Saturday, June 20, 2026
Home Blog Page 622

रामेछापको सुन्तलाले पाएन बजार ,किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य

0

मन्थली (रामेछाप): यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताउनुभयो ।

अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउनुहुन्छ । “विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला रु एक सयमा बिक्री वितरण हुने गरेको थियो, यस वर्ष भने प्रतिकेजी रु ७५÷८० मै दिनुपर्ने बाध्यता छ । के गर्नु उत्पादन गरे पनि बजार नभएपछि ।”

मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउछ ।

यसवर्ष यस वडाबाट करिब रु दुई करोडको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो । बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ । “हामीले वर्षभरि मेहनत गरेर उत्पादन गर्छौँ, त्यसको प्रतिफल पनि राम्रै छ तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ । यसरी त सधैँ व्यवसाय हुँदैन । त्यसैले सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ”, स्थानीय किसानको भनाइ छ ।

सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

0

सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।

सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् । स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताउनुभयो । यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उहाँले बताउनुभयो । स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताउनुभयो । “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ”, उहाँले भन्नुभयो ।

सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ । पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।” वडाध्यक्ष कार्कीले पहिराले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताउनुभयो ।

स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाउनुभयो । “राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन”, उहाँले दुःखेसो पोख्नुभयो ।
करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उहाँले सुनाउनुभययो ।

स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ । पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताउनुभयो । उहाँले जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको बताउनुभयो ।

“स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ”, प्रजिअ घिमिरेले भन्नुभयो ।

उहाँले हाल अध्ययनका लागि स्थलगत अवलोकन गरेका टोलीले प्रतिवेदन दिएपछि सोहीअनुसार आवश्यक काम गर्न जिल्ला प्रशासनले समन्वय गर्ने जानकारी दिनुभयो ।

स्थानीय नागरिक र सरोकारवाला पनि हालसम्म अध्ययनमा सङ्लग्न टोलीले समस्या समाधानका लागि उपाय खोज्नेमा आशावादी छन् । सो टोलीको सिफारिसको आधारमा थप अध्ययन वा रोकथामका काम अगाडि बढ्ने अपेक्षा गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । “पहिरो विस्तार हुने क्रम हेर्दा सानोतिनो प्रयासले नियन्त्रण समस्या छ । त्यसैले तिनै तहका सरकारले एकीकृत रूपमा समस्या समाधानका लागि पहल गर्न आवश्यक छ । हामीले पनि आफ्नो तर्फबाट सबैको ध्यानाकर्षण गराइहेकै छौँ । समयमै समस्या समाधान नगरे ठूलो मानवीय र भौतिक क्षति हुनसक्छ । तिङलाबासी आफ्नो बस्तीको अस्तित्व जोगाउन राज्यको सक्रियता प्रतीक्षामा छौँ”, उहाँले भन्नुभयो ।

सोलुखुम्बुका अन्य ग्रामीण क्षेत्रमा पनि पहिरोका जाने समस्या छ तर यहाँ भने सुख्खा मौसममा पनि पहिरो गइरहने भएकाले समस्या झन् जटिल बनेको हो । यसैले त्रासमा रहेका यहाँका स्थानीय आफ्नो थातथलोको संरक्षण र ज्युज्यान जोगाउन सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँछन् ।

पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी

0

वीरगञ्ज (पर्सा): पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले आज रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जानकारी दिनुभयो ।

“अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ”, उहाँले भन्नुभयो, “अदालतले अनुमति दिएकाहरूलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउनेछौँ ।”

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्लाजिल्लामा बयान लिनेक्रम जारी रहेको छ ।

उपनिर्वाचनले निम्त्यायो कांग्रेसमा किचलो, देउवामाथि खनिए शेखर

0

काठमाडौं: मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले ४४ स्थानमध्ये १९ स्थानमा जित हात पार्‍यो। २०७९ को स्थानीय तह निर्वाचनमा २७ स्थानमा जित हासिल गरेको कांग्रेसले उपनिर्वाचनमा ८ स्थान गुमाउन पुगेको हो।

२०७९ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचन लडेका कांग्रेसले यसपटक एक्लै चुनावी प्रतिस्पर्धा गरेको थियो। एक्लै प्रतिस्पर्धामा पनि राम्रो नतिजा ल्याएको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत खुसी व्यक्त गरेका छन्।

