काठमाडौं । सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनमा ल्याइँदैछ। यसअन्तर्गत एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन गरिने भएको छ।
कार्यसूचीअनुसार गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय समिति गठन गरिनेछ। उक्त समितिले घटनासम्बन्धी विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयभित्र प्रतिवेदन पेस गर्नेछ।
भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिनेछ। समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञहरू सहभागी हुनेछन् र यसले सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन तथा विश्लेषण गर्नेछ।
पहिलो चरणमा २०६२–६३ देखि २०८२–८३ सम्मका उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिनेछ भने दोस्रो चरणमा २०४८ देखि २०६१–६२ सम्मको अवधि समेटिनेछ।
यसैगरी, अनुत्पादक तथा दोहोरो कार्यक्षेत्र भएका संस्था, बोर्ड र आयोजनाहरूको मूल्यांकन गरी खारेज, एकीकरण वा पुनर्संरचना गर्न उच्चस्तरीय कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ।
रुग्ण आयोजना र ठेक्का तोडिएका परियोजनाको समस्या समाधान गर्न ३० दिनभित्र अध्ययन टोली गठन गरिनेछ। टोलीले आयोजनाको औचित्य र सम्भाव्यता मूल्यांकन गरी आवश्यक सिफारिस गर्नेछ।
लगानी बोर्ड नेपाल, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र उद्योग विभागबीच रहेको कार्य दोहोरोपन अन्त्य गर्न पनि एकीकृत संरचनाको प्रस्ताव तयार गर्न कार्यदल गठन गरिनेछ। यसले एकल विन्दु सेवा प्रणालीमार्फत लगानी र उद्योग प्रवर्द्धनलाई सुदृढ गर्ने रोडम्याप तयार गर्नेछ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न परराष्ट्र मन्त्रालयको संयोजकत्वमा अन्तर-मन्त्रालय कार्यदल गठन गरिनेछ। यसले विशेषगरी मध्यपूर्वको परिस्थितिले नेपालमा पार्न सक्ने आर्थिक, श्रम तथा आपूर्ति प्रभावबारे अध्ययन गर्नेछ।
त्यस्तै, संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले सात दिनभित्र ‘संविधान संशोधन बहसपत्र’ तयार गर्नेछ।