Saturday, June 20, 2026
Home Blog Page 630

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप सङ्कलन गर्न र कर्जा दिन रोक

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सो बैंकले कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको हो ।

निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा उक्त कारवाही गरिएको हो । सो कारवाही आजैका मितिदेखि लागू हुनेछ । सो बैंकले थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

निर्वाह भत्तामा एकरुपता नल्याए आन्दोलनमा उत्रने आवासीय चिकित्सकको चेतावनी

0

काठमाडौँ: स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिसहित आवासीय चिकित्सकका छवटा सङ्घ–संस्थाले आवासीय चिकित्सकको निर्वाह भत्तामा एकरूपता कायम नगरे सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

सङ्घले सोमबार जारी गरेको विज्ञप्तिमा निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई पनि सरकारी आठौँ तह सरह मासिक रु ४८,००० निर्वाह भत्ता उपलब्ध गराउन प्रक्रिया अघि नबढाए सडकमा उत्रन बाध्य हुने उल्लेख छ।

मुख्य मागहरू

  1. न्यायोचित निर्वाह भत्ताको सुनिश्चितता:
    • निजी मेडिकल कलेजका चिकित्सकहरूले अहिले मासिक रु १८,००० मा अत्यधिक काम गर्नुपर्ने गुनासो गरेका छन्।
    • सरकारी तहअनुसार न्यूनतम निर्वाह भत्ता सुनिश्चित गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह।
  2. निर्णय कार्यान्वयन:
    • २०८० साल असोज १३ मा सरकार र आवासीय चिकित्सकबीच निजी र सरकारी कलेजमा भत्तामा समानता ल्याउने सहमति भएको थियो।
    • स्वास्थ्य मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरे पनि आयोगले उक्त निर्णयमा कार्यान्वयन नगरेको चिकित्सकहरूको आरोप।
  3. महँगो शुल्कको अन्याय:
    • विज्ञप्तिमा नेपालमा आवासीय चिकित्सकहरूले स्नातकोत्तर तह (पीजी) अध्ययनका लागि रु २३ लाख शुल्क तिर्नुपर्ने अन्यायपूर्ण व्यवस्था रहेको उल्लेख छ।
    • उचित भत्ता र पारिश्रमिक अभावले नेपालका हजारौँ चिकित्सक विदेशिन बाध्य भएको दाबी।

विरोध र आपत्ति:

आवासीय चिकित्सकहरूको समूहले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले निजी मेडिकल कलेजका आवासीय चिकित्सकका लागि निर्वाह भत्तासम्बन्धी विवाद छलफलबाट समाधान गर्न निर्देशन दिएको भए पनि सिट बाँडफाँट प्रक्रिया भत्ता सुनिश्चितता बिना अघि बढेकामा आपत्ति जनाएको छ।

सम्बद्ध सङ्घ–संस्थाहरू:

  • स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरे।
  • त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. उत्तम चौलागाईं।
  • वीर अस्पतालका डा. सुनिल अर्याल।
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मनोज आचार्य।
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. दीक्षान्त आचार्य।
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भानुभक्त ढकाल।

भविष्यको रणनीति:

चिकित्सकहरूले न्यायोचित भत्ताको माग पूरा नगरे आन्दोलनलाई तीव्र बनाउने चेतावनी दिएका छन्। उनीहरूले निष्पक्ष र न्यायपूर्ण व्यवस्थाका लागि सरकार र आयोगलाई यथाशीघ्र कदम चाल्न आग्रह गरेका छन्।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो,तराई र पहाडी भेगमा हुस्सु

0

काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल पहाडी भूभागमा आंशिक बदली भए पनि अधिकांश क्षेत्रको मौसम सफा रहेको छ। तराई र पहाडी क्षेत्रका केही स्थानमा हुस्सु लाग्नेसमेत विभागले जानकारी दिएको छ।

काठमाडौँ उपत्यकामा तापक्रम घट्दैछ। आज बिहान न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहँदा दिउँसो १० डिग्री सेल्सियस पुगेको छ। अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।

मौसमको अवस्था:

  • दिउँसो:
    • कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली।
    • बाँकी क्षेत्रमा मौसम सफा।
    • कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात।
    • पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना।
  • राति:
    • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली।
    • बाँकी भागमा मौसम सफा।
    • कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा।

विभागले आगामी २४ घण्टामा हल्का वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने जनाउँदै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी उच्च हिमाली क्षेत्र र पर्वतीय क्षेत्रमा प्रभाव पर्ने भएकाले विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

पश्चिमी वायुको प्रभावका कारण देशको पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहन सक्ने अनुमान गरिएको छ। साथै, सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता आवश्यक रहेको विभागले स्पष्ट पारेको छ।

इमरान खानका हजारौं समर्थकको इस्लामाबादमा प्रदर्शन, सरकारद्वारा सेना परिचालन

0

काठमाडौं । पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरूले जेलमा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गरिरहेका छन्।

सोमबार नै पीटीआई कार्यकर्ताहरूको जुलुस इस्लामाबादको सीमामा प्रवेश गरेको थियो। आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी-चोक पुग्नु हो।

इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना बोलाएको छ।

इस्लामाबादका उपायुक्त इरफान मेमनले बीबीसी संवाददाता शहजाद मलिकलाई यस कुराको पुष्टि गरेका छन्।

यसै वर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो ।

यसबाहेक २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ ।

इजरायल र हिजबुल्लाह युद्धविरामको नजिक, नेतान्याहुको मन्त्रिपरिषदमा छलफल हुने

0

काठमाडौं । इजरायली र अमेरिकी अधिकारीहरूले बताएअनुसार इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक छन्। यसबारे छलफल गर्न इजरायली मन्त्रिपरिषद्को बैठक आज
बस्दैछ ।

इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हिजबुल्लाहबीचको लडाइ अन्त्य गर्न ६० दिनको युद्धविराम प्रस्ताव गर्न सकिन्छ।

यसमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य समावेश छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, “हामीलाई लाग्छ कि हामी युद्धविरामको नजिक पुगेका छौं।”

यो यस्तो समयमा आएको हो जब आइतवार नै हिजबुल्लाहबाट इजरायलमा २५० रकेट प्रहार गरिएको थियो ।

रास्वपामाथि चौतर्फी प्रहार भयो : मनिष झा

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनिष झाले एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानुनी कारबाही नभएको घटनालाई उदाहरण दिँदै रास्वपामाथि राजनीतिक प्रतिशोध साधिएको थप पुष्टि भएको दाबी गरे।

‘हामीमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा प्रमाणित गरिरहनु आवश्यक छैन। यसको आधार हामीले छुट्टै दिनुपर्दैन। लीलाबल्लभ अधिकारीविरुद्ध कानुनी कारबाही नहुनु र मुद्दा पनि दायर नहुनुले नै यो प्रमाणित गरेको छ,’ उनले भने। साथै, उनले अदालतलाई सम्मान गर्ने पार्टीको धारणा पनि व्यक्त गरे।

पार्टीको दाबी अनुसार, सभापति रवि लामिछानेले सहकारीको ब्याज तिर्नका लागि काटेको चेकसम्बन्धी कागजातलाई योजनाबद्ध रूपमा सार्वजनिक गरेर प्रचार गरिएको छ।

दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषलाई जेल सजाय

0

सोल: दक्षिण कोरियामा एक पुरुषलाई अनिवार्य सैन्य सेवा छल्नको लागि मोटोपनाको रणनीति अपनाएको आरोपमा जेल सजाय सुनाइएको छ। ती व्यक्तिलाई सोलको अदालतले नोभेम्बर १३ मा देशको सैन्य सेवा ऐन उल्लङ्घन गरेको ठहर गर्दै एक वर्षको जेल सजाय तोकेको हो।

समाचारका अनुसार, ती पुरुषले सेनामा कार्यरत रहँदा आफ्नो तौल १०२ किलोसम्म पुर्‍याएका थिए। गत वर्ष जुन महिनामा, यो तौलका कारण उनलाई सक्रिय ड्युटीबाट हटाइएको थियो। तर, ६ वर्षअघि, प्रारम्भिक शारीरिक परीक्षामा उनी योग्य प्रमाणित भएका थिए।

न्यायाधीशको फैसलामा उल्लेख गरिएअनुसार, ती पुरुषले जानाजानी उच्च क्यालोरीयुक्त खाना खाएका, शारीरिक परिश्रम पर्न सक्ने काम गर्न अस्वीकार गरेका र तौल नाप्नु अघि धेरै मात्रामा पानी पिउनेजस्ता चालबाजी अपनाएका थिए।

यस्ता युक्तिहरू सुझाउने अर्को व्यक्तिलाई पनि ६ महिनाको जेल सजाय सुनाइएको छ। दक्षिण कोरियामा कोरियाली युद्धपछिका दिनदेखि नै २८ वर्षको उमेर नपुग्दासम्म सबै सक्षम पुरुषलाई अनिवार्य रूपमा कम्तीमा १८ महिना सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ।

खुला स्थानको हरियाली जीवन्तता राख्ने विषयमा अध्ययन

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सहरीकरणले क्षय भएको ‘ब्लु ल्याण्डस्केप’ (नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली) र ‘ग्रीन ल्याण्डस्केप’ (बगैँचा, पार्क, खुला हरियाली स्थान) को जीवन्तता प्राप्त गर्ने विषयमा पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

विसं २०८१ असार १७ गतेबाट थालिएको अध्ययन आगामी चैत १८ मा सकिनेछ । अध्ययन, आकाशे पानी सङ्कलन र भूमिगत पानी पुनःभरण, कोरिडोरलाई हरियाली र ‘इकोलोजिकल’ चक्र नवीकरण, बागमतीसहित उपत्यकाका नदी प्रणालीमा हरियाली, सडक सञ्जाल र तरल फोहर प्रशोधन सेवा, अनौपचारिक बस्ती व्यवस्थापन कार्ययोजना र नमूना परियोजना तथा सहरी वन, पार्क एवं खुला स्थानको उपलब्धताका विषयमा केन्द्रीत हुने बताइएको छ । सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईका अनुसार यसअघि गरिएका प्रयत्न क्षेत्रगत मात्र भएका कारण अपेक्षित नतिजा प्राप्त हुनसकेको छैन ।

