Saturday, June 20, 2026
Home Blog Page 621

वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन– १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्नू

0

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिनुभएको छ ।

निगमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री पाण्डेले निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डका रुपमा रहेको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निर्देशन दिनुभएको हो । निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ थियोे ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको समसामयिक गतिविधिबारे अवगत गराउँदै निगमलाई सबल र प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

खानेपानी आयोजनाहरूको स्रोत सहमति उपलब्ध गराउँछु : मन्त्री यादव

0

मोरङ: खानेपानीमन्त्री प्रदीप यादवले मोरङमा यस आर्थिक वर्षभित्र ठेक्का सम्झौता हुनेगरी विभिन्न खानेपानी आयोजनाहरूको स्रोत सहमति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका–५ मा रहेको सुन्दरपुर खानेपानी आयोजनाको आज अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री यादवले मोरङका विभिन्न खानेपानी आयोजना अगाडि बढाउन स्रोत सहमति तत्काल उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “कामको समय सुरू भएको छ, स्रोत सहमति म उपलब्ध गराउँछु, खानेपानी आयोजनाको तीव्रगतिमा काम गर्नुहोला ।”

मन्त्री यादवले सुन्दरपुर खानेपानी आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न आयोजना प्रमुख सुरतलाल चौधरीलाई समेत निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “सुन्दरपुर खानेपानी आयोजनाको कार्यक्षेत्र बढी भएकाले हालको पानी टयाङ्कीले नभ्याउने भएको हुँदा नयाँ खानेपानी टयाङ्कीको क्षमता र पाइप लाइन विस्तारका लागि काम अगाडि बढाउनुहोला ।”

यसैगरी, मन्त्री यादवले सुन्दरपुर खानेपानी आयोजनामा थप चार लाख ५० हजार लिटर क्षमताको ओभरहेट ट्याङ्की निर्माण गरी सो ट्याङ्कीबाट उपभोक्तलाई शुद्ध पानी वितरण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न निर्देशन दिनुभएको आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिनुभयो ।

उक्त अनुगमन तथा निरीक्षणमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, सुन्दरपुर खानेपानी आयोजनाका कर्मचारी एवं पदाधिकारीलगायतको सहभागिता थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान

0

काठमाडौँ: मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार सात सय ७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनाको अवधिमा फलाई दुबईले सर्वाधिक उडान भरेको छ । तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ । यस्तै फलाई दुबईले एक हजार एक सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाटबा १९ जनालाई दुबई लगेको तथ्याङ्क छ ।

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा दुई हजार दुई सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार पाँच सय ३३ यात्रु भैरहवा ओर्लिएका छन् । साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार चार सय ६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । एक महिनामा कूल एक सय ५६ उडान÷अवतरण भएका विमानस्थलले जनाएको छ । थाइ एयर एसियाले चार सय ४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ ।

महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यलेभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ । अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ ।

सिधा र लो–कस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको हुँदा वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ । पछिल्ला दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सङ्घीय र प्रदेशस्तरीय मन्त्रीदेखि विभिन्न सरोकारवाला निकाय एवं सङ्घसंस्थासँग नियमितजसो छलफल र अन्तरक्रिया भइरहेको विमानस्थलले जनाएको छ ।

आफूलाई राजनीतिक निशाना बनाउने डरले ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै लिंक्डइनका संस्थापकले देश छोड्ने

0

काठमाडौं: लिंक्डइनका सह-संस्थापक रीड होफम्यानले डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ लिएपछि अमेरिका छोड्न सक्नेछन्। न्युयोर्क पोस्टको रिपोर्टका अनुसार होफम्यानलाई राष्ट्रपति बनेपछि ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई निशाना बनाउन सक्छन् भन्ने डर छ ।

वास्तवमा, होफम्यानले राष्ट्रपति चुनावमा कमला ह्यारिसलाई समर्थन गरेका थिए। उनले कमलाको डेमोक्रेटिक पार्टीलाई चुनाव प्रचारका लागि एक करोड डलर सहयोग गरेका थिए । होफम्यानले ट्रम्पको हत्या गर्ने प्रयास गर्दा उनी मर्ने कामना गरेको पनि बताए ।

सन् २०१९ मा न्युयोर्क म्यागजिनकी लेखिका ई जीन क्यारोलले ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । यस मामिलामा पनि होफम्यानले क्यारोललाई ट्रम्पविरुद्ध आर्थिक सहयोग गरेका थिए। अब होफम्यानलाई ट्रम्पले राष्ट्रपति भएपछि उनीसँग बदला लिन सक्छन् भन्ने डर छ ।

एक निर्णायक मण्डलले सन् १९९६ मा ट्रम्पलाई ई जीन क्यारोलको यौन उत्पीडनको मुद्दामा दोषी ठहर गरेको थियो। यसपछि ट्रम्पलाई ५० लाख डलर जरिवाना गरिएको थियो । पछि ट्रम्पले क्यारोलले यौन उत्पीडन काण्डको बारेमा झूट बोलेको दाबी गरे।