कांग्रेसले दुई जिल्लामा जिल्ला समन्वय प्रमुख, एक पालिका प्रमुख र १६ वडाध्यक्ष विजयी भए पनि उपनिर्वाचनपछि पार्टीभित्र असन्तुष्टि बढेको छ। असन्तुष्टिको मुख्य कारण मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको पराजयलाई मानिएको छ।

असन्तुष्टिको कारण र विवाद

ग्रामथानमा संस्थापन पक्षले असहयोग गरेको इतर पक्षको आरोप छ। मोरङलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहको प्रभाव क्षेत्र मानिन्छ। यही क्षेत्रबाट २०७९ मा जितेको पालिका प्रमुख उपनिर्वाचनमा गुमाउँदा कोइराला समूह रुष्ट बनेको छ। कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि गम्भीर आलोचना गरेको छ।

विवाद थप चर्कँदै जाँदा मंगलबार कोइराला समूहले विराटनगरको जैन भवनमा पालिका सभापतिहरूको भेला आयोजना गरेको थियो। तर, संस्थापन पक्षले भेलालाई अवैध भन्दै सहभागी भएन।

प्रदेशस्तरीय गतिविधि

२२ गते विराटनगरमा कांग्रेसको प्रथम कोशी प्रदेश सम्मेलन हुने तयारी भइरहेको छ। कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ भन्दा पहिले कुनै पनि आधिकारिक कार्यक्रम नरहेको जानकारी दिएको छ। तर, कोइराला समूहले प्रदेशभरका १३७ मध्ये ११३ पालिकाका सभापतिहरू सहभागी भएको दाबी गर्दै आफ्नो कार्यक्रम सफल भएको जनाएको छ।

सभापति देउवा पक्षले भने कोइराला समूहले पार्टीको आधिकारिक भेला असफल पार्न सक्रिय रहेको आरोप लगाएको छ। देउवा पक्षले १५औँ महाधिवेशनको तयारीस्वरूप कोइराला समूहले पार्टी गतिविधिविरुद्ध काम गरिरहेको पनि आरोप लगाएको छ।

कोइरालाको धारणा

भेलालाई सम्बोधन गर्दै डा. शेखर कोइरालाले पार्टीभित्र गुटबन्दीको आरोपलाई खारेज गर्दै संगठनलाई बलियो बनाउने प्रयास भइरहेको बताए। उनले पालिका सभापतिहरूको संरक्षणमा आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै भने, ‘कुनै किसिमको डर, धाक, धम्कीबाट नआत्तिनुहोला। तपाईंहरूको संरक्षण म गर्छु।’

उनले वर्तमान गठबन्धन सरकार पारदर्शी र सुशासनका लागि बनेको र यसको सफलतामा सबैले साथ दिनुपर्ने धारणा राखे। ‘सरकारप्रति जनताको ठूलो आशा छ, असफल हुने छुट छैन,’ उनले भने।

अन्य नेताहरूको धारणा

कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक छलफल गर्नुपर्ने सुझाए। उनले आन्तरिक प्रतिस्पर्धालाई सडकमा नल्याउन आग्रह गरे।

कार्यक्रममा केन्द्रीय सदस्यहरू किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला, डा. चन्द्रमोहन यादव, र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले लोकतन्त्रलाई संस्थागत गर्न र जनताको घेरदैलोमा पुग्न कार्यकर्ताहरूलाई आग्रह गरे।

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेश

0

काठमाडौं: दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलविरुद्ध विपक्षी सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गरेका छन्। मंगलबार राति राष्ट्रपति युनले देशमा मार्सल ल लागू गर्न गरेको प्रयास असफल भएपछि यो कदम उठाइएको हो।

प्रदर्शनको तयारी

राष्ट्रपतिको कदमको विरोधमा दक्षिण कोरियाका सामाजिक कार्यकर्ताहरू र श्रमिक संघहरूले देशव्यापी प्रदर्शनको तयारी गरिरहेका छन्। योनहाप समाचार एजेन्सीका अनुसार बुसानका कार्यकर्ताहरूले आगामी हप्ता दैनिक विरोध र्‍याली आयोजना गर्ने योजना बनाएका छन्।

