Friday, June 19, 2026
Home Blog Page 642

ठगी गरेको आरोपमा तीन जना पक्राउ

0

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।  काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो ।

प्रितिकाले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि एक जनाबाट रु दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि एक/एक जनाबाट रु एक/एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

राज्य व्यवस्था समितिमा अख्तियारको संशोधन विधेयकमाथि छलफल

0

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ।

छलफलका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले अख्तियारमा उजुरी दर्ता गर्दा उजुरीकर्ताको नागरिकताको प्रतिलिपि अनिवार्य बनाउने प्रस्ताव राखे। उनका अनुसार यो कदमले बेनामे उजुरीको समस्या घटाउन मद्दत गर्नेछ। “म स्वयं यसबाट प्रभावित छु,” उनले भने, “अहिले कर्मचारी, जनता र व्यापारी सबैजसो यस समस्याबाट पीडित छन्। उजुरीकर्ताबाट नागरिकताको फोटोकपी मागेमा अख्तियारमा ७० प्रतिशत उजुरी घट्न सक्छ।”

अर्का संशोधनकर्ता एमाले सांसद हेमराज राईले अख्तियारका लागि आवश्यक दरबन्दी सिर्जना गर्ने र कर्मचारी छनोटको अधिकार अख्तियारलाई नै दिने प्रावधान थप्न सुझाव दिए। राईले भने, “अख्तियारले उपयुक्त ठानेको अवस्थामा बाहिरबाट पनि आयुक्त नियुक्त गर्न सकिने व्यवस्था राख्न मैले संशोधन प्रस्ताव गरेको छु। सरकारले दरबन्दी सिर्जना गर्ने होइन, अख्तियारले आफ्नो निगरानीमा दक्ष जनशक्ति परिचालन गर्न पाउनु पर्छ।”

यस संशोधनले बेनामे उजुरी र प्रशासनिक ढिलासुस्तीको समस्या समाधान गर्दै अख्तियारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

हिमाल हेर्न कोखेडाँडा जाने हाेइन त ?

0

पर्वत: मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् ।

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ ।

म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गर्नुभएको छ । उहाँले यहाँ आउने पर्यटकको सुविधाका लागि नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताउनुभयो । उहाँको कटेजमा नेपालीहरूलाई एक रात बास बसेको रु एक हजार पाँच सय निर्धारण गर्नुभएको छ ।

कोखेडाँडामा विभिन्न ३० देशका झण्डा राखिएको छ । कोखेडाँडा पुग्नका लागि तीनवटा मार्ग छन् । कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ । यो मार्गबाट चारदेखि पाँच घण्टा पैदलयात्रा गर्नुपर्दछ । त्यसैगरी पातीचौर–बाजुङ–क्याङ–लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँवाट झण्डै छ–सात घण्टाको पैदलयात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ भने पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक–शालिजा–तारे–हम्पालसम्म गाडीमा र करिब तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न
सकिन्छ ।

कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत रु १० लाख विनियोजन भएको छ । यस वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो ।

कोखेडाँडा जाने पर्यटक मोदी गाउँपालिका वडा नं १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको घरबास (होमस्टे)मा पनि बास बस्न सक्नछन् । त्यस्तै मोदी गाउँपालिका वडा नं ४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ ।

दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

0

महोत्तरी: महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।

कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ । यही परम्पराअनुसार मिथिलानी यो पर्व समापनको तयारीमा जुटेका छन् । यो पर्व समापन गरिँदा मिथिलानीले सामा खेलमा प्रयोग गर्ने सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चखेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाइ जोतिएको खेत वा निर्जन वनमा गाड्ने चलन छ । पर्व समापनमा अवसरमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै मीठा परिकार खान दिन्छन् । यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिन्छन् ।

सामाचखेवा पर्वका ११ दिन मिथिला क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्यको वर्णन गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ । बोलीचालीमा ‘सामा खेल’ पनि भनिने यो पर्व दिदीबहिनी र दाजुभाइका लागि आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ । पर्वका ११ दिनको मध्यरातसम्म चौबाटोमा समूहमा एकत्र भएर आफ्ना दाजुभाइको पराक्रमको वर्णान गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आफूहरुबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको मिथिलानी
बताउँछन् । गीतमार्फत आफूहरुप्रति दिदीबहिनीले दर्शाएका प्रेम र समर्पण भावले आफूहरूको मनोवल सधैँ उच्च रहने मैथिल युवा भङ्गाहा–४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुर बताउनुहुन्छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँचहजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मानिन्छ । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधरसँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटेले कृष्णलाई सुनाउँदा छोरी स्वच्छन्द प्रवृत्तिकी भएको झोँकमा दुवैलाई सामा र चखेवा हुने श्राप दिएको पौराणिक कथा छ ।

