काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा सच्चा राष्ट्र निर्माण र राष्ट्रिय एकताको आधार सांस्कृतिक विविधताको सम्मान र संरक्षणमा रहेको बताएका छन्।
२५६९औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, “इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो।”
उनका अनुसार बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी क्षण हो।
“शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु,” उनले भने।
अध्यक्ष दाहालले गौतम बुद्धले करुणा, अहिंसा र मध्यम मार्गको शिक्षामार्फत तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गरेको उल्लेख गरे।
“बुद्धले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ,” उनले भने, “क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन्। बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ।”
















