ह्याकरहरुको हौसला दिनहुँ बढ्दै गइरहेको छ । हालै यसको पछिल्लो उदाहरण सार्वजनिक भएको छ । एक रिपोर्ट अनुसार एक रसियन ह्याकिंग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौति माग गरेको छ ।
कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरुले यतिधेरै फिरौति माग्नुलाई साइबर विज्ञहरुले निकै गम्भीर रुपमा लिएका छन् ।
समाचार अनुसार उक्त ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्लाकमेल गरिरहेको छ र यो घटना एप्पलका भविष्यका प्रडक्टहरुसँग जोडिएको छ । किनकी ह्याकरहरुले एप्पलका आसन्न प्रडक्टहरु सम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरेको बताइएको छ ।
एप्पललाई ह्याक गरेर फिरौति माग्ने रुसी ह्याकर समूहको नाम REvil हो । उक्त ह्याकर समूहले एप्पलका भविष्यका प्रडक्टहरुसँग सम्बन्धित डाटा लिक गरिदिएको दाबी गरेको छ ।
एप्पलले मंगलबार आयोजना गरेको वसन्तकालीन समारोह अगाडि नै उक्त घटना भएको थियो र सो ग्रुपलाई म्याकबुक तथा एप्पलका अन्य प्रडक्टहरुको उत्पादकबाट ती डाटाहरु प्राप्त भएका थिए ।
ह्याकरहरुले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई तारो बनाएका थिए । तर क्वान्टालाई ह्याक गर्न नसकेपछि उसको सबैभन्दा ठूलो ग्राहकको रुपमा रहेको एप्पल कम्पनीमाथि साइबर आक्रमण गर्न सुरु गरे । डार्क वेब पोर्टलमा राखेको एक सन्देशमा ह्याकरहरुले यस विषयमा खुलासा गरेका छन् ।
एप्पलमाथि दबाब बढाउनका लागि REvil l ले ह्याक गरेका एप्पल प्रडक्टसँग सम्बन्धित डाटाहरुको तस्वीर पोष्ट गर्न सुरु गरेको थियो । त्यसमा कूल २१ वटा स्क्रिनशट थिए, जसमा हालै रिलिज भएको नयाँ आइम्याकका बारेमा पनि विभिन्न जानकारीहरु थिए ।
आइम्याकका अलावा ह्याकरले M1 MacBook Air को डिजाइन पनि लिक गरेका छन् । साथै एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि उनीहरुले लिक गरेका छन् । स्क्रिनशट खोल्नेबित्तिकै डिस्प्ले चेतावनी पनि देख्न सकिन्छ । जसमा लेखिएको छ- यी एप्पलका सम्पत्ति हुन् र तुरुन्त फिर्ता गर्नु पर्दछ ।
आगामी मे १ अगाडि सम्म एप्पल वा क्वान्टा कम्पनीबाट ५ करोड डलर रकम फिरौति नपाएसम्म दिनहुँ एप्पलका नयाँ नयाँ डाटा सार्वजनिक गर्दै जाने Revil ले चेतावनी दिएको छ । एजेन्सी
१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । आजको बैठकबाट ओलीले नेपाल पक्षका केही नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने अनुमान छ ।
यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो । सो बैठकले नेपाल पक्षका २७ सांसदहरूलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप ओली समूहले नेपाल समूहलाई लगाउँदै आएको छ । यही बीचमा कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि ओली झन् रुष्ट भएका छन् । बालुवाटार बैठकबाट फ्लोर क्रस गर्ने नेताहरुलाई कारबाहीको निर्णय हुन सक्ने एक नेताले बताए ।
महाधिवेशन आयोजक समितिको बैठक अघि ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग नक्शालस्थित मेरियट होटलमा दुई दिनसम्म छलफल गरेका थिए । तर सो छलफल पनि निष्कर्षविहीन भएको थियो ।
१० वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग) लाई धरौटीमा छाड्न अदालतले आदेश दिएको सात महीना भइसक्यो ।
