Thursday, May 7, 2026
Home Blog Page 43

सर्लाहीमा अवैध क्रसर उद्योग बन्द: प्रशासनद्वारा कडा कारबाही

0

सर्लाही । सत्ताको आडमा वर्षौंदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार दिउँसो प्रशासनले उक्त उद्योग बन्द गराएको हो।

देशभर अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। कानुन र मापदण्ड विपरीत दर्ता नभएका, नवीकरण नगरेका तथा अनुमति नलिई सञ्चालन भइरहेका ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन कार्यमा संलग्न उद्योगहरू तत्काल बन्द गर्न परिपत्र जारी गरिएको थियो। सोही निर्देशनअनुसार सर्लाहीमा पनि प्रहरी टोली खटिएर उद्योग बन्द गरिएको हो।

सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार उक्त क्रसर उद्योग अवैध रूपमा सञ्चालन भइरहेको पाइएकाले बन्द गराइएको हो।

यसअघि पनि प्रशासनले पटक–पटक अनुगमन गरी उद्योग बन्द गराए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो। गत वर्ष बन्द गराइएपछि उद्योग सञ्चालकले राति क्रसर चलाउने र दिउँसो बन्द राख्ने गरेको पाइएको थियो।

यसपटक भने उद्योग पुनः सञ्चालन हुन नदिन विद्युत् लाइन नै काटिएको जनाइएको छ। बस्ती नजिक सञ्चालनमा रहेको उक्त उद्योगबाट निस्कने धुलो र प्रदूषणका कारण स्थानीयवासी प्रभावित हुँदै आएका थिए। साथै, नजिकै रहेको एक विद्यालयसमेत लामो समयदेखि प्रभावित भई बन्दजस्तै अवस्थामा पुगेको स्थानीयले बताएका छन्।

रौतहटमा एसइई तयारी अन्तिम चरणमा: १० हजार बढी विद्यार्थी सहभागी हुने

0

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ का लागि रौतहट जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ। शिक्षा विकास तथा समन्वय इकाई रौतहटका अनुसार यस वर्ष जिल्लाभरबाट कुल १० हजार ८८ जना परीक्षार्थी सहभागी हुनेछन्।

परीक्षार्थीमध्ये ५ हजार २७१ छात्र र ४ हजार ८१७ छात्रा रहेका छन्। साधारण धारसँगै प्राविधिकतर्फ २४९ जना र ग्रेड वृद्धितर्फ २४५ जना विद्यार्थीले परीक्षा दिनेछन्। जिल्लाका १३० वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्, जसमा १०२ सामुदायिक, २० संस्थागत (निजी) र ८ प्राविधिक विद्यालय रहेका छन्।

परीक्षालाई व्यवस्थित बनाउन जिल्लाभर ३९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा सञ्चालनका लागि ३९ जना केन्द्राध्यक्ष खटाउने तयारी पूरा भएको छ। शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख उपेन्द्र सिंहका अनुसार सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा अन्य कर्मचारीहरूको व्यवस्थापन पनि भइसकेको छ।

परीक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। परीक्षा मर्यादा विपरीत कार्य गर्ने, चिट चोर्ने वा अन्य अवाञ्छित गतिविधिमा संलग्न हुनेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

‘हामी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन प्रतिबद्ध छौँ,’ सिंहले भने, ‘परीक्षा केन्द्रमा मोबाइल फोन निषेध गरिनेछ र निगरानीका लागि विशेष टोली परिचालन गरिनेछ।’

चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने परीक्षालाई सफल बनाउन अभिभावक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहयोग आवश्यक रहेको इकाईले जनाएको छ। साथै विद्यार्थीहरूलाई शान्त र सुरक्षित वातावरणमा परीक्षा दिन सहयोग गर्न जिल्ला परीक्षा समन्वय समितिले आग्रह गरेको छ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षा प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रयास गरिएको कार्यालयले जनाएको छ।

प्रहरी पोसाक स्वदेशमै उत्पादन गर्ने तयारी, गाउँमा उद्योग स्थापना गरिने

0

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गर्ने योजना अघि सारिएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री स्थापना गरिने र उक्त उद्योग सहरभन्दा बाहिर ग्रामीण क्षेत्रमा राखिने जानकारी दिए। यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै स्वदेशी उत्पादन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

