Saturday, June 20, 2026
Home Blog Page 620

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर

0

सिरहा: औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकसिमक स्वास्थ्य सेवाका औषधी खरिद प्रकृयामा अनियमितता गरेको भन्दै प्रमुख बगालेसहित लेखा अधिकृत पुरूषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र बिक्रेता कम्पनी हेल्पिङ्ग मल्टिपर्पोज प्रालिका प्रवन्ध निर्देशक माधवप्रसाद गौतम विरूद्ध आरोप पत्र दायर भएको हो ।

अख्तियारले आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा चार लाख ६० हजार आठ सय १० रूपैयाँ अनियमिता गरेको प्रवक्ता नरहरी घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरूको वास्तविक मूल्यभन्दा बढी मूल्य राखि खरिद गरेको र पाँच प्रकारका औषधीहरू पत्रिकामा प्रकाशित औषधीहरूको मूल्यसूचीभन्दा बाहिरको औषधी खरिद गरेको उल्लेख गरेको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (क) बमोजिम करेक्स फर्मासिटीकल्स प्रालिले आव २०७८/०७९ का लागि मिति २०७८ साउन १० गते राष्ट्रिय जन सवाल पत्रिकामा प्रकाशित दुई सय ३७ प्रकारका औषधीहरूको मूल्यसूची (दररेट) मा नबढ्नेगरी उक्त कम्पनीको आधिकारीक विक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रालिसँग खरिद गर्नुपर्नेमा खरिद गरेका ३२ प्रकारका औषधीमध्ये १७ प्रकारका औषधीहरू उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

0

काठमाडौँ: निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ । नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ । नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन नाईन एन–एओजी विमान फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ । हाल सो कम्पनीसँग तीन वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज रहेका
छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिनुभयो । बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक एकसय ४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।

इजरायलले प्यालेस्टिनीहरूको ‘नरसंहार’ गरेको एम्नेस्टी इन्टरनेशनलको आरोप

0

काठमाडौं: मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले इजरायलको गाजा क्षेत्रमा हालैका सैन्य कारबाहीप्रति गम्भीर आरोप लगाउँदै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनमा एम्नेस्टीले इजरायलले गाजामा नरसंहार गरेको र यसले प्यालेस्टिनीहरूलाई गम्भीर मानवीय संकटमा धकेलेको दाबी गरेको छ। संगठनले इजरायली कारबाहीहरू र नीतिहरूको संचयी प्रभावको अध्ययन गर्दै यसले नरसंहारको कानुनी सीमा पार गरेको निष्कर्ष निकालेको हो।

“गाजाका प्यालेस्टिनीहरू कुपोषण, रोग, र सामूहिक विनाशको चक्रमा फसेका छन्,” प्रतिवेदनमा भनिएको छ।

स्थानीय चिकित्सा अधिकारीहरूका अनुसार गाजामा इजरायली आक्रमणका कारण हालै कम्तीमा ४७ प्यालेस्टिनीको मृत्यु भएको छ।

तर इजरायलले यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै एम्नेस्टीको दाबीलाई “पूर्णतया आधारहीन” भनेको छ। इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्छौं। गाजामा युद्ध १५ महिना अघि हमासको आक्रमणपछि सुरु भएको हो। इजरायल आफ्नो सुरक्षा गर्न बाध्य छ।”

इजरायलले आफ्नो सैन्य कारबाहीलाई हमासको सशस्त्र गतिविधिहरूलाई लक्ष्य गरेको भन्दै यसलाई आत्मरक्षाको कदमको रूपमा चित्रण गरेको छ। अर्कोतर्फ, हमासले इजरायललाई प्यालेस्टिनी भूमि कब्जा गरेर स्थानीय जनताको जीवनलाई नाश गर्न खोजेको आरोप लगाएको छ।

गाजाको पछिल्लो अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायबाट विभाजित प्रतिक्रिया आएको छ। केही राष्ट्रहरूले इजरायलको कार्यप्रति समर्थन जनाउँदै आत्मरक्षा गर्ने अधिकारको बचाउ गरेका छन् भने केहीले मानवअधिकार उल्लङ्घनको आरोपमा इजरायलको आलोचना गरेका छन्।