२२ भदौ २०७७ मा जिल्ला अदालत नवलपरासीले तोकेको रु.२५ हजार धरौटी नबुझाउँदा अहिलेसम्म उनी कारागारमै छन् । यसबीचमा सरकार र उनको पार्टीबीच तीनबुँदे समझदारी पनि भएको छ । प्रतिबन्ध फुकुवा गरेर कैदीबन्दी छाड्ने निर्णय सरकारले गरेको छ ।
केन्द्रीय सदस्यसमेत रहेका महासचिव विप्लवका दाइ चन्द्रबहादुर चाहिं नवलपरासी कारागारबाट सरुवा भएर चितवन कारागारमा बसिरहेका छन् । जिल्ला कारागार, चितवनका जेलर कमलप्रसाद काफ्लेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि चितवन गएका उनी नवलपरासी फर्किएका छैनन् ।
चन्द जस्तै पार्टीका जनसांस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष एवं उपत्यका ब्युरो इञ्चार्ज माइला लामा ‘प्रज्ज्वल’ पनि अदालतले छाड्न आदेश दिएको एक महीनासम्म कारागारमै बसिरहेका छन् । जिल्ला अदालत, संखुवासभाले उनलाई रु.२५ हजार धरौटी तोकेको छ । तर हालसम्म त्यति रकम धरौटी नराखेकोले उनी संखुवासभा कारागारमै छन् ।
प्रहरीले उनलाई ५ साउन २०७६ मा काठमाडौंको काँडाघारीबाट पक्राउ गरेर विभिन्न मुद्दामा जिल्ला–जिल्ला घुमायो । अधिकांशमा धरौटी बुझाएर छाड्न आदेश भयो । ‘पहिले एकपछि अर्को गर्दै पक्राउ गरेर लगिहाल्थ्यो, अहिले सहमतिमा हस्ताक्षर गरिसकेपछि धरौटी तिर्ने कुरा हुँदैन’ लामा पत्नी मनु भन्छिन्, ‘उहाँ कहिले र कसरी छुट्नुहुन्छ भन्ने सरकार वा सम्बन्धित पार्टीले जान्ने कुरा हो ।’
२८ साउन २०७६ मा पक्राउ परेका पार्टीका रुकुम पूर्वका जिल्ला कमिटी सदस्य राजु वि.क. (राप्ती) लाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले रु.२ लाख ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । तर, त्यति रकम जम्मा नगर्दा उनी छुट्न सकेका छैनन् ।
अनुसन्धानका लागि हिरासतमा रहेका विप्लवका नेता कार्यकर्ताहरु छुटिसके पनि पुर्पक्षका लागि थुनामा गएका वा कारागारमा बसेका बन्दीहरू चाहिं हालसम्म छुटेका छैनन्
विक जस्तै संखुवासभाका विप्लव कार्यकर्ता ४८ वर्षीय लेखबहादुर राउत पनि रु.१ लाख ५ हजार धरौटी रकम बुझाउन नसक्दा जिल्ला कारागार संखुवासभामा थुनामा छन् । संगठित अपराध गरेको अभियोगमा २२ भदौ २०७६ मा पक्राउ परेका उनलाई जिल्ला अदालत संखुवासभाले दुई महीनापछि ५ कात्तिकमा धरौटीमा छाड्न आदेश दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, झापाले विप्लवका पाँचथर सेक्रेटरी विजय नेम्वाङलाई १ कात्तिक २०७६ मा पक्राउ गरेको थियो । त्यसको २९ दिनपछि जिल्ला अदालत, झापाले उनलाई विस्फोटक पदार्थ सम्बन्धी कसूरमा रु.१ लाख धरौटीमा रिहा गर्न आदेश दियो । तर, हालसम्म पनि उनी जिल्ला कारागार झापामै छन् ।
नेम्वाङसँगै पक्राउ परेका कविराज चेम्जोङलाई पनि सोही मुद्दामा अदालतले रु.१ लाख धरौटी मागेको थियो । उनले पनि धरौटी बुझाएका छैनन् । विप्लवका पूर्व धनुषा सेक्रेटरी एवं जनकपुर ब्युरो सदस्य रहेका पवनकुमार महतो पनि अहिले जिल्ला कारागार सर्लाहीमा छन् ।
आगजनीको आरोपमा अदालतले महतोलाई ६ मंसीर २०७६ मा रु.२५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर उनी पनि अहिलेसम्म कारागारमै बसेका छन् ।
अखिल नेपाल सुकुम्बासी संघ क्रान्तिकारीका जनकपुर ब्युरो संयोजक लालबहादुर लामा २६ माघ २०७७ मा पक्राउ परेका थिए । आगजनी गरेको कसूरमा उनलाई जिल्ला अदालत, सर्लाहीले रु.२५ हजार धरौटी मागेको थियो । त्यो बुझाउन नसकेर उनी अहिलेसम्म थुनामै छन् ।