ग्वान्जुमा आज साँझ आयोजित मैनबत्ती लाइट मार्चमा करिब १,००० व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ। यस्तै, डेगु, पोहाङ, र जेजु टापुमा पनि यस्तै प्रदर्शन हुने घोषणा गरिएको छ।

श्रमिक संघको हडताल

यसैबीच, दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हडताल सुरु गरेको छ। श्रमिकहरू राष्ट्रपतिको कदम र सरकारको नीतिको विरोधमा सडकमा उत्रिएका छन्। हडतालले देशको यातायात, उत्पादन, र आपूर्ति व्यवस्थामा प्रभाव पर्न सक्ने आकलन गरिएको छ।

मार्सल ल विवाद

मंगलबार राति राष्ट्रपति युन सुक-योलले “राष्ट्रविरोधी तत्व” हटाउन मार्सल ल लागू गर्ने घोषणा गरेका थिए। तर, यसले ठूलो जनआक्रोश र राजनीतिक दबाब सिर्जना गरेपछि बुधबार बिहान उनले आदेश फिर्ता लिएका छन्।

राजनीतिक संकट

यो घटनाले दक्षिण कोरियाको राजनीतिक संकट थप गहिर्याएको छ। विपक्षी दलहरूले राष्ट्रपतिलाई निरंकुशताको आरोप लगाउँदै उनीविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन्।

विश्लेषकहरूको भनाइअनुसार, दक्षिण कोरियामा अहिलेको स्थिति सरकार र विपक्षी दलबीच थप टकराव निम्त्याउने देखिन्छ। राष्ट्रपति युनको कदमले देशको लोकतन्त्र र राजनीतिक स्थायित्वमा गम्भीर प्रश्न खडा गरेको छ।

देशभर चर्किएको प्रदर्शनले आगामी दिनमा थप तनावपूर्ण स्थिति सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।

मुलुकमा नयाँ जनक्रान्तिका आवश्यक: प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा नयाँ जनक्रान्ति आवश्यक रहेको बताएका छन्।

गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताएका हुन्।

‘प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने हुन्छ। त्यसका लागि मुलुकमा नयाँ जनक्रान्तिको आवश्यकता छ,’ उनले भने, ‘सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ। त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं।’

भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनको भनाइ छ।

‘एउटा नयाँ क्रान्ति आवश्यक परेको छ। प्रतिक्रियावादीहरूका प्रतिगमनकारी हर्कतलाई परास्त गर्नका लागि जनताको बीचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता भएको छ,’ उनले भने। आगामी चुनाव माओवादीले कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने उनको दाबी छ।

‘प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ। म त बाटो लागिसकेँ। मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ,’ उनले भने।

एनपिएलः विराटनगर किङ्ग्सले निकाल्यो पहिलो जित

0

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई पराजित गरेको छ। लुम्बिनीले जितका लागि प्रस्तुत गरेको १९२ रनको चुनौती विराटनगरले रोमाञ्चक शैलीमा १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।

विराटनगरको जितमा ओपनर लोकेश बमले महत्वपूर्ण भूमिका खेले। उनले ४७ बलमा ३ चौका र ६ छक्काको मद्दतमा ७१ रन बनाए। अन्य ब्याटरहरूमध्ये मार्टिन गप्टिलले २८ रन, बसिर अहमदले २३ बलमा ४० रन, र क्रिस सोलले अन्तिम क्षणमा ४ बलमा १४ रन प्रहार गरी टोलीलाई जितसम्म पुर्‍याए। बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए भने साद बिन जाफर र रामोन सिमन्ड्सले समान २/२ विकेट हात पारे।

लुम्बिनीको प्रदर्शन

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले आक्रामक शैलीमा ४६ रन जोडे। उनले २९ बलमा २ छक्का र ४ चौका प्रहार गरे। टम मूर्सले ३० रन, विवेक यादवले १९, र अर्जुन साउदले १७ रनको योगदान दिए।

अन्य ब्याटरहरूमध्ये आशुतोष घिरैया र साद बिन जाफरले समान १५/१५ रन बनाए। सन्दीप जोराले १२ रन थपे भने बेन कटिङ र रामोन सिमन्ड्स क्रमशः ६ र २ रनमै सीमित भए। बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १/१ विकेट लिए।