गाजामा जारी संघर्षले २३ लाख जनसंख्या भएको क्षेत्रमा खाद्यान्न, औषधि, र आधारभूत सुविधाको अभाव निम्त्याएको छ। संयुक्त राष्ट्रसंघले गाजालाई विश्वकै सबैभन्दा कठिन स्थानमध्ये एक मान्दै यस क्षेत्रमा मानवीय सहायता आपूर्तिमा सहजता ल्याउन अपिल गरेको छ।

एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनले नयाँ बहस सिर्जना गरेको छ। गाजाको परिस्थितिलाई समाधान गर्न दीर्घकालीन शान्ति प्रक्रिया आवश्यक रहेकोमा सबै पक्षहरू सहमत देखिए पनि त्यसको कार्यान्वयन भने अझै टाढा देखिन्छ।

भुटानका राजा नेपालमा: गरे स्वयम्भूनाथ र बाैद्धनाथको दर्शन

0

काठमाडाैं: भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बाैद्धनाथमा पुगेर दर्शन गरेका छन्। निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ र बाैद्धनाथ पुगेर दर्शन र पूजाअर्चना गरेका हुन्।

सो क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकन समेत गरेका थिए भने नजिकै रहेको गुम्वाहरुमा समेत गएका थिए।

स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि वाङचुक काठमाडौं आएका हुन्। आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

रविमाथि अन्याय भयो भन्दै रास्वपाले गुहार्‍यो मानवअधिकारकर्मी

0
file photo

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। साथै, रास्वपाले यस विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको समयमा अचानक उठाएर मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइएको घटनाप्रति आपत्ति जनाइएको छ।

‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो। यसैबीच, सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। ‘हामी यसको घोर भर्त्सना गर्दछौँ। सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ। यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।’

पार्टीले लामिछाने कसुरदार नभई एक आरोपित मात्र भएको भन्दै उनले सरकारको कानुनी प्रक्रियामा साथ दिएर नागरिक कर्तव्य निर्वाह गरिरहेको पनि स्पष्ट पारेको छ।

‘अनुसन्धानमा साथ दिइरहेका एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीझैँ प्रचार गर्नुका साथै त्यस्तै व्यवहार गर्नु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौँ। अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

साथै, पार्टीले राज्यको न्यायिक पद्धति, कानुनी शासन, र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिल पनि गरेको छ।

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प

0

काठमाडौं: अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेक्षण (USGS) का अनुसार, भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको फर्न्डेल सहर नजिकै रहेको छ।

भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटीय क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरिएको थियो। तर, जोखिमको स्थिति स्पष्ट भएपछि यो चेतावनी हटाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्। यस क्षेत्रमा झण्डै ४७ लाख मानिस बसोबास गर्छन्।

स्थानीय अधिकारीहरूका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको छैन। साथै, ठूला भौतिक संरचनामा गम्भीर क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

तर, केही घरहरूमा सामान्य क्षति पुगेको र केही सुपरमार्केट तथा पसलहरूमा सामान खसेको विवरण छ। भूकम्पको प्रभावले केही समयका लागि विद्युत आपूर्ति पनि अवरुद्ध भएको थियो।

अतिरिक्त जानकारी
भूकम्पको झट्काले स्थानीय बासिन्दाहरूलाई त्रसित बनाएको छ। धेरै मानिस घरबाहिर निस्केका थिए भने केही स्थानहरूमा आपतकालीन सेवा सक्रिय गरिएको थियो। भूकम्पको कम्पन दक्षिणी ओरेगनदेखि मध्य क्यालिफोर्नियासम्म महसुस गरिएको थियो।

विशेषज्ञहरूका अनुसार, यो भूकम्प क्यालिफोर्नियाको सन्दर्भमा सामान्य भूगर्भीय गतिविधिको हिस्सा हो। तर, यसले प्रशान्त महासागरीय क्षेत्र (Pacific Ring of Fire) मा सक्रिय भूगर्भीय चापलाई संकेत गर्न सक्छ।

क्षेत्रीय आपतकालीन व्यवस्थापन टोलीले सम्भावित परकम्प (aftershocks) को चेतावनी दिएको छ र स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ।