“विगतको यो कमजोरी सच्याउँदै एशियाली विकास बैंक (एडिबी) को प्राविधिक सहयोगमा एकीकृत विकासको आधारका लागि अध्ययन थालिएको हो, मानवसहित रैथाने बासस्थान भएका जीव जनावरका लागि अनुकूल वातावरण बनाउन सकेमात्र जीवन्त सहर निर्माण हुन्छ, यसका लागि हाम्रो प्रयास हो”, उहाँले भन्नुभयो, “यससँगै संस्थागत र प्रणालीगत क्षमता विकास, नीति पैरवीलगायत क्षेत्रमा काम हुनेछन् ।”

परम्परागत पानीका मुहान तथा राजकुलोमाथिको अतिक्रमणले ढुङ्गेधारामा पानी आउन छाड्ेको उहाँको भनाइ छ । भट्टराईले भन्नुभयो, “इनार सुके, बर्खाको पानी सङ्कलन हुने पोखरी नासिए, घाँसे मैदान, खेत, जलमार्गमासमेत क्रङ्क्रिटका संरचनाका ढाकिदिँदा भूमिगत पानीको सतह क्रमशः घट्दै गयो, सामाजिक र सांस्कृतिक चालचलनमा असर पुग्यो, प्रदूषण बढ्यो, यसले सहरलाई क्रमशः मानव बस्ती प्रतिकुलतातर्फ उन्मुख गराएको महानगरको ठहर छ ।”

अध्ययन उप टोलीनेता एवं सहरी योजनाकार डा सञ्जय उप्रेतीका अनुसार सहरभित्र र करिडोरमा सवारी चाप बढेपछि वायु प्रदूषणको मात्रा बढेको छ । यो वातावरणीय दृष्टिले नकारात्मक प्रभाव हो ।

“काठमाडौँले गएको असोज दोस्रो साता विनाशकारी बाढीजन्य र डुवानजन्य विपद्को सामना गरिसकेको छ, पारिस्थितिक चक्र बिग्रिएपछि हुने जोखिममध्ये यो एउटा हो, सहरीकरणमा भवन निर्माणमा मात्र ध्यान दिइयो, नदि व्यवस्थापन, किनाराका अव्यवस्थित बसोबास वृद्धि, कमजोर तटबन्ध, क्रसिङ् पाइपको कमी, मौसमी उतारचढावसँग नमिल्दो बहाव क्षेत्र, वनस्पति र सीम जमिनको क्षति जस्ता पक्षमा ध्यान नदिएको नतिजा हो”, उहाँले भन्नुभयो ।

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

0

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो ।

तीन सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता शेयर ७५ हजार पाँच सय ७२ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौ सय ८७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ एक दशमलव २०, विकास बैंक शून्य दशमलव ४९, वित्त समूह एक दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ९७ र लगानी समूह एक दशमलव १३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ०२, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव ८१, व्यापार एक दशमलव २९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको
छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रू ४५ करोड ७८ लाख बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका शेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको छ लाख ८८ हजार दुई सय ३६ कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्य घटेपछि सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढ्यो

0

काठमाडौँ: सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउनुहुन्छ । “बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्”, उहाँले भन्नुभयो । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उहाँको भनाइ छ ।

पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो ।

हिजो र आज दुई दिन काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलहरुमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी महासङ्घका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउनुहुन्छ । “हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्याङ्क उपलब्ध छैन । महासङ्घले कारोबारको तथ्याङ्कसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्”, उहाँले भन्नुभयो ।

सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासङ्घका पूर्व अध्यक्ष शाक्य बताउनुहुन्छ । “बैंकहरुले आयात गरेका छैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ”, उहाँले भन्नुभयो । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् ।

बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।

भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र रू एक अर्ब ४२ करोड ७५ लाख २८ हजार बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले रू २८ करोड ५५ लाख सात हजार बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा रू २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार बराबरका दुई हजार छ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ । जसबाट सरकारले रू तीन अर्ब ६४ करोड ८३ लाख बराबर भन्सार राजस्व प्राप्त गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रू २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । जसबाट राज्यले रू दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजार बराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/८९ मा रू ३५ अर्ब ६१ करोड ९६ लाख बराबरको पाँच हजार ५३ किलोग्राम सुन आयात भएको थियो । सो वर्ष सुन आयातबाट सरकारले रू चार अर्ब २९ करोड ५० लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । सो आर्थिक वर्षमा रू २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको सुन आयात हुँदा सरकारले रू तीन अर्ब ३३ करोड ५८ लाख राजस्व प्राप्त गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा रू १३ अर्ब ४६ करोड पाँच लाख बराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट रू एक अर्ब ५० करोड ७५ लाख बराबर राजस्व सङ्कलन भएको थियो ।