Thursday, July 2, 2026
Home Blog Page 475

क्रिकेटर सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नबस्ने

0

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गर्नुभएको छ।

उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस प्रकाशित गर्दै आफू अब क्यानको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय लिएको जानकारी दिनुभएको हो। यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढिने कदमका रूपमा नलिएर व्यक्तिगत र पेशागत विकासतर्फको पाइलोको रूपमा लिन आग्रह गर्नुभएको छ।

सन्दीपले लेख्नुभएको छ, “यो छुट्टिने निर्णय होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो।”

उहाँले क्यानप्रति आभार प्रकट गर्दै आफ्ना अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने प्रतिबद्धता जनाउनुभयो। “मेरो क्रिकेटप्रतिको प्रेम र राष्ट्रिय टोलीप्रतिको निष्ठा कहिल्यै कम हुनेछैन। म उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु,” उहाँले लेख्नुभएको छ।

यस विषयमा सन्दीपले पहिले नै संघलाई जानकारी गराइसकेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। उहाँका अनुसार सन्दीपको निर्णयबारे संघले छिट्टै बैठक गरी आवश्यक निर्णय सार्वजनिक गर्नेछ।

सन्दीप क्यानको केन्द्रीय सम्झौताअन्तर्गत ‘ए’ श्रेणीमा रहेका खेलाडी हुन्। सो श्रेणीका खेलाडीले क्यानबाट मासिक एक लाख रुपैयाँ पारिश्रमिक पाउने गर्छन्।

लगानीमैत्री वातावरण बनाइदिन सरकारलाई एनआरएनए अध्यक्ष केसीको आग्रह

0

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले सरकारले गैरआवासीय नेपाली (एनआरएन) का लागि लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ मा अध्यक्ष केसीले नेपालको आर्थिक समृद्धिमा एनआरएनको योगदान उल्लेखनीय हुन सक्ने भए पनि हालसम्म लगानीका लागि सहज वातावरण नबनिएको गुनासो गर्नुभयो।

“समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छौं, तर हाम्रा मागहरू सम्बोधन गर्न राज्य तयार हुनुपर्छ,” अध्यक्ष केसीले भन्नुभयो, “आर्थिक, राजनीतिक र सामाजिक अधिकारका विषयमा उठाइएका मागहरू पुरा गर्न राज्यले सहयोग गर्नुपर्छ। यदि लगानीमैत्री वातावरण बनाइयो भने गैरआवासीय नेपालीहरूले स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्छन्।”

साथै, उहाँले गैरआवासीय नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने प्रक्रिया सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गर्नुभयो।

कार्यक्रममा एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीहरूले सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै, “एनआरएनएमा देखा परेका विविध चुनौतीहरूको समाधान भएमा त्यो योगदान अझै सशक्त बन्नेछ,” भन्नुभयो।

“हामीले उठाएका मागहरू अझै पनि छायाँमै छन्,” उपाध्यक्ष राईले थप भनिन्, “यी मागहरू कार्यान्वयनका लागि सरकारसँग आग्रह गर्दछु। आर्थिक विकासका साथै अन्य विषयमा ग्लोबल कन्क्लेभमा गहिरो छलफल हुनेछ।”

त्यसैगरी, उपाध्यक्ष टीबी कार्कीले संघभित्र पराजित समूहबाट भइरहेको अनावश्यक विरोधका कारण समस्या उत्पन्न भइरहेको टिप्पणी गर्नुभयो।

वैदेशिक रोजगारीमा ठगिएका तनहुँका २४ सर्वसाधारणको ५४ लाख फिर्ता

0

दमौली (तनहुँ): वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका तनहुँका २४ जनाले रु ५४ लाख दुई हजार फिर्ता पाएका छन्। जिल्ला प्रशासन कार्यालय अन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा उनीहरूलाई रकम फिर्ता दिलाइएको हो।

सामी परियोजनाका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म केन्द्रमा १०४ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये २४ वटा उजुरीको फछ्र्योट गरी पीडितलाई रकम फिर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले जानकारी दिनुभयो। बाँकी ८० वटा उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको छ।

परियोजनाले हालसम्म १० हजार २६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श प्रदान गरेको छ। परामर्श लिनेमा ६,४०७ जना पुरुष र ३,६१९ जना महिला रहेका छन्।

