काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार गठन गरिएको मन्त्रिमण्डल योग्यता र समावेशिताका आधारमा बनाइएको पाइएको छ।
नवनियुक्त मन्त्रीहरूमध्ये दुई जनाले विद्यावारिधि (PhD) तहसम्म अध्ययन गरेका छन्। १० जनाले स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने तीन जनाले स्नातक तहसम्म अध्ययन गरेका छन्। एक जनाको भने उच्च माध्यमिक (ए-लेभल) सरहको शैक्षिक योग्यता रहेको छ।
प्रधानमन्त्री बालेनले इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। दोस्रो वरीयतामा अर्थमन्त्री बनेका स्वर्णिम वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन्।
तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङले ए-लेभल गरेका छन्, जुन उच्च माध्यमिक तहसरह हो। चौथो वरीयतामा परराष्ट्रमन्त्री बनेका शिशिर खनालले युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्सालले काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्नातक तहसम्म अध्ययन गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क पौडेल (गनेश) ले औपचारिक रूपमा आफ्नो शैक्षिक विवरण सार्वजनिक नगरे पनि अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेको जनाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ विश्वविद्यालयबाट स्नातक गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले नर्सिङमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी दुवैले कानुनमा स्नातकोत्तर गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहले बेलायतको लन्डन स्कुल अफ हाइजिनबाट स्नातकोत्तर गरेका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले पनि स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेकी छन्।