२४ घण्टामा १६ ठाउँमा आगलागी, जोखिम अझ बढ्ने भएकाले तयारी थाल्न विज्ञको सुझाव

0

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।

वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्काे जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ । त्यहीअनुसार तयारी थालिएको पनि उहाँले बताउनुभयो ।

अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन् । विज्ञहरूका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ । डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ ।

विज्ञहरूले डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा सुझाव दिएका छन् । यो क्रम अहिलेदेखि नै सुरू गर्नुपर्नेमा उहाँहरूको सुझाव छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो । तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको छ ।

उहाँले जङ्गलमा पतकर, काठ तथा वन पैदावर बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरूरी रहेको बताउनुभयो । उहाँका अनुसार गएको वर्ष नेपालका ७४ जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको छ । शतप्रतिशतजस्तै डढेलो मानवीय कारणले लाग्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार ६४ प्रतिशत मानिसले जानीजानी डढेलो लगाउने गरेका छन् । एकतीस प्रतिशत हेल्चक्रयाइँका कारण डढेलो लाग्ने गरेको छ । यसरी हेर्दा केही प्रतिशतबाहेक मानिसकै गतिविधिका कारण डढेलो लाग्ने भएकाले सचेत हुनेपर्नेमा उहाँले जोड दिनुभयो ।

डढेलोसम्बन्धीका अध्यक्ष एवं अर्का डढेलोसम्बन्धी विज्ञ डा कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताउनुभयो । उहाँले सिवालिक क्षेत्रमा बढी डढेलो लाग्ने गरेको जानकारी दिँदै जङ्गलबाट बस्तीमा डढेलो सल्किने क्रम पनि बढेको बताउनुभयो । भुलेलले भन्नुभयो, “विभिन्न कारणले बस्ती र वन जोडिन थालेको छ, त्यसैले वनमा लागेको आगो बस्तीमा सल्किने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको हो, यसले ठूलो जनधनको क्षति गराइरहेको छ ।”

नेपालमा तथ्याङ्क हेर्दा बढी लुम्बिनी प्रदेशमा डढेलो लागेको छ । त्यसपछि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश प्रदेश, कोशी र गण्डकीमा डढेलोका घटना भएको छ । केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढाउँदै लैजानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्न जरूरी रहेको उहाँले सुनाउनुभयो । उहाँले यही मङ्सिर पुसदेखि नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।

जङ्गल व्यवस्थापन प्रभावकारी नहुनु, वनपैदावर र जल्ने वस्तु थुप्रिँदै जानु, कृषि भूमि बाँझिदै गएर जङ्गलमा परिणत हुनु र त्यसले बस्तीसम्म फैलिँदा घरमा पनि डढेलो पुग्नु, जलवायु परिवर्तनलगायत कारण आगलागी बढिरहेको विज्ञहरू बताउँछन् ।

डा भुजेलले अब ज्वलनशील पदार्थ जङ्गलबाट हटाउन नसके डढेलो र आगलागी भयावह हुनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तल्लो स्थानीय तहदेखि केन्द्रसम्मका निकाय सक्रिय भएर लाग्न सके डढेलोकै लागि कमाण्ड पोष्ट निर्माण गरी फायर फाइटिङ टिम निर्माण गर्न जरूरी रहेको बताउनुभयो । उहाँले डढेलो लाग्नै नदिने उपायको खोजी गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली गएको वर्ष ७४ जिल्लामा पाँच हजारभन्दा बढी डढेलोका घटना भएको जानकारी गराउँदै जङ्गल र घरसँगसँगै जोडिन पुग्दा जङ्गलमा लागेको डढेलो घरसम्म आइपुग्ने गरेको र जनधनको क्षति भइरहेको बताउनुहुन्छ । जङ्गलका प्रज्वलनशील पदार्थ हटाउन सके डढेलो नियन्त्रणमा सहयोग पुग्ने हुँदा अब वन व्यवस्थापन यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ ।