विराटनगरको पहिलो जित

यो जितसँगै विराटनगर किंग्सले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। यसअघि लगातार दुई खेलमा हार व्यहोरेको विराटनगरले यो जितसँगै आत्मविश्वास बढाएको छ। यता, लुम्बिनी लायन्सले प्रतियोगितामा हारबाट सुरुवात गरेको छ।

प्रतियोगिता अझ रोमाञ्चक

एनपिएलको यस संस्करणमा टोलीहरूले आक्रामक खेल देखाउँदै गर्दा प्रतियोगिता थप रोमाञ्चक बन्दै गएको छ। विराटनगर किंग्सको यो जितले लिग तालिकामा सन्तुलन ल्याएको छ भने लुम्बिनी लायन्स आगामी खेलहरूमा जित निकाल्न दबाबमा हुनेछ।

‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

0

काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगले सेवा प्रदायक संस्थाहरु शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको जनाएको छ ।

मङ्गलबार आयोगले ‘मानसिक स्वास्थ्य अधिकार व्यवस्था (गण्डकी र बागमती प्रदेश) अध्ययन प्रतिवेदन २०८१’ सार्वजनिक गर्दै सेवा प्रदायकका भवनको गुणस्तर उच्च भएता पनि यी संस्थामा शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त र सम्मानजनक अवस्था सुनिश्चितता नभएको उल्लेख गरेको हो ।

प्रतिवेदनले सरकारी र निजी अस्पतालहरुका साथै अन्य सङ्घसंस्था तथा पुनःस्थापना केन्द्रहरुमा सामान्यतया अपाङ्गता संरचनाको अभाव रहेको देखाएको छ । भवनहरुमा ‘ह्विलचियर’का लागि ‘¥याम्प’ तथा ‘लिफ्ट’ को सुविधा भए पनि सबै अपाङ्गता भएका व्यक्तिका लागि शौचालय, नुहाउने कोठा र भान्सामा पहुँचको सुनिश्चितता नभएको जनाइएको छ । खाद्यान्न, स्वच्छ पिउने पानी, आरामदायी सुत्ने वातावरणजस्ता आधारभूत आवश्यकताहरु उपलब्ध गराउने सन्दर्भमा उपेक्षा भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस अध्ययन प्रतिवेदनले बागमती र गण्डकी प्रदेशमा मनोविद्, मनोविमर्शकर्ता, मनोचिकित्सक, नर्स, सामाजिक कार्यकर्ता लगायतका दक्ष जनशक्तिको अभाव रहेको देखाएको छ । त्यसैगरी मानसिक स्वास्थ्य समस्या वा मनोसमाजिक अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको भनिएको छ ।

अध्ययनको क्रममा भ्रमण गरिएका सङ्घसंस्था तथा पुनःस्थापना केन्द्रहरुमा सरसफाइको दृष्टिकोणमा व्यापक भिन्नता देखिएको जनाइएको छ । कुनै संस्थामा सरसफाइको मापदण्ड राम्रो पाइएको र कुनैमा अवस्था सामान्य रहेको अध्ययनले देखाएको छ । गोपनीयताको सवालमा भने अधिकांश सङ्घसंस्थाले खासै ध्यान नदिएको पाइएको उल्लेख
छ ।

कतिपय निजी अस्पतालमा भने शौचालयहरु अपाङ्गमैत्री नरहेको प्रतिवेदनमा छ । बागमती प्रदेशको तुलनामा ग्रामीण जनसङ्ख्याको बाहुल्यता रहेको गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्या भएका तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले अध्ययनले मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको उपचार, हेरचाह र सहयोगको गुणस्तरको अवस्थालाई पहिचान गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययनले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चित गर्ने र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न सरकार र सरकोकारवाला निकायलाई सिफारिस गरेको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले सुदूरपश्चिमलगायत दुरदराजमा मानसिक स्वास्थ्य रोग विशेषज्ञहरु पु¥याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यून लगानीमा थुप्रै काम गर्नुपर्नेछ । प्रादेशिक अस्पतालमा मानसिक वार्डहरु भए पनि सातै प्रदेशमा विशेषज्ञहरु राख्ने प्रयत्न गरिरहेका छौँ ।”

आज देशभरको मौसम सफा रहने

0

काठमाडौँ: आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

0

काठमाडौ: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।

यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा, घटेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १७ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।