काठमाडौँ: हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहे पनि अधिकांश स्थानमा मौसम सफा रहनेछ।
महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ, जबकि बाँकी भागमा मौसम सफा रहनेछ। साथै, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि हुन सक्छ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, केही पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।











