काठमाडौं: भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि शनिबार युद्धविरामको घोषणा गरिएको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आइतबार टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा पाकिस्तान युद्धविरामको प्रतिबद्धतामा कायम रहने बताएका छन्। साथै उनले कश्मीर, सिन्धु जल सन्धि र आतंकवादजस्ता महत्त्वपूर्ण विषयहरू भारतसँगको छलफलको केन्द्रबिन्दु बन्न सक्ने संकेत गरेका छन्।
रक्षामन्त्री आसिफले भने, “यी तीनवटा मुद्दा अत्यन्त संवेदनशील र दीर्घकालीन छन्, जसमा संवादको खाँचो छ। हामी युद्धविरामलाई इमानदारीपूर्वक पालना गर्नेछौं।” उनले यी विषयमा विगतमा पनि थुप्रैपटक वार्ता भएको तर ठोस उपलब्धि हासिल हुन नसकेको स्मरण गराए।
उनको यो टिप्पणी त्यस्तो समय आएको हो जब भारत र पाकिस्तान दुबै देशले जमिन, वायु र समुद्री क्षेत्रमा सबै प्रकारका सैन्य कारबाही तुरुन्त स्थगन गर्न सहमति जनाएका छन्। पाकिस्तानले यसलाई ‘युद्धविराम सम्झौता’ भनेको छ भने भारतले ‘आपसी समझदारी’ को रुपमा व्याख्या गरेको छ।
आसिफले यो युद्धविराम दिगो शान्तितर्फको प्रारम्भिक चरण हुनसक्ने बताएका छन्। “यदि दुवै पक्षले प्रतिबद्धता देखाए भने यसलाई सकारात्मक मोडमा लग्न सकिन्छ,” उनले भने। तर, परिस्थितिलाई मूल्यांकन गर्न अझै समय लाग्ने पनि उनको भनाइ छ।
उनले वर्तमान तनाव कम गर्न अन्तर्राष्ट्रिय कूटनीतिक पहलहरूको समेत प्रशंसा गरेका छन्। विशेषगरी चीन, टर्की, अजरबैजान र खाडी मुलुकहरूले सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरेका छन्।
यसैबीच, भारत सरकारबाट युद्धविराम सम्बन्धी विस्तृत धारणा सार्वजनिक गरिएको छैन, तर भारतीय सञ्चारमाध्यमहरूले सुरक्षा संयमता बढाइएको र स्थायित्वका लागि ‘पर्ख र हेर’ नीतिमा सरकार अघि बढिरहेको जनाएका छन्।
पारस्परिक युद्धविरामको यो सहमति दुई देशबीच सम्भावित संवादको ढोका खोल्ने प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।


