Thursday, June 18, 2026
Home Blog Page 32

डेढ महिनामा अर्थमन्त्री स्वर्णिम वाग्ले : सुधारको संकेत कि परिणामको प्रतीक्षा ?

0
काठमाडौं । २०८२ चैत १३ गते अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि डा. स्वर्णिम वाग्लेप्रति नेपाली अर्थतन्त्रमा नयाँ आशा र अपेक्षा बढेको छ। अर्थशास्त्री, पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सार्वजनिक नीतिका जानकारका रूपमा स्थापित वाग्लेले परम्परागत शैलीभन्दा फरक ढंगले अर्थतन्त्रलाई अघि बढाउने अपेक्षा गरिएको थियो।

तर पद सम्हालेको करिब डेढ महिनाको अवधिलाई हेर्दा उनका कामहरू सुधारका संकेतसहित मिश्रित रूपमा देखिएका छन्। प्रशासनिक सुधार, बजेट अनुशासन र नीतिगत पुनरावलोकनलाई प्राथमिकतामा राखेका वाग्लेले अर्थ मन्त्रालयभित्र निर्णय प्रक्रियामा छरितोपन ल्याउने प्रयास थालेका छन्।

उनले सुरुवाती चरणमै बजेट तयारी, कर संरचना, सार्वजनिक खर्च नियन्त्रण र वित्तीय अनुशासनबारे निरन्तर छलफल तथा बैठकलाई तीव्रता दिएका थिए। यद्यपि उनको कार्यकालको सबैभन्दा ठूलो परीक्षा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई मानिएको छ।

अर्थमन्त्री वाग्लेले सीमित स्रोत र साधनभित्र रहेर यथार्थपरक बजेट ल्याउने तयारी भइरहेको बताएका छन्। विगतमा ठूलो आकारको बजेट ल्याएर खर्च गर्न नसक्ने प्रवृत्तिलाई असफल मोडेलका रूपमा चित्रण गर्दै उनले अब खर्च गर्न सक्ने क्षमता र अर्थतन्त्रको वास्तविक अवस्थाअनुसार बजेट बनाइने स्पष्ट पारेका छन्।

उनले सार्वजनिक ऋण बढ्दै गएको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन्। सन् २०१६ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५ प्रतिशत रहेको सार्वजनिक ऋण अहिले ४२–४३ प्रतिशत पुगेको भन्दै उनले ऋणलाई उत्पादनमुखी क्षेत्रमा मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

ठूला पूर्वाधार आयोजना निर्माणमा पनि उनले नयाँ मोडालिटीको संकेत गरेका छन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी जलविद्युत आयोजनालाई ऋणको भार नबढ्ने गरी निजी क्षेत्र वा प्रत्यक्ष वैदेशिक लगानीमार्फत अघि बढाउने तयारी भइरहेको जनाइएको छ।

स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान मोडालिटी असफल भएको निष्कर्ष निकाल्दै वाग्लेले आगामी बजेटमार्फत यसको पुनर्संरचना गर्ने योजना अघि सारेका छन्। आयस्तरका आधारमा प्रिमियम र सहुलियत निर्धारण गर्ने तथा चुरोट र मदिरामा लगाइने करलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने अवधारणा उनको छ।

सहकारी संकट समाधानका विषयमा पनि उनले पाँच लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गराउन सहजीकरण गर्ने बताएका छन्। तर त्यसका लागि सरकारी कोष प्रयोग नगरी सहकारीकै सम्पत्ति बिक्री वा चक्रीय कोषमार्फत समाधान खोजिने उनको भनाइ छ।

यसबीच उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विकास साझेदारहरूसँगको संवादलाई पनि प्राथमिकता दिएका छन्। सरकार वित्तीय विश्वसनीयता कायम राख्न चाहन्छ भन्ने सन्देश दिन अर्थ मन्त्रालय सक्रिय देखिएको छ।

यद्यपि चुनौतीहरू अझै कायम छन्। राजस्व संकलन दबाबमै छ, पुँजीगत खर्च कमजोर छ र निजी क्षेत्रको मनोबल पूर्ण रूपमा फर्किन सकेको छैन। आर्थिक गतिविधि सुस्त रहेका बेला सरकारले अब घोषणाभन्दा कार्यान्वयनमा परिणाम देखाउनुपर्ने दबाब झन् बढेको छ।