साथै, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवार तथा दुर्घटनामा परेका व्यक्तिहरूलाई बीमा बापत रु ४ करोड २१ लाख १९ हजार २५६ वितरण गरिएको भण्डारीले जानकारी दिनुभयो।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सन् २०१९ डिसेम्बर १६ (वि.सं. २०७६ मंसिर १) देखि तनहुँमा सामी परियोजना सञ्चालनमा रहेको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

0

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भारत–पाकिस्तानबीचको हालको तनावबारे प्रतिक्रिया दिँदै देशप्रति आफ्नो समर्थन व्यक्त गरेका छन्। उनले भनेका छन्, “देश पनि मेरो हो र सेना पनि मेरो हो।”

सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मा उनले लेखेका छन्, “भारतसँगको पछिल्लो तनावले फेरि एकपटक प्रमाणित गर्‍यो कि पाकिस्तान एक साहसी राष्ट्र हो।”

इमरान खानले दाबी गरे, “हाम्रा सैनिकहरूले सीमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पराजित गरेजस्तै, पाकिस्तानी जनताले विशेषतः सामाजिक सञ्जालमार्फत विश्वभर मोदी र आरएसएसको कथावाचनलाई असफल पारे।”

एक विज्ञप्तिमा उनले आरोप लगाए, “मोदी सरकारले पाकिस्तानमा बालबालिका, महिला, वृद्धवृद्धा र नागरिक प्रतिष्ठानहरूलाई लक्षित गर्दै कायरता प्रदर्शन गर्‍यो, जसको जवाफ पाकिस्तानी सेनाले पूर्ण शक्ति र सटीकताका साथ दिएको छ।”

बीबीसी उर्दूका अनुसार, इमरान खानले चेतावनी स्वरूप भनेका छन्, “मोदीले पाकिस्तानलाई आर्थिक रूपमा पनि क्षति पुर्‍याउने प्रयास गर्नेछन्। यस्तो अवस्थामा देशले एकताबद्ध र तयार रहन आवश्यक छ।”

डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमणमा रहेका बेला हुथी विद्रोहीको आक्रमण

0

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले बुधबार इजरायलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका छन्। इजरायली रक्षा बल (आइडीएफ) का अनुसार, उक्त मिसाइललाई हावामै खसालिएको थियो र यसले कुनै क्षति पुर्‍याएको छैन।

आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणको क्रममा भएको हो। इजरायली मिडियाका अनुसार, क्षेप्यास्त्र प्रहारपछि जेरुसेलम र वेस्ट बैंकका विभिन्न स्थानहरूमा साइरन बज्न थालेका थिए, जसले जनतालाई सतर्क रहन संकेत दिएको थियो।

हुथी विद्रोहीहरूको आक्रमणपछि आइडीएफले यमनका तीन हुथी नियन्त्रित बन्दरगाहमा रहेका नागरिकहरूलाई सम्भावित हवाई आक्रमणको चेतावनी दिएको छ। आइडीएफका अरबी भाषा प्रवक्ता कर्नेल अभिचाई अद्राईले आइतबार रास इसा, होदेइदा र सलिफ बन्दरगाह क्षेत्रका नागरिकलाई अर्को सूचना नभएसम्म त्यहाँबाट टाढा रहन आग्रह गरेका थिए।

प्रारम्भिक चेतावनी जारी भएदेखि हुथी विद्रोहीहरूले इजरायलमाथि पटक–पटक क्षेप्यास्त्र प्रहार गरेका छन्। तर हालसम्म आइडीएफले प्रतिआक्रमण सुरु गरेको छैन।

सर्वोच्चले सरकारलाई सोध्यो- रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण

0

काठमाडौं:सर्वोच्च अदालतले सरकारसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कानुनी आधार के हो भनेर स्पष्टीकरण मागेको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मिश्रलाई थुनामा राखिएको कारण देखाउँदै उनलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

मंगलबार मिश्रकी श्रीमती सरिका कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी थिइन्।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्थाको समर्थनमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो।

कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश

0

काठमाडौं: स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सांसद राई कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा सदस्य र सहसचिवका रूपमा कार्यरत रहँदा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानमा देखिएको छ। मंगलबार सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ३७ लाख ३५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

स्मरण रहोस्, उक्त सहकारी ठगी प्रकरणमा संलग्न आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई भने अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