विपद्सम्बन्धी अगुवाइ गर्ने संस्था गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । तर पनि अन्य बाढीपहिरोजस्ता विपद्लाई झैँ डढेलोलाई प्राथमिकता दिन अझै सकिएको छैन । प्राधिकरण आएपछि केही प्रयास भएका छन्, तर पर्याप्त छैन ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल वन व्यवस्थापनलाई कसरी व्यवस्थित र बलियो बनाउने भन्नेबारे वर्तमान आवश्यकतासहितको राष्ट्रिय रणनीति आवश्यक भएको बताउनुहुन्छ । त्यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाइसकेको र तयारीमा जुट्न कर्मचारीहरूलाई निर्देश गरिसकिएको उहाँले बताउनुभयो । डढेलो जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि सँगसँगै वनमा थुप्रिएर बसेका सुकेका पत्करहरूको उचित व्यवस्थापन गर्न सबै क्षेत्रको समन्वयात्मक भूमिका र अग्रसरता जरूरी रहको उहाँले बताउनुहुन्छ ।

उहाँका अनुसार प्राधिकरणले भर्खरैमात्र डढेलोको विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय बहस सम्पन्न गरेको छ । उक्त बहसले महत्त्वपूर्ण सुभाव दिएकाले त्यसलाई कार्यान्वयनका लागि प्राधिकरणले पहल थालेको र संयुक्त कार्र्य अघि बढाउने विषयमा आह्वानसमेत गरिएको बताउनुभयो ।

प्रदीप ज्ञवालीको दाबी– प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक

0

म्याग्दी: नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ ।

नेकपा (एमाले) म्याग्दीको आयोजनामा बेनीमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले नेपालका विकास आयोजनामा चीनको लगानी भित्रिने भएकाले उपलब्धिपूर्ण मान्नुपर्ने बताउनुभयो । ‘बिआरआई फ्रेमवर्क’ सम्झौतामा उल्लेखित आयोजना कार्यान्वयन भएमा नेपालको पूर्वाधार, आर्थिक, जलविद्युत्, व्यापार, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुग्ने उहाँको भनाइ थियो बिआरआई सम्झौता ऋण नभएको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । अराजकता र अस्थिरताको अन्त्यका लागि भएको एमाले र कांग्रेसको सत्ता सहकार्यमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा उपमहासचिव ज्ञवालीसहित प्रदेश इञ्चार्ज किरण गुरुङ, प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनन्जय दवाडी, नेताहरु सुन्दर लामिछाने, टुकराज सिग्देल, नरदेवी पुन, भुपेन्द्र थापालगायतले प्रशिक्षण दिनुहुने एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो

0

कञ्चनपुर: हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेलापारेका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । “तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो ।” अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ । यसले गर्मीका बेला प्रजनन गर्नेे गर्दछ । घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोर्लने गर्दछ ।

कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ । घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ ।

पोथी निलो खैरो रङको हुन्छ । घाँटी सेतो हुन्छ । “यस चराका जोडी प्रजननको समयमा एक्लै वा जोडीमा देखिने गर्दछन्”, चराविज्ञ डगौराले भन्नुभयो, यसले स–साना कीरा र कमिलालाई आहाराका रूपमा खाने र बचेरालाई खुवाउने गर्दछन् ।” तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ ।

सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ ।

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

0

काठमाडौँ:  विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले कङ्साकारसहित अन्यलाई दोषी ठहर गरेको हो।

अदालतले तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद सजाय सुनाएको छ। उनलाई बिगोबमोजिम रु १ अर्ब ४७ करोड १० लाखको दामासाहीसहित रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना तिर्नुपर्ने फैसला गरेको छ। ज्येष्ठ नागरिक ऐनअनुसार कङ्साकारले ५० प्रतिशत सजाय छुट पाउनेछन्।

निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजाय सुनाइएको छ। अधिकारीलाई पनि दामासाहीसहित सोही रकम जरिवाना र बिगो जफत हुने फैसला गरिएको छ।

तत्कालीन निगम सञ्चालक समिति सदस्य एवं पूर्वसचिव शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद र बिगोबमोजिम रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ।

पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजाय र सोही बिगोबमोजिमको जरिवाना तिर्नुपर्ने फैसला गरिएको छ।

जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि अदालतले दोषी ठहर गरेको छ। उनीहरूलाई एक वर्ष छ महिना कैद र बिगोअनुसार रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गर्ने फैसला सुनाइएको छ।

यसै प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाइ दिएको छ। साथै, दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन्।

उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै दायर गरेको थियो।