Tuesday, June 23, 2026
Home Blog Page 573

उत्पादन, उत्पादकत्व र लगानी अभिवृद्धि गर्न अध्यादेशमार्फत् नयाँ कानुन : अर्थमन्त्री पौडेल

0

काठमाण्डौ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधक रहेका केही कानुन अध्यादेशमार्फत् ल्याउनुपरेको बताउनुभएको छ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले विभिन्न कानुन संशोधन गरी नयाँ व्यवस्था गरिएको जानकारी दिनुभयो।

अर्थमन्त्री पौडेलका अनुसार पञ्चायतकालदेखि कायम असान्दर्भिक कानुनलाई संशोधन गरी उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, र लगानी अभिवृद्धि जस्ता विषयलाई प्राथमिकता दिँदै अध्यादेश ल्याइएको हो। उहाँले भन्नुभयो, “हामीले समस्या भएका ठाउँमा गाँठो फुकाउने गरी अध्यादेश ल्याएका छौँ। यसले निजी क्षेत्रको मनोबल बढाएको छ।”

सरकारले अध्यादेशमार्फत् संशोधित व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक नियमावली, कार्यविधि, र विनियमावलीको तयारीलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले सरकारले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ संशोधन गरेको जानकारी दिनुभयो। नयाँ व्यवस्थाले सूचना प्रविधिमा आधारित नेपाली कम्पनीलाई विदेशमा लगानी गर्न र नेपाली नागरिकले विदेशमा रहँदा गरेको आर्जन विदेशमा लगानी गर्न पाउने अधिकार प्रदान गरेको छ। यसले नेपाली सूचना प्रविधि क्षेत्रका कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहयोग पुर्’याउने छ।

राजस्व न्यायाधिकरण ऐन, २०३१ मा संशोधन गर्दै मुद्दा पुनरावेदन गर्दा नगद धरौटीको सट्टा बैंक जमानत राख्न सकिने व्यवस्था गरिएको छ। यसले व्यवसायिक लागतलाई घटाउने सहसचिव भट्टराईले जानकारी दिनुभयो।

सरकारले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा संशोधन गरेको छ। प्रतिस्पर्धाबाट वस्तुको मूल्य निर्धारण हुनुपर्ने र व्यवसायिक मुनाफालाई कालोबजारीको रूपमा व्याख्या गर्न नमिल्ने भन्दै २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने पुरानो प्रावधान हटाइएको छ। उपभोक्ता हित संरक्षणका लागि छुट्टै ऐन कार्यान्वयनमा रहेको हुँदा यो संशोधन गरिएको हो।

मध्यस्थता ऐन, २०५५ मा संशोधन गरी विकास निर्माणसम्बन्धी विवाद छिटो समाधान गर्न समयसीमा तोकिएको छ। यसले मध्यस्थताबाट विवाद समाधान प्रक्रियालाई प्रभावकारी बनाउनेछ।

बै‘क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ संशोधन गर्दै कर्जा प्रवाहका लागि सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत परियोजना विकास सम्झौतालाई धितोको रूपमा मान्यता दिन सकिने व्यवस्था गरिएको छ।

राजस्व चुहावट ऐन, २०५२ संशोधन गरी रु तीन करोडसम्मको राजस्व चुहावट मुद्दालाई अदालतमा दायर गर्नुको सट्टा कर निर्धारण गरेर असुली गर्न मिल्ने प्रावधान ल्याइएको छ। यसले अदालती प्रक्रियामा समय र लागत बचत गर्नेछ।

कम्पनी ऐन, २०६३ मा संशोधन गरी स्टार्टअप उद्यमको हकमा चुक्ता पूँजीको ४० प्रतिशत शेयर व्यक्तिलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। साथै, प्राइभेट कम्पनीका सञ्चालकहरू समान उद्देश्य भएका अन्य कम्पनीका सञ्चालक बन्न सक्ने सुविधा थपिएको छ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा संशोधन गरी उद्योग स्थापनाको समयसीमा १२० दिनभित्र पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। यस क्षेत्रमा स्थापना भएका उद्योगले काबु बाहिरको परिस्थितिमा आन्तरिक बजारमा बिक्री गर्न पाउने सुविधा पनि थपिएको छ।

औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गरी जरिवाना तिरेर दर्ता गराउन सकिने प्रावधान ल्याइएको छ। उद्योग दर्ता प्रक्रियालाई छरितो बनाउन १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था थपिएको छ।

सरकारले यी कानुनी सुधारहरू अध्यादेशमार्फत् ल्याएर मुलुकको आर्थिक प्रणालीलाई व्यवस्थित, प्रतिस्पर्धी, र पारदर्शी बनाउन खोजेको छ।

सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब नपाएपछि…

0

वीरगञ्ज: बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले विगत छ महिनादेखि तलबभत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको तलब र सेवा सुविधा नपाएपछि नगरपालिकाअन्तर्गतका २० वटै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले समस्या समाधानका लागि यो कदम चालेका हुन्। विगत बुधबारदेखि शुक्रबारसम्म ‘हाफ टाइम’ विरोध कार्यक्रम गर्दै प्रशासनको ध्यानाकर्षण गराएका शिक्षकहरूले नगरपालिकाले कुनै पहल नगरेपछि विद्यालय बन्द गरेका छन्।

भङ्गी साह माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले तलब नपाउँदा शिक्षकहरू गम्भीर आर्थिक समस्यामा परेको बताउनुभयो। “छ महिनादेखि तलबभत्ताको नाममा एक पैसा पाएका छैनौँ। हाम्रो पनि परिवार र बालबच्चा छन्। धैर्यताको बाँध टुटेपछि बाध्य भएर विद्यालयको साँचो बुझाउनुपर्‍यो,” उहाँले भन्नुभयो।

नगरपालिकाका प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्ताफाबीचको आन्तरिक विवादका कारण आर्थिक गतिविधि ठप्प भएको जनाइएको छ। गत कात्तिक ८ गते नगरसभा सम्पन्न भए पनि नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा समस्या उत्पन्न भएको हो।

प्रजिअ अर्यालले समस्या समाधानका लागि पटक–पटक प्रयास गरिए पनि कुनै ठोस प्रगति नभएको जानकारी दिनुभयो। “शिक्षक तथा कर्मचारीको तलब भत्ताबारे छलफल गरे पनि समस्या समाधान गर्न सकिएको छैन। हामीले गर्न सक्ने अधिकतम प्रयास जारी राख्नेछौँ,” उहाँले भन्नुभयो।

शिक्षकहरूले समस्या समाधान नभएसम्म विद्यालय सञ्चालनमा चुनौती रहने चेतावनी दिएका छन्।

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

0

इलाम: सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ’ सकाएर गाउँ फर्किएर सुरु गरेको इँटा उद्योगले छ वर्षमा उल्लेखनीय सफलता हात पारेको छ।

“पन्ध्र लाख रुपैयाँ लगानीमा सुरु गरेको उद्योग अहिले ४५ लाख रुपैयाँको लगानीमा विस्तार भएको छ,” प्रमोदले भन्नुभयो। “यस उद्योगबाट अहिलेसम्म ४५० भन्दा बढी भवन निर्माणका लागि तीन लाख ५० हजारभन्दा धेरै इँटा प्रयोग भइसकेका छन्।”
उद्योगले सात जनालाई रोजगारी दिएको छ र मासिक रूपमा ७,००० इँटा उत्पादन हुन्छ। “नगरपालिकाले इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ। सबै खर्च कटाएर औसतमा १७ प्रतिशत नाफा रहन्छ, जसबाट महिनामा झन्डै १ लाख रुपैयाँ बचत हुन्छ,” उहाँले थप्नुभयो।

ईको इँटा तयार गर्न ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेडको ओपिसी सिमेन्ट, र सुपर प्लास्टिक साइजरजस्ता कच्चापदार्थ प्रयोग गरिन्छ। “यी सामग्री काठमाण्डौको दाउन्ने, झापाको बिर्तामोड र सुपर प्लास्टिक साइजर उडिसाबाट ल्याउने गरिन्छ,” प्रमोदले बताउनुभयो।