यस्तै विप्लव समूहको माई नगरपालिका इञ्चार्ज अमर राईलाई पनि जिल्ला अदालत इलामले २९ फागुनमा रु.२ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । विस्फोटक पदार्थ, सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाशको अभियोगमा थुनामा रहेका उनले अहिलेसम्म धरौटी राखेका छैनन्, जेलमै छन् ।
इलामको फाकफोकथुम गाउँपालिकाका गंगाराम भट्टराईलाई पनि विस्फोटक पदार्थ प्रयोग र ओसारपसारको दुई कसूरमा रु.१/१ लाख धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ । तर, रकम बुझाउन नसकेपछि उनी थुनामै छन् ।
पार्टीको रौतहट जिल्ला सदस्य बाग्लुङ घर भएका जगत भनिने कमल गुरुङलाई जिल्ला अदालत रौतहटले रु.३० हजार धरौटी लिएर छाड्न आदेश दिएको छ । तर, सो रकम धरौटी राख्न नसकेर उनी थुनामै छन् । हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा पक्राउ परेका संखुवासभाको चैनपुर नगरपालिका–६ का थिमे रावत पनि सल्यान जिल्ला अदालतमा रु.१ लाख धरौटी नबुझाएपछि सल्यान कारागारमा छन् ।
विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज हीरालाल भनिने पुण्य कोइरालासँग जिल्ला अदालत इलामले ३ असार २०७७ मा रु.३ लाख धरौटी मागेको थियो । तर, सो रकम धरौटी नराखेको कारण हालसम्म उनी जिल्ला कारागार इलाममा थुनामा छन् ।
विप्लवको इलाम जिल्ला जनसरकार प्रमुख विमल भन्ने गोपी बस्नेत २९ जेठ २०७७ मा विस्फोटक पदार्थ प्रयोग गरी सार्वजनिक तथा भौतिक संरचना विनाश गरेको अभियोगमा पक्राउ परे । इलाम जिल्ला अदालतले ३२ जेठमा २ लाख रुपैयाँ धरौटी माग्यो । तर, हालसम्म उनले धरौटी बुझाएका छैनन्, जेलमै छन् ।
तीन बुँदे समझदारीमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लव । फाइल तस्वीर ।
जिल्ला अदालत, बाँकेले अभद्र व्यवहार सम्बन्धी कसूरमा विप्लव समूहका कार्यकर्ता सुरेश रावतलाई २७ साउन २०७७ मा रु.२० हजार धरौटीमा छाड्न आदेश दियो । तर, हालसम्म धरौटी नबुझाउँदा उनी थुनामै छन् ।
अनेरास्ववियु क्रान्तिकारीका चितवन जिल्ला कमिटी सदस्य रोजन चन्द २१ असार २०७७ मा पक्राउ गरे । अभद्र व्यवहार सम्बन्धी कसूरमा उनलाई तीन महीना कैद र रु.५ हजार धरौटी बुझाउन जिल्ला प्रशासन कार्यालयले आदेश दियो । तर, कैद भुक्तान गरिसकेको सात महीना भइसक्दा पनि उनले धरौटी बापतको रकम बुझाएका छैनन्, जेलमै छन् ।
विप्लव कार्यकर्ता चेतनाथ अधिकारीलाई २९ भदौ २०७७ मा चोरी कसूरमा रु.३५ हजार धरौटी लिएर छाड्न जिल्ला अदालत, सिन्धुलीले आदेश दियो । तर, हालसम्म उनी जिल्ला कारागार सिन्धुलीमै छन् ।
विप्लवका रूपन्देही जिल्ला इञ्चार्ज संगम पुन भनिने टेकबहादुर पुन र जिल्ला सेक्रेटरी एवं जनसरकार प्रमुख नाथुप्रसाद चौधरी थारू (नवीन) लाई ३० असोज २०७७ मा जिल्ला अदालत रूपन्देहीले रु.१/१ लाख धरौटी बुझाएर छाड्न आदेश दिएको छ । तर, धरौटी नबुझाउँदा दुवैजना सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला कारागार रूपन्देहीमा थुनामा छन् ।
यस्तै सोही पार्टीको कपिलवस्तु जिल्ला कमिटी सदस्य विकल्प भन्ने गणेश थारूलाई पनि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले रु.२ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ तर उनी पनि धरौटी नबुझाएपछि थुनामै छन् ।
सो पार्टीका बझाङ जिल्ला कमिटी सचिवालय सदस्य तथा ९ नम्बर एरिया कमाण्ड इञ्चार्ज जोगबहादुर कठायत (बरुण) २८ मंसीर २०७७ मा पक्राउ परेका थिए ।
राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर, राज्य विरुद्धको कसूर, चन्दा संकलन, हातहतियार तथा खरखजना तथा संगठित अपराधको अभियोगमा उनलाई जिल्ला अदालत, बझाङले रु.१ लाख धरौटीमा छाड्न आदेश दियो । तर, उनले धरौटी रकम बुझाएनन् अहिलेसम्म पनि उनी जिल्ला कारागार बझाङमा थुनामा छन् ।
सहमतिविरुद्ध षड्यन्त्र भयो भने सबैभन्दा नोक्सान सरकारलाई नै हुन्छ, त्यसैले सहमति कार्यान्वयन हुनेमा कुनै द्विविधा राखेका छैनौं – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’
गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई नेतृत्वको सरकारी वार्ता समितिसँग तीनबुँदे सहमति गरेको विप्लव समूहले २० फागुन २०७७ मा हिंसा त्यागेको थियो । सहमतिमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताको रिहाइसँगै मुद्दा खारेज गर्ने भनिएको थियो ।
सहमतिको तेस्रो बुँदामा भनिएको थियो, ‘नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका नेता तथा कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।’ त्यसअनुसार सहमतिलगत्तै प्रहरीले अनुसन्धानमा रहेका १५ जना नेता, कार्यकर्तालाई हिरासतमुक्त पनि गर्यो ।
पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेता, कार्यकर्ता छुटे । तर, पुर्पक्षका लागि थुनामा गएका वा कारागारमा बसेका बन्दीहरू चाहिं हालसम्म छुटेका छैनन् । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, ‘अनुसन्धानका क्रममा भएका मात्र प्रहरीको क्षेत्राधिकारमा पर्ने हो, अन्य चाहिं अदालती प्रक्रियाबाट छुट्नुपर्छ ।’
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल चाहिं समूहका नेता, कार्यकर्तालाई छाड्ने विषयमा गृहकार्य भइरहेको बताउँछन् । उनी भन्छन्, ‘नेता, कार्यकर्ताको रिहाइका लागि कार्यविधिसमेत बनिसकेको छ ।’
विप्लव समूहमाथि प्रतिबन्ध लागेको २८ फागुन २०७५ देखि २० फागुन २०७७ सम्मको अवधिमा पक्राउ परेकामध्ये १२३ जना कारागारमा रहेको गृह मन्त्रालयको तथ्यांक छ । तर, विप्लव समूहले चाहिं १५३ जनाको मुद्दा फिर्ता हुनुपर्ने सूची गृह मन्त्रालयमा बुझाएको छ ।
चितवन कारागारमा रहेका विप्लवका दाइ वीरजंगले अपराधविनै राजनीतिक मुद्दामा जेलमा राखिएकाले कार्यकर्ताहरू नछुटुञ्जेल धरौटी नबुझाउने अडान राख्दै आएका छन् । हाल उनी कारागारमै अध्ययन र भलिबल, ब्याडमिन्टन खेलेर दिन काटिरहेको कारागार प्रशासनले जनाएको छ ।
‘वीरजंग र माइला लामाको हकमा बिरामी पनि हुनुभएकाले धरौटी नतिरी एकैठाउँमा बस्ने कुरा भएको थियो’ भण्डारीले अनलाइनखबरसँग भने, ‘अहिले चाहिं केन्द्रीय नेता पनि हुनुभएकाले सँगै रहेका अन्य बन्दीहरू नछुटुञ्जेल नतिर्नुभएको हुन सक्छ ।’
कतिपय कार्यकर्ताको चाहिं धरौटी तिर्ने हैसियत समेत नभएको अधिवक्ता भण्डारी बताउँछन् । ‘संखुवासभा, झापा, इलाममा रहनुभएका केही साथीहरूले अहिले पनि मलाई फोन गर्नुहुन्छ, उहाँहरूसँग धरौटी तिर्ने पैसा छैन’ भण्डारीले भने, ‘सरकारसँग सहमति भएकाले आफैं छुटिएला भनेर बस्नुभएको छ ।’