समग्रमा, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको डेढ महिने कार्यकाल सुधारको प्रारम्भिक संकेतका रूपमा देखिए पनि जनताले अपेक्षा गरेको प्रत्यक्ष आर्थिक राहत, रोजगारी सिर्जना, लगानी वृद्धि र बजारमा आत्मविश्वास कायम गर्ने चुनौती भने अझै बाँकी नै छ।

रास्वपाको बारा बैठकमा विवाद चर्कियो, नेतामाथि धक्कामुक्का

0

रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लामा आयोजित विस्तारित बैठकमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ। विवाद उग्र बनेपछि आक्रोशित कार्यकर्ताहरूले बैठकस्थलमै उपस्थित सांसद तथा केन्द्रीय नेतामाथि धक्कामुक्का गरेका छन्।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै नेताहरूलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

शनिबार बाराको कलैयास्थित ‘करणराज पार्टी प्यालेस’मा आयोजित बैठकमा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का चन्दन सिंह, क्षेत्र नम्बर ३ का अरविन्द साह, क्षेत्र नम्बर ४ का रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलगायत नेताहरू सहभागी थिए।

सहभागीहरूका अनुसार पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने तथा उपेक्षा गर्ने प्रयास भएपछि विवाद सुरु भएको हो। केही दिनअघि मात्रै रास्वपाले स्वर्णकारको साधारण सदस्यता खारेज गरेपछि बारामा पार्टीभित्रको आन्तरिक विवाद चर्किएको थियो।

बैठकमा सुरुमा सामान्य भनाभन भए पनि पछि नाराबाजी र तीव्र विवादमा परिणत भएको बताइएको छ। आक्रोशित कार्यकर्ताहरू नेताहरूमाथि नै जाइलागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

घटनापछि बैठकस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था नियन्त्रणमा लिने प्रयास जारी रहेको जनाइएको छ।

एमाले सचिवालय बैठकमा चर्कियो आन्तरिक बहस, ओलीमाथि अल्पमतको चर्चा

0

काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्र विकसित आन्तरिक समीकरणका कारण निकै चर्चामा आएको छ। अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा जारी बैठकमा शनिबार महासचिवसहित नौ जना पदाधिकारीहरूले आफ्नो राजनीतिक धारणा राखेका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले महासचिव, तीन जना उपमहासचिव र पाँच जना सचिवले आ–आफ्नो कार्यक्षेत्र तथा वर्तमान राजनीतिक परिस्थितिका आधारमा धारणा प्रस्तुत गरेको जानकारी दिए।

एमाले वृत्तमा पछिल्लो समय विकसित राजनीतिक समीकरणलाई लिएर विभिन्न चर्चा भइरहेका छन्। अध्यक्ष ओली सचिवालयमा अल्पमतमा परेको तथा महासचिव शंकर पोखरेलसमेत पार्टीलाई नयाँ ढङ्गबाट पुनर्गठन गर्नुपर्ने पक्षमा देखिएको भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।

विशेषगरी सरकारको कार्यशैली, सुशासनका मुद्दा र पार्टीको भावी दिशालाई लिएर संस्थापन पक्ष र असन्तुष्ट समूहबीच मतभिन्नता बढिरहेको स्रोतहरूको दाबी छ। यद्यपि संस्थापन पक्षका नेताहरूले भने यस्ता दाबीलाई अस्वीकार गर्दै आएका छन्।

उपमहासचिव भट्टका अनुसार नेताहरूले धारणा राख्ने क्रममा अध्यक्ष ओलीले बीच–बीचमा आवश्यक निर्देशन र टिप्पणीसमेत गरेका थिए।

एमाले नेतृत्वले बैठकबारे सञ्चारमाध्यम र राजनीतिक वृत्तमा भइरहेको प्रचारप्रति असन्तुष्टि जनाएको छ। नियमित छलफल र अनुभव आदानप्रदानका विषयलाई अतिरञ्जित, तोडमरोड र भ्रमपूर्ण ढङ्गले प्रचार गरिएको भन्दै नेतृत्वले आपत्ति जनाएको हो।

सचिवालयका अधिकांश पदाधिकारीले धारणा राखिसके पनि अझै चार जना सचिवले बोल्न बाँकी रहेको एमालेले जनाएको छ। आइतबार बस्ने बैठकमा बाँकी सचिवहरूले धारणा राखेपछि मात्रै सचिवालयका मुख्य एजेन्डा र पार्टीको आन्तरिक विवादबारे आधिकारिक निष्कर्ष सार्वजनिक गरिने बताइएको छ।