उद्योगको उत्पादन सूर्योदय नगरपालिकाभित्रको माग धान्न समेत पर्याप्त छैन। “नगरपालिकाले निर्माण सामग्रीमा हरित उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको छ। सम्झौता भएमा उत्पादन अनिवार्य रूपमा बढाउनु पर्नेछ,” स्वस्तिका सापकोटा (भट्टराई)ले बताउनुभयो।
ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री भएकाले यसको माग दिनदिनै बढिरहेको छ।

प्रमोदले नेपालमै उद्यम गर्न रुचाएको बताउनुभयो। “६ वर्षअघि १५ लाख लगानी गरेर उद्योग खोल्नु ठूलो साहस थियो। विदेश गएका भए करोडौं कमाइ हुन्थ्यो होला। तर, परिवार, समाज र नेपाली माटोको सुगन्धले यहीँ बाँधिराख्यो। हामी यहीँ खुसी छौं,” उहाँले भन्नुभयो।

कोरोना महामारीका बेला व्यवसायमा आएको चुनौतीबारे उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण उद्योग ठप्प हुँदा निराशा छायो। तर, परिस्थिती सुधार भएपछि हामीले फेरि उद्योगलाई गति दिन सफल भयौं।”

स्थानीय युवालाई स्वरोजगार बनाउन सूर्योदय नगरपालिकाले विशेष प्रोत्साहन गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो। उहाँका अनुसार, सहुलियत र अनुदानका माध्यमबाट युवाहरूलाई उद्यमशीलतामा आकर्षित गरिएको छ।

उद्योगले ईको इँटा मात्र नभई कङ्क्रिट इँटा, कभर ब्लक, फूलका गमला, तुलसीको मोठ, र तारजाली पिल्लरसमेत उत्पादन गर्दै आएको छ।

चौवालिस हजार बढीले गरे दियालो बङ्गला अवलोकन, ३८ लाख ३७ हजार राजस्व सङ्कलन

0

चितवन: भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मा लिएको दियालो बङ्गलाको अवलोकन गर्ने सर्वसाधारणको सङ्ख्या ४४,८८१ पुगेको छ। गत असार २५ गते सर्वसाधारणका लागि खुल्ला गरिएको यस बङ्गलामा पुस मसान्तसम्म १३८ जना विदेशी पर्यटकले समेत भ्रमण गरेका छन्।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा खुल्ला गरिएको दियालो बङ्गलाबाट हालसम्म रु ३८ लाख ३७ हजार ९५० राजस्व सङ्कलन भएको छ। पर्यटन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार, सर्वसाधारणका लागि प्रवेश शुल्क रु १००, भने ज्येष्ठ नागरिक र विद्यार्थीका लागि ५० प्रतिशत छुट गरिएको छ। विदेशी पर्यटकका लागि शुल्क दर छिमेकी देश भारत र चीनका नागरिकलाई रु १५०, अन्य सार्क राष्ट्रका नागरिकलाई रु २००, र अन्य देशका पर्यटकलाई रु ३०० तोकिएको छ।

पर्यटकीय गन्तव्यको रूपमा थपिएको बङ्गला
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दियालो बङ्गलालाई चितवनको नयाँ पर्यटकीय गन्तव्यका रूपमा वर्णन गर्नुभयो। उहाँका अनुसार, सदरमुकाम नजिकै रहेको यस क्षेत्र सर्वसाधारणका लागि खुला गरिँदा नयाँ गन्तव्यको रूपमा थपिएको छ। दियालो बङ्गला भरतपुर महानगरपालिका–१ मा अवस्थित छ, जसको व्यवस्थापन नेपाल ट्रष्टसँगको सम्झौतामा महानगरपालिकाले गरिरहेको छ।

सङ्कलित राजस्वको ६० प्रतिशत ट्रष्टले र बाँकी ४० प्रतिशत महानगरले पाउने व्यवस्था गरिएको छ। महानगर प्रमुख रेनु दाहालले बङ्गलाको ऐतिहासिक महत्वका कारण अवलोकनकर्ताको सङ्ख्या दिनानुदिन बढिरहेको बताउनुभयो।

