Saturday, May 2, 2026
Home Blog Page 3

विपक्षी दलहरूको ९ बुँदे निर्णय: बस्ती हटाउनेदेखि महँगी नियन्त्रणसम्म सरकारलाई दबाब

0

काठमाडौं । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ। बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहभागी भएका थिए।

बैठकले सरकारका विभिन्न गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै ९ बुँदे निर्णय सार्वजनिक गरेको छ।

निर्णयमा देशका विभिन्न स्थानमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासको पहिचान र वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्यप्रति कडा विरोध जनाइएको छ। यस्तो कदमले नागरिकमा भय र असुरक्षा बढाएको उल्लेख गर्दै सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

विपक्षी दलहरूले दैनिक उपभोग्य वस्तुमा भएको तीव्र मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै महँगी र कालोबजारी नियन्त्रण गर्न तथा गरिब र सीमान्तकृत समुदायका लागि सुपथ मूल्यका पसल सञ्चालन गर्न आग्रह गरेका छन्।

यस्तै, अन्तर्राष्ट्रिय परिस्थितिका कारण रासायनिक मलको अभाव हुन सक्ने भन्दै वर्षे सिजनअघि नै पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारलाई सचेत गराइएको छ।

झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौंलगायत क्षेत्रमा फैलिएको बर्डफ्लु प्रकोप नियन्त्रण गर्न र प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बढेको महँगी नियन्त्रण गर्न, बजार अनुगमन कडा पार्न र उपभोक्तालाई राहत दिन तत्काल राहत प्याकेज घोषणा गर्न विपक्षी दलहरूले सरकारसँग माग गरेका छन्।

मनोहरा नदीको धार पुरानै अवस्थामा फर्काउने तयारी, महानगरको प्राथमिकता

0

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नदीको परिवर्तन भएको धारलाई स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पुरानै अवस्थामा फर्काउने तयारी थालेको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक तथा प्रशासनिक परामर्श गर्दै नदीको वहाव २०२१ सालको नापी नक्साअनुसार कायम गर्ने प्रक्रिया अघि बढाउने बताएकी छन्। हाल नदी पश्चिमतर्फ सरेका कारण काठमाडौँतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जमिन काठमाडौँतर्फ सरेको अवस्था छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र आयोजनाका प्रमुख निर्मलराज बरालसँग नक्सा अध्ययनपछि डंगोलले कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी डीपीआरअनुसारको वहाव क्षेत्र कायम गर्ने कामलाई उच्च प्राथमिकतामा राखिएको बताइन्।

उनले नदी किनारका अव्यवस्थित बस्तीका कारण रोकिएका कामलाई तत्काल अघि बढाएर आयोजना छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। यसका लागि लागत अनुमान तयार गर्ने, जनशक्ति परिचालन गर्ने र कार्यान्वयन प्रक्रिया तीव्र पार्ने निर्देशन दिइएको छ।

महानगरले भूमिहीन दाबी गर्ने व्यक्तिहरूको उचित व्यवस्थापन, खाली गराइएका स्थानको संरक्षण तथा निर्माण सामग्री व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ।

आयोजना प्रमुख बरालका अनुसार १.५ किलोमिटर नदी क्षेत्रमध्ये ५७५ मिटर मात्र पुरानै अवस्थामा रहेको छ भने बाँकी भागमा नदीको धार परिवर्तन भएको छ।

संक्रमणकालीन न्यायका उजुरी छिटो टुंग्याउन सरकारलाई सर्वोच्चको परमादेश

0

काठमाडौं । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसम्बन्धी उजुरीहरूको प्रभावकारी अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन सरकारका नाममा परमादेश जारी गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको संवैधानिक इजलासले मंगलबार यस्तो आदेश दिएको हो। आदेशअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भएका उजुरीहरूलाई प्रभावकारी रूपमा अघि बढाई छिटो टुंग्याउन सरकारलाई निर्देशन दिइएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायको पहुँचमा रहेका अवरोध हटाउन र विगतका आदेश तथा निर्देशनहरूको कार्यान्वयन सुनिश्चित गर्न परमादेश जारी गरिएको हो।

इजलासले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन), २०८१ अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतका पूर्व निर्णयअनुसार भएकाले संवैधानिक रहेको ठहर पनि गरेको छ।

उक्त मुद्दा संविधानसभा सदस्य कुलबहादुर गुरुङ र अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतलगायतले दायर गरेको रिट निवेदनसँग सम्बन्धित हो। निवेदनमा ऐनको तेस्रो संशोधन असंवैधानिक रहेको दाबी गर्दै उजुरीहरू छिटो टुंग्याउन माग गरिएको थियो।

संशोधनमा “मानव अधिकारको गम्भीर उल्लङ्घन” भन्ने शब्दको सट्टा “मानव अधिकारको उल्लङ्घन वा गम्भीर उल्लङ्घन” भन्ने शब्दावली प्रयोग गरिएको छ, जसलाई लिएर विवाद उठेको थियो।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीको राजीनामा

0

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन उच्च पदाधिकारीले राजीनामा दिएका छन्। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा बुझाएका हुन्।

रेक्टर केसीका अनुसार बिहीबार उनीहरूले औपचारिक रूपमा राजीनामा पठाएका हुन्। सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नलागेकाले राजीनामा दिएको उनले बताएका छन्।

राजीनामा दिने तीनै जना पूर्व प्रधानमन्त्रीहरूको कार्यकालमा नियुक्त भएका थिए। उपकुलपति अर्याल केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए भने रेक्टर केसी र रजिस्टार रिजाल प्रचण्ड नेतृत्वको सरकारको समयमा नियुक्त भएका थिए।