त्यसपछि क्यारोलले ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । यस मामिलामा अदालतले ट्रम्पलाई क्षतिपूर्तिको रूपमा क्यारोललाई ८३.३ मिलियन डलर तिर्न आदेश दियो।

मोहम्मद युनुसले भने- ‘शेख हसिनाले देश बर्बाद गरिन्, मुद्दा चलाएर भारतसँग सुपुर्दगी माग्छु’

0

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री शेख हसिनाले देशको सबै कुरा बर्बाद गरेको आरोप लगाएका छन् ।

युनुसले हसिनाले आफ्नो १५ वर्षको कार्यकालमा देशको शासन प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पारेको बताए । उनले भने ‘लोकतन्त्र, आर्थिक स्थायित्व र जनविश्वासको पुनर्स्थापना गरी यसलाई पुनर्निर्माण गर्ने ठूलो जिम्मेवारी हामीसँग छ ।’ जापानी पत्रिका निक्की एशियालाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

युनुसले हाल बंगलादेशमा चुनाव हुने सम्भावनालाई अस्वीकार गरेका छन् । हसिनाको सुनुवाइ सकिएपछि भारतसँग उनको सुपुर्दगीको औपचारिक माग गर्ने उनले बताए । पूर्वप्रधानमन्त्री हसिना बंगलादेशमा कु’ भएपछि निर्वासित जीवन बिताइरहेकी छिन् ।

हसिनाको शासनकालमा लोकतान्त्रिक सिद्धान्तलाई पूर्ण रूपमा बेवास्ता गरिएको युनुसले आरोप लगाए । उनले भने ‘हसिनाले लगातार तीन कार्यकाल मतदाताको सहभागिताविना नक्कली निर्वाचन गराएकी थिइन् । उनले बिना कुनै प्रतिस्पर्धा आफू र आफ्नो पार्टीलाई विजयी घोषणा गरिन् ।’

उनले भने ‘अन्तरिम सरकारले देशको संविधान, न्यायपालिका र निर्वाचन प्रक्रियामा परिवर्तन गर्न विभिन्न आयोग गठन गरेको छ । यी आयोगहरूबाट प्राप्त सिफारिसहरू जनवरीदेखि पूर्ण रूपमा लागू हुनेछन्। यी सिफारिसहरू कार्यान्वयन गर्न समय लाग्न सक्छ। हामी पूर्णतया नयाँ बंगलादेश बनाइरहेका छौं।’

युनुसले अगाडि भने ‘हामी आधिकारिक रूपमा हसिनाको सुनुवाइ पूरा भएपछि भारतसँग सुपुर्दगीको माग गर्नेछौं। भारत र बंगलादेशले अन्तर्राष्ट्रिय कानूनमा हस्ताक्षर गरेका छन् जसअनुसार भारतले बंगलादेशको मागलाई स्वीकार गर्नुपर्नेछ।

यसबाहेक युनुसले बंगलादेशमा हिन्दूमाथि भएको हमलाबारे भारत सरकारको चासोलाई निराधार र कुप्रचारको संज्ञा दिएका छन् । त्रिपुरामा बंगलादेशी मिसनमा भएको आक्रमणपछि बंगलादेशले मंगलबार नै भारतीय उच्चायोगलाई बोलाएको थियो ।

अर्कोतर्फ पूर्वप्रधानमन्त्री शेख हसिनाले हिन्दूविरुद्धको हिंसालाई लिएर मुख्य सल्लाहकार युनुसमाथि हमला गरेकी छन् । न्यूयोर्कमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले युनुसले देशमा नरसंहार गरेको बताइन् ।

एनपिएलः सुदूरपश्चिमको लगातार दोस्रो जित

0

काठमाडौं: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको हो।

सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो। काठमाडौंका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन्। सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०/१० र प्रतिक श्रेष्ठले आठ रन बनाए।

काठमाडौंका लागि माइकल लेविटले पाँच, शंकर रानाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करन केसी, नाथन सोटर र शाहब आलमले समान एक/एक रन जोडे। यो खेलमा काठमाडौंले अतिरिक्त दुई रन पायो।

सुदूरपश्चिम रोयल्सका लागि नरेन साउदले सर्वाधिक पाँच विकेट लिए। अभिनाश बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक÷एक विकेट लिए। योसँगै सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो। सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडे।

यस्तै, विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए। खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए। यो खेलमा सुदूरपश्चिमले अतिरिक्त दश रन पायो।

काठमाडौंका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए। गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीले एक/एक विकेट लिएका थिए। एनपिएलमा काठमाडौं गुर्खाजको यो दोस्रो हार हो। तीन खेल खेलेको काठमाडौंले यसअघि एक खेलमा विजयी भएको थियो।

चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताउनुभएको छ।

चीनको औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताउनुभएको हो।

उहाँले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको जिकिर गर्नुभयो । आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भए पनि छिटै भारत भ्रमणमा जानेसमेत उहाँले बताउनुभयो। त्यस्तै उहाँले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहोर्याउनुभयो।

चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको जानकारी दिंदै  भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको बताउनुभयो।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

0
फाइल फोटो

बेइजिङ (चीन): प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ पुग्नुहुने कार्यक्रम छ ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।

यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उहाँहरूबीच कुराकानी भएको जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिनुभएको छ । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?