श्रीकृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चखेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका वर्णन पनि पुराणमा पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचखेवा पर्वको परम्परा बसेको मिथिला लोकपरम्पराका जानकार सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

आजको मौसम: देशका अधिकांश भागमा आज मौसम सफा रहने

0

काठमाडौँ: हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु लाग्नसक्ने भएको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाश भुजेलमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान हुँदै, पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

0

काठमाडौँ: शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौँले भुजेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो काठमाडौँ शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित शाखु–थलि सडकखण्डमा थलिबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारको ठक्करबाट बा प्र–०२–०१८ प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको
थियो ।

भुजेलले चलाएको कारको ठक्करबाट बाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ ।

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिने

0

काठमाडौँ: छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिनुभयो । यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ ।

सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ नेपाल राजपत्रमा गत वैशाख २३ गते प्रकाशन गरेको थियो । ऐन सार्वजनिक भएको ९१औँ दिनदेखि लागू हुने व्यवस्थाअनुरुप गत साउन १९ गतेदेखि लागू भएको सो ऐनको दफा ५ मा १५ सदस्यीय समितिको व्यवस्था छ ।

समितिका अध्यक्ष एवं कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । समितिका अन्य सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सहसचिव, नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक, नेपाल उद्योग वाणिज्य महास्घका प्रतिनिधि, उपभोक्ता हितसम्बन्धी संस्थाका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा खाद्य विज्ञसहितका प्रतिनिधि रहने व्यवस्था छ । समितिको सदस्यसचिव खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक रहने व्यवस्था
छ ।

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य पदार्थको स्तर निर्धारणसम्बन्धी प्रावधान, सिफारिस समितिको काम, कर्तव्य अधिकार तथा स्तर निर्धारण प्रक्रियाका बारेमा छलफल भएको थियो । त्यस अवसरमा सदस्यले धारणा राख्नुभएको थियो । बैठकमा छुर्पीको अनिवार्य गुणस्तरको मापदण्ड सम्बन्धमा बुँदागत रुपमा इमेलमार्फत विभागमा प्राप्त भएको सुझावउपर छलफल गर्दै पेस भएको हो ।

बैठकमा खाद्य स्वच्छता तथा गुण्स्तर ऐन, २०८१ को दफा ७ (च) बमोजिम आवश्यकता र औचित्यतताका आधारमा विज्ञ सम्मिलित विषयगत मस्यौदा तयारी उपसमिति गठन गर्न समितिका सदस्यसचिव तथा विभागका महानिर्देशकलाई जिम्मा दिने निर्णय गरिएको जनाइएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६३ पैसा र बिक्रीदर आठ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन रुपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ड पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु

0

काठमाडौं: लेबनानको दक्षिणी क्षेत्रमा हिजबुल्लाह विरुद्धको भीषण लडाइँमा इजरायलले बुधबार ठूलो क्षति व्यहोर्नु परेको छ। मिडिया रिपोर्टका अनुसार, भिडन्तमा छ जना इजरायली सैनिकको मृत्यु भएको छ, जसले यो वर्ष हिजबुल्लाहसँगको संघर्षमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४७ मा पुर्‍याएको छ।

घटनाका क्रममा, इजरायली सैनिकहरूले एक गाउँमा छापा मार्दा भवनभित्र लुकेका हिजबुल्लाहका चार लडाकूले उनीहरूलाई घेराबन्दीमा राखेर आक्रमण गरे। इजरायली सेनाले जवाफी कारबाही गर्दै चारै हिजबुल्लाह लडाकूलाई मार गिराएको छ। यस भिडन्तमा ज्यान गुमाएका सैनिकहरू इजरायली सेनाको प्रतिष्ठित गोलानी ब्रिगेडको ५१ औं बटालियनका थिए। यसअघि अक्टोबर २ मा पनि लेबनानमा भएको हमलामा आठ इजरायली सैनिकले ज्यान गुमाएका थिए।