शिक्षा बजेट २० प्रतिशत पुर्‍याउन शिक्षक महासङ्घको माग, ऐन ल्याउन दबाब

0

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत विनियोजन गर्न सरकारसँग माग गरेको छ। महासङ्घको राष्ट्रिय समितिले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा ऐन, शिक्षकका समस्या तथा समसामयिक विषयमा ६ बुँदे धारणा सार्वजनिक गरेको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयको समर्थन गरिएको छ। उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

राहत, करार, साविक उमावि, शिक्षण–सिकाइ अनुदान, बाल कक्षा र विशेष शिक्षासहितका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान हुने गरी आगामी अधिवेशनबाटै अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउन महासङ्घले माग गरेको छ।

सिराहाको लहान, धनुषाको कमलामाई र बाजुराको बुढीगंगा लगायतका स्थानीय तहमा कार्यरत शिक्षक–कर्मचारीले महिनौँदेखि तलब नपाएको विषयमा महासङ्घले आपत्ति जनाएको छ। रोकिएको तलब भत्ता तत्काल उपलब्ध गराउन र सहजीकरण गर्न सरकारसँग माग गरिएको छ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकासहित केही स्थानीय तहले विनाकारण शिक्षक हटाउने र अपायक स्थानमा सरुवा गर्ने कार्य भइरहेको भन्दै यस्तो गतिविधि तत्काल रोक्न चेतावनी दिइएको छ।

महासङ्घले आफ्ना आधारभूत मागहरू सम्बोधन नभए थप दबाबका कार्यक्रम ल्याउन सक्ने संकेत पनि दिएको छ।

अमेरिकी विशेष दूत सर्जियो गोर आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेट अनिश्चित

0

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन्। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरले केही दिनअघि नेपाल भ्रमण सम्पन्न गरेपछि गोरको भ्रमण हुन लागेको हो।

भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले नेपालमा प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजना बनाएका छन्। तर हालसम्म उक्त भेट सुनिश्चित भएको छैन। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै औपचारिक कार्यतालिका तय भएको छैन, यद्यपि भेटका लागि प्रयास जारी रहेको बुझिएको छ।

प्रधानमन्त्रीसँग भेट अनिश्चित रहे पनि गोरको अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट हुने निश्चित भएको छ। उनको भ्रमण लगानी र आर्थिक सहकार्यमा केन्द्रित रहने बताइएको छ।

यसअघि गोरले बङ्गलादेश, भुटान र श्रीलंकालगायत देशको भ्रमण गरी त्यहाँका उच्च नेतृत्वसँग भेट गरेका थिए।

प्रधानमन्त्री बालेन शाह पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा विदेशी प्रतिनिधिसँग भेट नगरेको स्रोतको भनाइ छ। उनले हालसम्म सामूहिक रूपमा मात्र राजदूतहरूसँग भेटघाट गरेका छन् र प्रायः राष्ट्र प्रमुख वा उच्च तहका मन्त्रीसँग मात्र भेट गर्ने मनस्थिति बनाएका छन्।

यता, वैशाख २८ गते भारतका विदेश सचिव विक्रम मिस्री पनि नेपाल भ्रमणमा आउने कार्यक्रम छ। उनले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने तयारी गरेका छन्। उक्त निमन्त्रणा प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई दिने वा परराष्ट्र मन्त्रालयमार्फत दिने भन्ने विषय भने अझै तय भएको छैन।

राष्ट्र बैंकद्वारा बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा तोकिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

कांग्रेसद्वारा क्रियाशील सदस्यता नवीकरण र नयाँ इन्ट्रीका लागि एक हप्ता थप समय

0

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता इन्ट्रीका लागि एक हप्ता थप समय दिने निर्णय गरेको छ।

बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार १५औँ महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट क्रियाशील सदस्यता नवीकरण तथा प्रतिनिधि सभा क्षेत्रबाट नयाँ सदस्यता डिजिटल प्रणालीमा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा नबुझाएका जिल्ला र क्षेत्रलाई वैशाख १६ गतेदेखि एक हप्ताको समय दिइनेछ।

बैठकले तोकिएको मितिदेखि सदस्यता व्यवस्थापनका लागि डिजिटल प्रणाली खुला गर्ने निर्णय पनि गरेको छ। अनलाइन सदस्यता खुला गरिएको जानकारी पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।

नेपाली नागरिकता भएका व्यक्तिलाई जनसम्पर्क समिति सदस्यता र क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था मिलाइने निर्णय गरिएको छ। अन्यका हकमा पार्टीको विधान २०१७ (एघारौँ संशोधनसहित) बमोजिम प्रक्रिया अपनाइनेछ।

त्यस्तै, विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको सन्दर्भमा क्रियाशील सदस्यता अद्यावधिक गर्न जिल्ला तथा क्षेत्रीय केन्द्रीय प्रतिनिधिको समन्वयमा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

देशभर बदली, धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसको असरले देशभर अधिकांश स्थानमा बादल लागेको छ।

बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानमा र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा र अन्य भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

ठेक्का प्रणालीमा अनाधिकृत पहुँच आरोपमा निर्माण व्यवसायी गौली पक्राउ

0

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)ले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाई ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यससम्बन्धी कागजात परिवर्तन गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ।

गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन्। उनलाई बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गौलीमाथि संगठित अपराध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको छ।

उक्त प्रकरणमा हालसम्म १० निर्माण व्यवसायीसहित कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।