ऐतिहासिक महत्व र आकर्षण
दियालो बङ्गला, राजतन्त्रकालमा राजपरिवारले जाडो महिनामा समय बिताउने ठाउँका रूपमा परिचित, ऐतिहासिक महत्वले भरिपूर्ण छ। यस दरबारभित्र, पूर्वराजा महेन्द्र र राजा वीरेन्द्रका तस्बिर राखिएका छन्। भ¥याङमा राजा महेन्द्रले विसं २०२६ मा सिकार गरी मारेको घडियाल गोही सजाइएको छ।

दरबारमा पाँचवटा बेडरुम छन्। १ नम्बर बेडरुम मुमा रत्नराज्यको, २ नम्बर राजा महेन्द्रको, ३ नम्बर रानीको, र अन्य राजपरिवारका सदस्यका लागि छुट्याइएको छ। सबै कोठामा शौचालयको सुविधा छ।

दरबारसँगै महिला सुसारेका लागि ‘नानीगञ्ज’, राजाको सुरक्षाका लागि एडिसी क्वाटर, सवारीसाधन राख्न ग्यारेज, र पौडी पोखरीजस्ता संरचना रहेका छन्।

सर्वसाधारणका लागि खुला वातावरण
महानगर प्रमुख दाहालले लामो समयसम्म नेपाली सेनाको सुरक्षा अन्तर्गत रहेको यस दरबार क्षेत्रलाई सर्वसाधारणका लागि खुला गरिँदा अवलोकनकर्ताले यसका ऐतिहासिक संरचना र सामग्रीलाई नजिकबाट हेर्न पाउने वातावरण सिर्जना गरिएको बताउनुभयो।

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन महासङ्घको आग्रह

0

काठमाडौँ: सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने निर्णय कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घले सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ र आफ्ना सम्पूर्ण सदस्यलाई सहयोग गर्न आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार, ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ सरकारद्वारा पारित हुनु स्वागतयोग्य कदम हो। यस निर्देशिकाले स्वदेशी उत्पादन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै यो निर्देशिका जारी गरेको हो। यसको उद्देश्य स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आयात व्यवस्थापन गर्ने, र उत्पादित वस्तुको बजार प्रवर्द्धन सुनिश्चित गर्नु हो।

महासङ्घले सरकारको यो निर्णयको समर्थन गर्दै आफ्ना सदस्यहरूलाई नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको छ। यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनका साथै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास महासङ्घले व्यक्त गरेको छ।

डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता

0

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विभिन्न महत्त्वपूर्ण विषयमा टेलिफोन वार्ता भएको छ। ट्रम्पले आगामी जनवरी २० मा ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्नुअघि दुई नेताबीच यो कुराकानी भएको हो।

चीनको प्रतिनिधित्वमा हान झेङको अमेरिका भ्रमण
चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने तय भएको छ। यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

ट्रम्पको ‘ट्रुथ सोसल’ पोस्ट
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत सी जिनपिङसँगको कुराकानीबारे जानकारी दिएका छन्। उनले यो वार्तालाई दुवै देशका लागि सकारात्मक र उत्पादक भएको बताएका छन्।

ट्रम्पले पोस्टमा लेखे, “मलाई आशा छ कि हामी सँगै धेरै समस्याहरू समाधान गर्न सक्छौं र यो काम तुरुन्तै सुरु गर्नेछौं।” उनले व्यापार असन्तुलन, टिकटक, र अन्य द्विपक्षीय मुद्दाहरूमा गहन छलफल भएको उल्लेख गरेका छन्।

शान्ति र सुरक्षामा सहकार्य
वार्ताका क्रममा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग विश्वलाई शान्त र सुरक्षित बनाउन संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “राष्ट्रपति सी र म, हाम्रो सम्बन्धका माध्यमबाट, विश्वव्यापी शान्ति र स्थायित्वका लागि काम गर्नेछौं।”

दुई शक्तिशाली मुलुकबीच नयाँ अध्यायको सुरुवात
डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिका-चीन सम्बन्धमा नयाँ दिशा तय हुने अपेक्षा गरिएको छ। दुई नेताबीचको संवादले व्यापार, प्रविधि, र भू-राजनीतिमा देखिएका चुनौतीहरूको समाधानमा सहकार्यको मार्गप्रशस्त गर्न सक्ने विश्वास गरिएको छ।