नेपाल एयरलाइन्सका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा

0

काठमाडौँ: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुईवटा ट्वीनअटर विमान आन्तरिक तर्फका नियमित उडानमा पुनः सञ्चालनमा आएका छन्।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार ‘कलसाइन नाइन एन–एबिटी’ र ‘नाइन एन–एबीयु’ दुवै ट्वीनअटर विमान अब पूर्ण रूपमा सञ्चालनमा छन्। लामो समयदेखि ग्राउन्ड गरिएको अवस्थामा रहेका यी विमानहरू पुनः सेवा पुनः सञ्चालनमा आउनु दुर्गम क्षेत्रका यात्रुहरूका लागि राहतको विषय बनेको छ।

प्रवक्ता डाँगीका अनुसार दुवै विमानमा नियामक निकाय तथा निर्माताको मापदण्डअनुसार आवश्यक मर्मत–सम्भार सम्पन्न गरिएको छ भने दुबैमा नयाँ इञ्जिनसमेत जडान गरिएको छ। आवश्यक नियामकीय परीक्षण सम्पन्न भएपछि वैशाख २९ गतेदेखि यी विमानहरू नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएका हुन्।

निगमले यो पुनः सञ्चालनले दुर्गम क्षेत्रका नागरिकलाई सहज, सुलभ र मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि गर्ने विश्वास व्यक्त गरेको छ। जारी विज्ञप्तिमा निगमले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहने उल्लेख गरिएको छ।

प्रवक्ता डाँगीले हरेक दिन कम्तीमा एक ट्वीनअटर विमानबाट चार उडान सञ्चालन गर्ने लक्ष्यसहित नयाँ तालिका तयार पारिएको र आन्तरिक उडानलाई थप प्रभावकारी बनाइने जानकारी पनि दिए।

सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही

0

काठमाडौँ: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमार्फत नेपालमा जलवायु परिवर्तनका कारण परेको असर र जनताले भोगिरहेका समस्याप्रति विश्व समुदायको ध्यानाकर्षण गराइने बताएका छन्।

नेपाल सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दैछ। सो संवादमा हिमालदेखि समुद्री टापुसम्म जलवायु परिवर्तनले पारेको प्रभावबारे साझा धारणा बनाइ अघि बढ्ने सरकारको योजना रहेको उनले जानकारी दिए।

मन्त्री शाहीले हालै सोलुखुम्बुको थामेमा आयोजना गरिएको जलवायुसम्बन्धी कार्यक्रममा सहभागी संस्थाले प्रस्तुत गरेको प्रतिवेदन बुझ्दै, थामे क्षेत्रमा बाढीबाट भएको क्षति र पछिल्लो अवस्थाबारे स्थलगत अध्ययन गरेकामा धन्यवाद व्यक्त गरे। उनले ती सुझावहरू सगरमाथा संवादमा समावेश गरी छलफल गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले थामे क्षेत्रका बासिन्दाले जलवायु परिवर्तनका कारण भोगेका असर र अनुभवहरू प्रस्तुत गरिन्।

यसै अवसरमा साथसाथै न्यूज डटकम का प्रधानसम्पादक तथा अन्तरराष्ट्रिय पत्रकार महासंघका कार्यकारी सदस्य बद्री सिग्देलले, हिमाली मुलुक नेपालमा जलवायु परिवर्तनको असर तुलनात्मक रूपमा गम्भीर रहेको भन्दै, जलवायुजन्य क्षतिको क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा प्रभावकारी रूपमा दाबी गर्नुपर्ने धारणा राखे।

आजको मौसम : पहाडमा बदली, कतै वर्षा र हिमपात, कतै तापक्रम वृद्धि

0

काठमाडौं: हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी भू-भागमा भने मौसम प्रायः सफा देखिएको छ।

वर्षा र तापक्रमको अवस्था:
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागमा अधिकतम तापक्रममा वृद्धि देखिएको छ।

दिउँसोको पूर्वानुमान:
कोशीसहित देशको अधिकांश पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा थोरै स्थानहरूमा, र अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

रातिको पूर्वानुमान:
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ, जबकि बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा देखिनेछ। यी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना यथावत छ।

विशेष सतर्कता:
तराईका भू-भाग विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। तापक्रममा वृद्धि, वर्षा, हिमपात र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक तयारी तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।