवपाइला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिससहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड तालन जिकमौरिसको सालिकसमेत राखेको छ ।

पर्यटकीय सिजनसँगै पर्यटकको चहलपहल बढ्दो, सगरमाथामा असोजमा मात्रै नौ हजार पर्यटकले भ्रमण गरे

0

काठमाडौँ : सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट रु दुई करोड तीनलाख ४८ हजार पाँचसय ५३ राजश्व सङ्कलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ । हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ
छ । त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार दसैँपछि मात्रै यहाँ करिब तीन हजार पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् ।

अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले पनि देशभरका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बाक्लिएको हो । पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।

मुख्य पर्यटकीय सिजन तथा दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकले विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र, खुम्बु, मनास्लु, लाङ्टाङलगायत गन्तव्यमा पुगेका छन् । अन्य पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो छ ।

नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरू पर्वतारोहणका लागि नेपाल आएका छन् । मनास्लु, अमादब्लम, अन्नपूर्णलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको मज्जा लिइरहेका छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ । विदेशी पर्यटकको उत्साहबद्र्धक आगमनले व्यवसायी पनि उत्साहित भएका छन् ।

होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार अहिले ७० देखि ८० प्रतिशत होटलको ‘अकुपेन्सी’ रहेको छ । “होटेल क्षेत्रमा बुकिङ राम्रो छ । अक्टोबर र नोभेम्बर अन्तिमसम्म राम्रो छ । धेरै पदयात्री र पर्वतारोही आएका छन् । ठमेललगायत मुख्य गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी छ, देशभरका होटलमा ७० प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार खुम्बु, अन्नपूर्णलगायत गन्तव्यका होटलहरूमा पर्यटक खचाखच छन् । पोखरा, चितवन, लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । काठमाडौँ उपत्यका आसपासका नगरकोट, धुलिखेललगायत गन्तव्यका होटलहरू भरिभराउछन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को नौ महिनामा अर्थात् वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीनसय ३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । समग्रमा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ भन्दा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र चलायमान बनिरहेको बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा मर्मतको कामले उडान कटौती हुँनेहुँदा पर्यटन क्षेत्रलाई असर पर्नसक्ने सम्भावना औँल्याउनुभयो । “पर्यटकीय याम चलिरहेको समयमा विमानस्थलको मर्मतको कामले हवाई उडान खुम्चिन्छ र ट्राभल कम्पनीहरूको अकुपेन्सी घट्नजान्छ । त्यसैले हामीले विमानस्थल मर्मतको काम केही पर सार्न वा उडान अवधि बढाउन सम्बन्धित निकायमा पहल गरिरहेका छौँ”, अध्यक्ष थपलियाले भन्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि काठमाडौँ विमानस्थल मर्मतको काम सुरु
गर्दैछ । करिब छ महिना विमानस्थलको उडान १० घण्टा बन्द हुनेछ । यसले अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा भारी कटौति हुनेछ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकीय सिजनमा देशका अधिकांश गन्तव्यहरू पर्यटकले भरिभराउ भएको बताउनुभयो । “गन्तव्यहरूमा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको छ । होटल तथा रिसोर्टहरुमा अकुपेन्सी एकदमै राम्रो रहेको पाइएको छ”, उहाँले भन्नुभयो,“अक्टोबरको सुरुआतमा वर्षाले एकसाता समस्या गरे पनि हाल सबै चिज सामान्य भएर पर्यटन पुरानै लयमा फर्किएको छ ।”निर्देशक लामिछानेका अनुसार सेप्टेम्बरमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आएका र अक्टोबरमा पनि त्यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन

0

काठमाडौँ: विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगका सचिव मनदेवी श्रेष्ठले प्राधिकरणलाई पत्राचार गर्नुहुँदै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महशुल असुल गर्न आग्रह गर्नुभएको हो ।

आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिनसमेत आग्रह गरेको छ ।

विद्युत् महशुलको परिणाम वा अन्य कुनै पक्षउपर पछि आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसके पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने आयोगले उल्लेख गरेको छ ।

विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ बमोजिम आयोगले आज उक्त निर्देशन दिएको हो । प्राधिकरणले महशुल नबुझाएको भन्दै यही कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो । तीमध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन निवेदन दिएका छन् । केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको छ ।

यस्तै प्राधिकरण सञ्चालक समितिको आजको बैठकले पनि डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउने सम्बन्धमा थप केही लचिलो हुने गरी निर्णय गरेको बुझिएको छ । यसअघि प्राधिकरणले २८ किस्तामा महशुल तीर्न सकिने बताउँदै आएकामा आजको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तीर्न सकिने व्यवस्था गरिएको बताइएको छ । महशुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो ।

कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सदस्यमा तीन सदस्य मनोनीत

0

काठमाडौँ: नेपाली कांग्रेसले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सदस्यमा तीन सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा आज तीन सदस्य मनोनयन गर्नुभएको हो ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेहीलाई सदस्य मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा

0

काठमाडौँ: नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनर्बहाली लागि अनवरत योगदान पुर्याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उहाँले पुर्याएको योगदानको चर्चा गरिएको हो ।

‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारकारुपमा योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरियो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न साहित्यकार, प्रहसन, हाँस्य व्यङ्ग्यकार तथा जनप्रिय नेताका रुपमा स्थापित रहनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो अत्यन्तै आदरणीय मित्र पद्मरत्नजी कला, संस्कृति, साहित्य र राजनीति आन्दोलनका क्षेत्रबाट बोलेर वा लेखेर प्रस्तुत गर्नुभएका राम्रा र सही विचार हामी सबै मिलेर अघि बढाउनुपर्छ ।” आन्दोलन र जेलमा मात्र होइन मन्त्री र विभिन्न मोर्चामा रही सहकार्य गरेको घटना सुनाउँदै प्रधानमन्त्री ओलीले आन्दोलनलाई सफलतामा पुर्याउने र विटमार्ने सम्मको यात्राको सहकार्य गरेको नेपाली राजनीतिज्ञ तथा अग्रज व्यक्तिका रुपमा पद्मरत्न रहनुभएको बताउनुभयो ।

त्यसअवसरमा तुलाधरकी छोरी सुम्निमा तुलाधरले पद्मरत्न आफना पिता मात्र नभइ नेपाली जनताको मुक्तिका निम्ति अग्रसर नेताकारुपमा रहनुभएको स्मरण गर्नुभयो । पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा केशवमान शाक्यले प्रजातन्त्रको पुनर्बहालीको जनआन्दोलनमा प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एउटै मोर्चामा रहन उहाँले गर्नुभएको योगदानको स्मरण गर्नुभयो ।

नेपाल भाषाको साहित्य लेखनमा नाटक र प्रहसन विधामा विशिष्ट योगदान पुर्याउनुभएका तुलाधर नेपाल जनजाती महासङ्घका सभापतिसमेत रहनुभयो । दश वर्ष माओवादी सशस्त्र द्वन्दका बखत माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजकर्ताका भूमिका खेल्नुभएका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो । पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका उहाँको जन्म १९९७ माघ २९ गते काठमाडौँमा भएको हो । त्यस अवसरमा नेपाली साहित्यका धरोहर साहित्यकार कवी दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।