अमेरिकामा डोनाल्ड ट्रम्पको शपथ ग्रहणको विरोध

0

काठमाडौं: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा ४७ औं राष्ट्रपति पदको सपथ ग्रहण गर्ने तयारी गरेका छन्। उनको सपथ ग्रहणलाई लिएर देशभर चासो र विरोध प्रदर्शन दुवै बढेको छ।

विरोध प्रदर्शन र ‘पिपल्स मार्च’
सपथ ग्रहणको मिति नजिकिँदै गर्दा देशका विभिन्न भागमा ट्रम्पविरुद्ध प्रदर्शन भइरहेका छन्। शनिबार मात्रै राजधानी वासिङ्टन डीसीमा गैरसरकारी संस्थाहरूको समूहले ‘पिपल्स मार्च’ आयोजना गर्दै ट्रम्पको नीतिविरुद्ध विरोध जनाएका छन्। प्रदर्शनकारीहरूले ट्रम्पबाहेक एलन मस्क र उनका निकट सहयोगीहरूको गतिविधिप्रति पनि विरोध जनाउँदै पोस्टर र ब्यानर प्रदर्शन गरेका थिए।

ट्रम्पको सपथ ग्रहणको विरोध नयाँ होइन। यसअघि, २०१७ मा पहिलो कार्यकालको सपथ ग्रहणको समयमा पनि यस्तै विरोध प्रदर्शन भएका थिए।

ट्रम्पको वासिङ्टन आगमन
सपथ ग्रहणका लागि ट्रम्प शनिबार फ्लोरिडाको वेस्ट पाम बीचबाट वायुसेनाको सी-३२ विमानमार्फत वासिङ्टन पुगेका छन्। यो उडानलाई ‘स्पेशल एयर मिशन ४७’ नाम दिइएको थियो, जसले ट्रम्पलाई अमेरिकाको ४७ औं राष्ट्रपति भएको संकेत गर्दछ। उनीसँगै उनकी श्रीमती मेलानिया ट्रम्प र छोरा ब्यारोन ट्रम्प पनि वासिङ्टन पुगेका छन्।

विशेष विमान उपलब्ध गराउने परम्पराअनुसार, यसपटक निवर्तमान राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई यो सुविधा प्रदान गरेका छन्। यो परम्पराले सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई प्रतिबिम्बित गर्दछ। तर, २०२१ मा ट्रम्पले बाइडेनलाई यस्तो व्यवस्था नगरेका कारण बाइडेनले निजी विमान प्रयोग गर्नुपरेको थियो।

सपथपछि कार्यकारी आदेशहरूको तयारी
डोनाल्ड ट्रम्पले सपथ ग्रहणपछि पहिलो दिनमै १०० भन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना बनाएका छन्। उनका सहयोगीहरूले यी आदेशहरू पहिले नै तयार गरेका छन्, जसलाई ओभल अफिसमा ट्रम्पको टेबलमा राखिनेछ।

ट्रम्पका योजनामा सामेल कार्यकारी आदेशहरूमध्ये प्रमुख रूपमा निम्न बुँदाहरू रहन सक्छन्:

मेक्सिको सीमा सिल गर्ने।
गैरकानुनी आप्रवासीहरूको देश निकाला।
ट्रान्सजेन्डर व्यक्तिहरूलाई महिला खेलकुदमा भाग लिन रोक लगाउने।
कार्यकारी आदेश भनेको राष्ट्रपतिको विशेषाधिकार अन्तर्गत जारी हुने कानूनी आदेश हो, जसका लागि कांग्रेसको स्वीकृति आवश्यक पर्दैन। यद्यपि, यस्ता आदेशहरूलाई अदालतमा चुनौती दिन सकिन्छ।

सत्तारोहणसँगै नयाँ अध्याय
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल कडा नीति र विवादास्पद निर्णयले भरिने अपेक्षा गरिएको छ। यसले अमेरिकी समाज र राजनीतिमा थप ध्रुवीकरण ल्याउने संकेत देखिन्छ।

