काठमाडौँ: शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले भुजेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
बुधबार दिउँसो काठमाडौँ शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित शाखु–थलि सडकखण्डमा थलिबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारको ठक्करबाट बा प्र–०२–०१८ प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको
थियो ।
भुजेलले चलाएको कारको ठक्करबाट बाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ ।