एमालेको सचिवालय बैठक आइतबार बिहान ११:३० बजे पुनः अध्यक्ष ओलीकै गुण्डुस्थित निवासमा बस्ने गरी स्थगित गरिएको छ।

रवि लामिछानेले आज रास्वपा सांसदहरूसँग सामूहिक छलफल गर्दै

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज पार्टीका सांसदहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट सुझाव र धारणा संकलन गर्ने उद्देश्यले सभापतिले छलफलको तालिका तय गरेको जानकारी दिए।

उनका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ। कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म तथा मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल हुने तय गरिएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद् बैठक लगातार अवरुद्ध गरिरहेका बेला रास्वपाले आन्तरिक छलफललाई तीव्र बनाएको हो।

आगामी बजेटको पूर्वसन्ध्यामा आयोजना गरिएको छलफलमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, जनचासोका विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्ने बताइएको छ।

आजको विदेशी विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ २३ पैसा

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ०७ पैसा तथा बिक्रीदर १९५ रुपैयाँ ८४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा कायम गरिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३१ पैसा रहेको छ।

यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ७० पैसा र बिक्रीदर ४ रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २३ रुपैयाँ ९७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा कायम गरेको छ। कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ ७५ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०८ रुपैयाँ ९९ पैसा तोकिएको छ। ओमानी रियाल एकको खरिददर ३९९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४०० रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

वायु प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न नयाँ सार्वजनिक गाडी दर्तामा रोक

0

काठमाडौं । सरकारले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम तथा सार्वजनिक यातायातको अव्यवस्थालाई नियन्त्रण गर्ने उद्देश्यले देशभर नयाँ सार्वजनिक गाडी दर्तामा रोक लगाएको छ।

यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीयसहित सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो।

विभागका अनुसार इन्धनको बढ्दो मूल्य, सडकमा अत्यधिक सवारी चाप तथा यातायात व्यवस्थापनमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै सार्वजनिक गाडीको दर्ता अस्थायी रूपमा रोकिएको हो।

सार्वजनिक यातायातलाई व्यवस्थित, प्रभावकारी र वातावरणमैत्री बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

लिग–२ मा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा, घरेलु शृङ्खला सुखद अन्त्य गर्ने लक्ष्य

0

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ।

घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले जितसहित सुखद बनाउने लक्ष्य राखेको छ। अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रँदैछ भने अमेरिका हारको बदला लिने योजनामा रहेको छ।

अंक तालिकामा समान २७ खेल खेले पनि अमेरिका शीर्ष स्थानमा रहेको छ भने नेपाल पाँचौँ स्थानमा छ। अमेरिकाले १९ जितसहित ३८ अंक जोडेको छ। नेपालले १० खेलमा जित हात पार्दा १५ खेलमा हार बेहोरेर २२ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

विश्वकप छनोटको सम्भावना कायम राख्न तथा एकदिवसीय मान्यता जोगाउन नेपाललाई अब बाँकी सबै खेल जित्नुपर्ने दबाब रहेको छ। अमेरिका भने शीर्ष स्थान सुरक्षित गर्दै उपाधि उचाल्ने लक्ष्यमा रहेको छ।

यसअघि कीर्तिपुरमै भएको भेटमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। उक्त खेलमा नेपालको प्रदर्शन प्रभावशाली रहेको थियो।

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म चारमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो।

देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो बढ्ने

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।

आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘ककरोच जनता पार्टी’को एक्स अकाउन्ट भारतमा प्रतिबन्धित भएको अभिजीत दीपकेको दाबी

0

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित बनेको ‘ककरोच जनता पार्टी’ अभियानका संस्थापक अभिजीत दीपकेले भारतमा आफ्नो आधिकारिक एक्स (ट्विटर) अकाउन्ट प्रतिबन्धित गरिएको दाबी गरेका छन्।

दीपकेले इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै भारत सरकार वा सम्बन्धित निकायले आफ्नो एक्स अकाउन्ट बन्द गरेको बताएका हुन्।

उनले भने, “जुन कुराको डर थियो, त्यही भयो। पहिले हाम्रो अकाउन्ट ह्याक गर्ने प्रयास भयो। ह्याक गर्न नसकेपछि भारतमा हाम्रो ट्विटर ह्यान्डल नै बन्द गरियो। अहिले ककरोच जनता पार्टीको आधिकारिक अकाउन्ट कसैलाई पनि देखिँदैन।”