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी

0

काठमाडौं: भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध केरला औषधि नियन्त्रण विभागले पक्राउ पूर्जी जारी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, औषधि ऐन उल्लङ्घन गरेको आरोपमा केरला औषधि नियन्त्रण विभागले उनीहरूमाथि मुद्दा दायर गरेको छ। आरोपअनुसार, औषधि र जादुमय उपचारसम्बन्धी अपत्तिजनक विज्ञापन ऐन, १९५४ को उल्लङ्घन गरिएको छ।

यो ऐनले औषधि वा उपचारका चामत्कारिक लाभका भ्रामक दाबी गर्न प्रतिबन्ध लगाउँछ। अदालतले रामदेवलाई पेशीमा उपस्थित हुन निर्देशन दिए पनि उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो।

सार्वजनिक स्वास्थ्यसँग जोडिएका यस्ता ठूला संस्थाहरूको गतिविधिलाई गम्भीर रूपमा लिएर अदालतले मुद्दा अघि बढाएको छ। पतञ्जली आयुर्वेदका मुख्य अनुहारका रूपमा बाबा रामदेव र आचार्य बालकृष्णले उत्पादन प्रचारमा देखाएको जिम्मेवारीबारे यो मुद्दाले थप प्रश्न उठाएको छ।

यस कानुनी प्रक्रियाले स्वास्थ्यसम्बन्धी उत्पादनहरूको प्रचारप्रति निगरानी कडा बनाउने र उल्लङ्घनको कार्यान्वयनमा थप प्रभावकारी उपायहरू ल्याउने अपेक्षा गरिएको छ।

इजरायलले हमासद्वारा अपहरित ३३ बन्धकहरूको नाम सार्वजनिक गर्दा विपिन जोशी परेनन्

0

काठमाडौं। इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको बताइएको छ।

सार्वजनिक सूचीमा सबैभन्दा कान्छा नौ महिनाका कफिर बिबास र सबैभन्दा वृद्ध ८६ वर्षका श्लोमो मान्जुर समावेश छन्। यी बन्धकहरूलाई हमासले २०२३ अक्टोबर ७ मा अपहरण गरेको थियो।

सूचीअनुसार, उनीहरू पहिलो चरणमै रिहा हुने बन्धकहरूमा पर्ने दाबी गरिएको छ।

इजरायलले हालै युद्धविरामको घोषणा गरेको थियो, जुन आइतबारदेखि लागू हुने जनाइएको छ।

हमासद्वारा अपहरित बन्धकहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम भने समावेश भएको छैन।

स्वास्थ्य बीमा सुधारमा प्रधानमन्त्री ओलीको चासो, कार्ययोजना बनाउन निर्देशन

0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधारका लागि सुझाव कार्यदलको प्रतिवेदनका आधारमा छिटो कार्ययोजना तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।

आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा कार्यदलको प्रतिवेदनबारे ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यलाई ध्यानमा राखेर नागरिकलाई सूशिक्षित बनाउनुका साथै उपचार खर्च अभावमा कुनै पनि बिरामीले सेवाबाट वञ्चित हुन नदिन आवश्यक कदम चाल्नुपर्ने बताए।

प्रधानमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउँदै सुधारका लागि एक साताभित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कार्यदल संयोजक डा. शम्भु आचार्य, सदस्य डा. भगवान कोइराला, डा. रघुराम काफ्ले, र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्रीलाई स्वास्थ्य बीमा कार्यक्रमका नीतिगत, कानुनी, र संरचनागत सुधार आवश्यक रहेको जानकारी गराएका थिए।

कार्यदलका अनुसार हाल स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यो कार्यक्रममा कुल जनसंख्याको २७ प्रतिशत नागरिक सहभागी छन्, जसमा ४८ प्रतिशतले सेवा लिएका छन्। सबै नागरिकलाई अनिवार्य सहभागी गराउने र गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने सुझाव कार्यदलले दिएको छ।

त्यसैगरी, आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषहरूसँग स्वास्थ्य बीमा कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा पनि कार्यदलले जोड दिएको छ। कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।