मन्त्री गुरुङका अनुसार देशमै पोसाक उत्पादन गर्दा उद्योग विकासमा टेवा पुग्ने, आवश्यक सामग्री समयमै उपलब्ध हुने र आयातमा निर्भरता घट्नेछ।

यससँगै उनले प्रहरी कर्मचारीहरूको पोषण र कार्य अवस्थाबारे पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गरे। दिनरात खट्नुपर्ने भएकाले उनीहरूको पोषण, सुविधा र कार्यपरिस्थितिमा सुधार गर्नुपर्नेमा उनले जोड दिए।

उनले यस विषयमा आफूले पहिलेदेखि नै पहल गर्दै आएको र सम्बन्धित फाइल मन्त्रालयबाट अघि बढिसकेको जानकारी दिँदै अब कार्यान्वयन चरणमा लैजान तयारी भइरहेको बताए।

देशभर आंशिक बदली: पहाडी क्षेत्रमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

0

काठमाडौं । हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेशलगायत पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

मध्यस्थता बैठकका क्रममा लड्दा इशाक दारको काँधमा फ्र्याक्चर

0

काठमाडौं । इरान–इजरायल–अमेरिका द्वन्द्वमा मध्यस्थता गरिरहेका पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार घाइते भएका छन्। इस्लामाबादमा आयोजित एक उच्चस्तरीय बैठकका क्रममा लड्दा उनको काँधमा फ्र्याक्चर भएको जनाइएको छ।

घटना आइतबार पाकिस्तानको विदेश मन्त्रालय परिसरमा भएको हो। इशाक दार इजिप्टका विदेशमन्त्रीलाई स्वागत गर्ने क्रममा रातो कार्पेटमा हिंड्दै गर्दा चिप्लिएर लडेका थिए। सो क्रममा उनको काँध र खुट्टामा चोट लागेको बताइएको छ।

उनका छोरा अली दारले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै काँधमा ‘हेयरलाइन फ्र्याक्चर’ भएको बताएका छन्। चोटका बाबजुद पनि इशाक दारले दिनभर दुखाइ कम गर्ने औषधि सेवन गर्दै सबै महत्वपूर्ण बैठकमा सहभागिता जनाएको उनले उल्लेख गरेका छन्।

हेयरलाइन फ्र्याक्चर हड्डीमा देखिने सानो चिरा हो, जसले हड्डीलाई पूर्ण रूपमा भाँच्दैन तर उचित उपचार नभए गम्भीर बन्न सक्छ। यस्तो चोट निको हुन सामान्यतया ४ देखि ८ हप्तासम्म लाग्ने चिकित्सकहरूले बताएका छन्।

उक्त बैठकमा पाकिस्तान, साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरू सहभागी थिए। यो बैठक इरानसँगको द्वन्द्व कम गर्ने उद्देश्यले गरिएको क्षेत्रीय कूटनीतिक प्रयासको हिस्सा हो।

इरान युद्धमा तटस्थ रहेको दाबी गर्दै पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। इस्लामाबादले अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता सहज बनाउन सन्देश आदानप्रदानको काम गरिरहेको बताइएको छ। साथै, पाकिस्तानले अमेरिकाको प्रस्ताव इरानसमक्ष राख्दै वार्ता प्रक्रियालाई अघि बढाउने प्रयास गरिरहेको छ।

भानुआटु नजिक ७.३ म्याग्निच्युडको भूकम्प, ठूलो क्षतिको जोखिम कम

0

सिड्नी । प्रशान्त महासागरस्थित द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम न्यून देखिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय रूपमा मध्यम कम्पन महसुस गराएको छ।

भूकम्पको केन्द्र भानुआटुको दोस्रो ठूलो सहर लुगानभिलबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा रहेको जनाइएको छ। प्रारम्भिक रूपमा ७.२ म्याग्निच्युड आँकलन गरिएको भूकम्पको परिमाण पछि बढाएर ७.३ निर्धारण गरिएको हो।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ, जसले तटीय क्षेत्रमा सम्भावित जोखिम घटाएको छ।

यूएसजिएसका अनुसार भूकम्पको गहिराइ करिब ११५.८ किलोमिटर रहेको छ। गहिराइ बढी भएकाले सतहमा ठूलो विनाश हुने सम्भावना कम भएको बताइएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो मानवीय क्षति वा आर्थिक नोक्सानी भएको संकेत देखिएको छैन।