आफूहरूले कुनै गैरकानुनी वा आपत्तिजनक सामग्री पोस्ट नगरेको दाबी गर्दै दीपकेले एक विद्यार्थीको आत्महत्याको घटनालाई लिएर सम्बन्धित मन्त्रीको राजीनामा माग मात्र गरिएको बताए।

उनले समर्थकहरूलाई उक्त कदमविरुद्ध आवाज उठाउन आग्रह गर्दै लोकतान्त्रिक रूपमा प्रश्न उठाउनु गलत नभएको उल्लेख गरे।

दीपकेले भने, “हामीले केवल मन्त्रीको राजीनामा मागेका थियौँ। लोकतान्त्रिक रूपमा प्रश्न उठाउनु गलत हो र? यस विषयमा सबैले प्रश्न गर्नुपर्छ।”

यो अभियान भारतका सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले एक बहसका क्रममा युवा र ककरोचलाई जोडेर दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा सुरु भएको बताइएको छ। उक्त टिप्पणीपछि सामाजिक सञ्जालमा आक्रोशित बनेका युवाहरूले व्यङ्ग्यात्मक शैलीमा यो डिजिटल अभियान सुरु गरेका हुन्।

हाल ‘ककरोच जनता पार्टी’ युवा पुस्तामाझ अत्यधिक लोकप्रिय बनेको छ। यसको इन्स्टाग्राम अकाउन्टमा १ करोड ३० लाखभन्दा बढी फलोअर्स पुगेको दाबी गरिएको छ, जसले भारतका केही ठूला राजनीतिक दलहरूको सामाजिक सञ्जाल उपस्थितिलाई समेत पछि पारेको उल्लेख गरिएको छ।

बेइजिङमा सी–पुटिन वार्ता, चीन–रूस सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता

0

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा उच्चस्तरीय वार्ता भएको छ। चीन भ्रमणका क्रममा पुटिन मंगलबार राति बेइजिङ पुगेका थिए भने बुधबार उनले भ्रमण सम्पन्न गरेका छन्।

भेटपछि राष्ट्रपति सी जिनपिङले चीन–रूस सम्बन्ध राजनीतिक पारस्परिक विश्वास र रणनीतिक सहकार्यका आधारमा निरन्तर सुदृढ हुँदै गएको बताएका छन्। उनले दुई देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता तथा साझा भविष्य निर्माणको लक्ष्यसहित सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरे।

सीले चीन र रुसले दीर्घकालीन तथा रणनीतिक दृष्टिकोण अपनाउँदै व्यापक समन्वयमार्फत आफ्ना देशको विकास र पुनरुत्थानलाई अगाडि बढाउनुपर्ने बताए। साथै विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण र सन्तुलित बनाउन संयुक्त रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।

उनले व्यापार, लगानी, ऊर्जा, विज्ञान–प्रविधि तथा जनस्तरको आदानप्रदानलगायत क्षेत्रमा सहकार्य उल्लेखनीय रूपमा विस्तार भएको बताएका छन्। चीन–रूस सम्बन्ध अहिले तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको उनको भनाइ थियो।

राष्ट्रपति सीले द्विपक्षीय मित्रताको सामाजिक आधार बलियो बनाउन जनस्तरको आदानप्रदान अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले संयुक्त राष्ट्रसंघ, सांघाई सहयोग संगठन, ब्रिक्स र एपेकजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहकार्य बढाउन पनि आह्वान गरे।

रुसी राष्ट्रपति पुटिनले पनि दुई देशबीचको सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको बताएका छन्। उनले उच्चस्तरीय राजनीतिक विश्वास, स्थिर व्यापार वृद्धि तथा ऊर्जा, यातायात, रसद, विज्ञान–प्रविधि क्षेत्रमा सहकार्य निरन्तर गहिरिँदै गएको उल्लेख गरे।

पुटिनले रूस–चीन सांस्कृतिक वर्ष सफलतापूर्वक सम्पन्न भएको र अब रूस–चीन शिक्षा वर्ष सुरु हुन लागेको जानकारी पनि दिए।

दुई नेताबीचको वार्तापछि चीन र रुसले संयुक्त विज्ञप्ति जारी गर्दै समान र सन्तुलित बहुध्रुवीय विश्व व्यवस्था निर्माण तथा नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।