काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मंगलबार ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि संवैधानिक व्यवस्थाअनुसार वरिष्ठतम न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको भूमिका सम्हालेकी हुन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।
मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। पहिलो संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता समेत रहेकी उनले करिब एक दशकको सेवाकालमा लैंगिक न्याय, घरेलु हिंसा र संवैधानिक मुद्दाहरूमा महत्वपूर्ण नजिर स्थापित गरेकी छन्।
यसैबीच, न्यायपरिषदले गत महिना प्रधानन्यायाधीश पदका लागि योग्य ठहरिएका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नामावली संवैधानिक परिषदमा पठाएको थियो। उक्त सूचीमा सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन्।
संविधानअनुसार प्रधानन्यायाधीश बन्नका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशको अनुभव भएको र उमेर ६५ वर्ष ननाघेको हुनुपर्छ।
प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अघि नै संवैधानिक परिषदले नयाँ नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि परिषद पूर्ण नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन।
सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलको नेताको पद रिक्त रहेका कारण परिषद अपूर्ण रहेको हो। प्रतिनिधिसभा विघटन र त्यसपछिको निर्वाचन प्रक्रियाका कारण पनि यो ढिलाइ भएको बताइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ संसद गठन भइसकेको छ भने संघीय संसदको अधिवेशन आगामी १९ गतेका लागि बोलाइएको छ। अधिवेशनपछि सभामुख, उपसभामुख तथा प्रमुख विपक्षी दलको नेता चयन भएपछि मात्र संवैधानिक परिषदले पूर्णता पाउनेछ।
परिषद पूर्ण भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढ्नेछ। त्यसपछि संयुक्त संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भई अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुनेछ।