भानुआटु भूकम्पीय रूपमा सक्रिय ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यस्ता कम्पनहरू यहाँ सामान्य मानिन्छन्। करिब ३ लाख २० हजार जनसंख्या रहेको यस द्वीपसमूहमा समय–समयमा शक्तिशाली भूकम्पहरू आउने गरेका छन्।

गत महिना पनि एस्पिरिटु सान्टो टापु नजिक ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसले स्थानीय बासिन्दामा त्रास उत्पन्न गरे पनि उल्लेखनीय क्षति पुर्‍याएको थिएन। यसपटकको भूकम्प पनि तुलनात्मक रूपमा कम जोखिमपूर्ण देखिएको छ, यद्यपि निगरानी जारी राखिएको छ।

चैत १९ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

0

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार बिहीबार दिउँसो २ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको हो।

संविधान संशोधनका लागि कार्यदल गठन: असिम शाहको नेतृत्वमा बहसपत्र तयार गरिने

0

काठमाडौं । सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा उक्त कार्यदल गठन गरिने भएको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार संविधान संशोधन प्रक्रियालाई अघि बढाउन बहसपत्र तयार गर्ने निर्णय गरेको हो। उनले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहने बताए।

कार्यदलको अध्यक्षमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नियुक्त भएका छन्। प्रतिनिधि सभाका पूर्वसांसदसमेत रहेका शाहको नेतृत्वमा बन्ने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सहभागी हुनेछन्।

प्रवक्ता पोखरेलका अनुसार कार्यदलले राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्नेछ।

एकान्तकुनामा ‘स्विप अप्रेसन’: विचौलियाको आरोपमा १५ जना पक्राउ

0

काठमाडौँ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ललितपुर प्रहरीले जारी गरेको सूचनाअनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गतिविधि देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डा. सुभाष आचार्य महान्यायाधिवक्ता बन्ने तयारीमा

0

काठमाडौँ । फौजदारी कानुनका विज्ञ तथा अदालत अभ्यासमा अब्बल मानिएका अधिवक्ता डा. सुभाष आचार्यलाई बालेन नेतृत्वको सरकारको महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

डा. आचार्यले नेपालका चर्चित फौजदारी मुद्दाहरूमा प्रभावकारी पैरवी गर्दै आफ्नो व्यावसायिक दक्षता प्रमाणित गरेका छन्। अदालतमा तार्किक प्रस्तुति, सुसंगत कानुनी विश्लेषण तथा सन्तुलित दृष्टिकोणका कारण उनी सक्षम कानुन व्यवसायीका रूपमा चिनिन्छन्।

उनले नेपाली सेना तथा नेपाल प्रहरीमा कानुनी सल्लाहकारको रूपमा समेत काम गरिसकेका छन्। सुरक्षा निकायसँगको अनुभवले उनको प्रशासनिक तथा संस्थागत कानुनी समझलाई थप परिपक्व बनाएको मानिन्छ, जसलाई महान्यायाधिवक्ताको जिम्मेवारीका लागि उपयुक्त आधारका रूपमा लिइएको छ।

डा. आचार्य लामो समयदेखि फौजदारी कानुनको अध्यापनमा संलग्न छन् र यस क्षेत्रसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित गरिसकेका छन्। फौजदारी न्याय प्रणाली, न्यायिक व्याख्या तथा विधिशास्त्रसम्बन्धी अनुसन्धान र लेखनमार्फत उनले कानुनी क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

यस विषयमा प्रतिक्रिया माग्दा उनले सरकारले उपयुक्त निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। औपचारिक निर्णयअघि टिप्पणी गर्नु उचित नहुने पनि उनको भनाइ छ।

डा. आचार्यले त्रिभुवन विश्वविद्यालयबाट “Judicial Limitations on the Interpretation of Criminal Statutes” विषयमा विद्यावारिधि प्राप्त गरेका छन्। उनी प्रबल जनसेवा श्री, नेपाल विद्याभूषण पदक ‘ख’ तथा उत्कृष्ट कानुनी अंग्रेजी लेखन पुरस्कारबाट सम्मानित भइसकेका छन्।