0

काठमाडौँ: शनिबारदेखि काठमाडौँमा सुरू भएको पहिलो संस्करणकोे नेपाल प्रिमियर लिग (एनपिएल) आजसम्म आइपुग्दा सात वटा खेल भए ।

एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स र पाचौँ खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो । त्यस्तै, आज कर्णाली याक्स र काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच पनि खेल भयो ।

सात खेलमध्ये दुई/दुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जीत हात पारे । सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो । विराटनगर किङ्ग्स तीन वटा खेल खेल्दा दुई वटामा हार व्यहोेर्यो ।

कर्णाली याक्स दुईवटै खेलमा पराजित हुँदा एक खेलमात्रै खेलेको पोखरा एभेन्जर्स र लुुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे । काठमाडौँ गुर्खाजले २ खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो ।

एनपिएलका लागि ८ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’ मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए । लक्की ड्रमार्फत काठमाडौँले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको
थियो ।

त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रूपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो ।

एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

आसिफ शेख, जनकपुर बोल्ट्स

जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेकोे जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ ।

एनपिएलको पहिलो तथा उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उनी शून्य रनमै पभेलियन फर्किनु परेको थियोे ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्यो । कर्णालीविरूद्ध जनकपुर बोल्ट्सले सुरूदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठूलो साझेदारी पनि बन्यो ।

जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।

कुशल मल्ल, चितवन राइनोज

नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेकोे चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुबै खेलमा जित हात पारेको छ ।

पहिलोे खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेट हरायो । काठमाडौँसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । उनी ११ रनमा आउट हुन पुगे । तर, बलिङमा भने एक विकेट लिन सफल भए ।

चितवनले आफ्नो दोस्रो खेलमा मङ्गलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरूद्ध ३८ रनको योगदान दिए । सो क्रममा मल्लले ४ छक्का र एक चौकासमेत प्रहार गरे । तर, पोखराविरूद्ध २ ओभर बलिङ गरेका उनले एक विकेट पनि झार्न सकेनन् । उल्टै, ११ रन खर्चिन पुगे ।

सन्दीप लामिछाने, विराटनगर किङ्ग्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने विराटनगर किङ्ग्सको मार्की खेलाडी हुन् । सन्दीप लामिछाने नेतृत्वकोे विराटनगर किङ्ग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स ८ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरूद्ध ७ रन मात्रै प्रहार गरे । तर, बलिङतर्फ भने जम्न सकेनन् । उनले जनकपुरको एक विकेट पनि झार्न सकेनन् ।

विराटनगर किङ्ग्स आफ्नोे दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनकोे फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरूद्ध ब्याटिङततर्फ ८ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सकेनन् ।

यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ । लुम्बिनीविरूद्ध ब्याटिङ तर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सके ।

सोमपाल कामी, कर्णाली याक्स

जारी एनपिएलमा दुई खेल खेलेकोे कर्णाली याक्सकोे प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुुई खेलमा दुुवै खेल हार्न पुगेको छ ।

पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित हुन पुग्यो । योे खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् ।

दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित हुुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौँविरूद्ध एक विकेट लिन भने सफल भए ।

करण केसी, काठमाडौँ गुर्खाज

जारी एनपिएलमा काठमाडौँ गुर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौँ गुर्खाज चितवन राइनोजसँग ५ विकेटले हार्न पुग्यो ।

पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ तिर । केसीले काठमाडौँ गुर्खाजविरूद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट भएका थिए भने बलिङतर्फ भने जम्न सकेनन् ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले पराजित गर्यो । यो खेलमा केसीकोे प्रर्दशन सानदार नै थियोे । काठमाडौँविरूद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाएका थिए भने बलिङतर्फ एक विकेट लिन सफल भए ।

दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स

जारी एनपिएलमा एक खेल खेलेकोे सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रर्दशन गर्यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गर्यो ।

यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रर्दशन सानदार नै रह्यो । उनले अर्धशतक पारी खेले । विराटनगरविरूद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए ।

बलिङतर्फ भने एक विकेट हात पार्न सकेनन् । उल्टै २ ओभरमा ९ रन खर्चिन पुगे ।

कुशल भुर्तेल, पोखरा एभेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओेपनर समेत रहेका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । तर, जारी एनपिएलमा पोखराकोे सुरूवात राम्रो हुन सकेन ।

एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नु पर्यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सकेनन् । राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगे । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिए । तर, खेलमा उनले तीन वटा क्याच भने समाते ।

रोहित पौडेल, लुम्बिनी लायन्स

एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहित पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुन् ।

रोहित नेतृत्वको लुुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग २ विकेटले पराजित भयो ।

लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । तर, बलिङ भने गरेनन् ।