इजरायली रक्षामन्त्री इस्राएल काट्जले सैनिकहरूको मृत्युमा शोक व्यक्त गर्दै हिजबुल्लाहविरुद्धको अभियानलाई अझ कडा बनाउन प्रतिबद्धता जनाएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकहरूको योगदानको प्रशंसा गर्दै, तिनीहरूको बलिदानप्रति सम्मान जनाउन सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन्।

इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहका विभिन्न ठेगानाहरूमा बमबारी गर्दै आएको छ। इजरायली सेनाले हिजबुल्लाहलाई दक्षिणी लेबनानको लितानी नदी पार गर्न रोक्न खोजिरहेको छ, ताकि इजरायलको उत्तरी सीमामा सुरक्षा सुनिश्चित गर्न सकियोस्। यद्यपि, हिजबुल्लाहले प्रतिक्रिया दिँदै तेल अभिभमा रहेको इजरायली सेनाको मुख्यालयमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इजरायली रक्षा मन्त्रालयले भने यो दाबी अस्वीकार गरेको छ र यस प्रकारका हमलाबाट रक्षा गर्ने उपायहरू पूर्ण रूपमा लागू गरिएको जनाएको छ।

इजरायल र हिजबुल्लाहबीचको यो ताजा भिडन्तले लेबनान-इजरायल सीमामा तनाव थप चर्किएको छ, जसले क्षेत्रीय सुरक्षालाई थप खतरामा पार्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

डोनाल्ड ट्रम्पद्वारा तुलसी गबार्डलाई राष्ट्रिय खुफिया निर्देशकमा नियुक्त

0

काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व कंग्रेस सदस्य र सैन्य अधिकारी तुलसी गबार्डलाई राष्ट्रिय खुफिया विभाग (डीएनआई) को निर्देशक पदमा नियुक्त गरेका छन्। ट्रम्पले उनको नियुक्ति घोषणा गर्दै, गबार्डको व्यापक सैन्य तथा सुरक्षा अनुभवलाई प्रशंसा गरे र उनले अमेरिकाको खुफिया क्षमतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

घोषणा पछि, तुलसीले एक्समा प्रतिक्रिया दिँदै लेखिन्, “डोनाल्ड ट्रम्पलाई धन्यवाद। अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नका लागि तपाईंको टिमको सदस्यका रूपमा सेवा गर्न पाएकोमा सम्मानित महसुस गर्दैछु। तपाईंको नेतृत्वमा काम गर्न उत्साहित छु।”

ट्रम्पले गबार्डलाई नियुक्त गर्दा भने, “पूर्व सांसद र अनुभवी लेफ्टिनेन्ट कर्नल तुलसी गबार्डलाई राष्ट्रिय खुफिया निर्देशकको जिम्मेवारी दिन पाउँदा गर्व लागेको छ। उनी अमेरिकी सुरक्षाका चुनौतीहरूसँग जुझ्न दृढ छन्।”

तुलसी गबार्डको सैन्य करियर दुई दशक लामो रहेको छ, जहाँ उनले इराक र कुवेतमा आर्मी नेशनल गार्डका रूपमा सेवा गरेकी थिइन्। गृहसुरक्षा समिति र विदेशी मामिलासम्बन्धी समिति सदस्यका रूपमा उनले राष्ट्रिय सुरक्षा सम्बन्धी प्रमुख मुद्दाहरूमा काम गरिन्।

तुलसीलाई प्रायः भारतीय मूलकी मानिने भए पनि उनको भारतसँग सिधा सम्बन्ध छैन। उनकी आमा हिन्दू धर्ममा दीक्षित भएकी हुँदा गबार्डले हिन्दू धर्म संस्कार र संस्कृति अपनाएकी छन्। उनका नाम र संस्कृतिप्रतिको सम्मानले उनलाई अमेरिका र भारतीय मूलका समुदायबीच लोकप्रिय बनाएको छ।

गबार्डको नियुक्तिले खुफिया विभागको नयाँ नेतृत्वलाई थप ऊर्जा र दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ, जसले अमेरिकाको सुरक्षा रणनीति र खुफिया सञ्जाललाई नयाँ उचाइमा पुर्‍याउनेछ।