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सरकारसँग नेता, कार्यकर्तालाई निःशर्त छाड्ने सहमति भएकाले धरौटी वा अन्य शर्त अमान्य हुने बताउँछन् । ‘विगतमा धरौटी तिर्दा पनि षडयन्त्र भयो, सहमति भइसकेपछिको अवस्थामा निःशर्त सबै बन्दी रिहा हुनुपर्छ’ उनले अनलाइनखबरसँग भने, ‘सहमतिविरुद्ध षड्यन्त्र भयो भने सबैभन्दा नोक्सान सरकारलाई नै हुन्छ, त्यसैले सहमति कार्यान्वयन हुनेमा कुनै द्विविधा राखेका छैनौं ।’
पार्टीका नेता, कार्यकर्ता नछुटेपछि पार्टी महासचिव नेत्रविक्रम चन्दले दुई पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिसके । तर, बन्दी रिहाइमा ठोस प्रगति भएको छैन ।
बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै विप्लव ।
विप्लवले ९ चैतमा बालुवाटार पुगेर बन्दी रिहाइमा ढिलाइ भएको गुनासो गरेका थिए । प्रधानमन्त्री ओलीले पनि बन्दी छाड्ने प्रक्रिया थालिसकेको भन्दै छिट्टै कार्यकर्ताहरू छुट्ने आश्वासन दिएका थिए । यद्यपि, बन्दी रिहाइ प्रक्रिया शुरू नभएपछि ५ वैशाखमा वार्ता टोलीका सदस्यसहित पुगेर विप्लवले ओलीसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् ।
स्रोतका अनुसार, रिहाइको प्रक्रियामा अलमल हुँदा कार्यकर्ता पंक्तिमा राम्रो सन्देश नगएको विप्लवले प्रधानमन्त्रीसमक्ष भनेका थिए । जवाफमा ओलीले आफूहरू नेता, कार्यकर्ता छाड्ने विषयमा सकारात्मक रहेको र कानूनी जटिलता देखिएको बताएका थिए ।
विप्लवका तर्फबाट बनेको वार्ता टोलीका संयोजकसमेत रहेका प्रकाण्ड भन्छन्, ‘प्रचण्डले १४ वर्षमा पनि आफूमाथि लागेका मुद्दाहरू खारेज गर्न सकेका छैनन्, हामीले डेढ महीनामै कार्यकर्ता छुट्न ढिलो भयो भनेर प्रश्न गर्न मिल्दैन ।’ यद्यपि, प्रक्रिया चाँडै टुंग्याउने गरी सरकारले प्रयास गरिरहेको उनी बताउँछन् ।
१० वैशाख, काठमाडौं । वैशाख ६ गते बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीले ‘पार्टीको ध्यान नयाँ निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने’ उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘परिवर्तित सन्दर्भमा अब हाम्रो ध्यान मूलतः तीनवटा विषयमा केन्द्रित हुनुपर्छ– पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र नयाँ निर्वाचनको तयारी ।’
ओलीले मुलुकको तरल राजनीतिका कारण छिटो निर्वाचनमा जानुपर्ने सम्भावना पनि बढ्दै गएको र त्यसका लागि पार्टी पंक्तिलाई हमेशा तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरेका छन् ।
ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जाने निर्णय गरेयता उनको पार्टीमा थुप्रै परिवर्तन आएको छ । सर्वोच्च अदालतको फैसलापछि यसबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रा भएर नेकपा एमाले र माओवादी केन्द्र भइसकेको छ ।
अनि नेकपा एमालेभित्र पनि ओलीले कारबाही प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधव नेपाल समूह चर्को प्रतिवादमा छ । यसले एमाले पनि विभाजनको डिलमा छ । यी सबै कारणले पहिलेको तुलनामा एमाले कमजोर छ तर पनि यही अवस्थामा ओली निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भनेर चुनावका लागि जोडबल गरिरहेका छन् ।
तर, यति प्रतिकूल अवस्थामा पनि ओली किन निर्वाचनमा जाने कुरा गरिरहेका छन् ?
पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक एवं राजनीतिक विश्लेषक विष्णु दाहाल संसद आफ्नो अनुकूल नरहेको तर राज्यसंयन्त्र आफ्नो प्रभावमा रहेका कारण जति सिट आए पनि प्रधानमन्त्री ओली ‘अर्लि इलेक्सन’ को पक्षमा उभिएको बताउँछन् ।
अहिले विशेषतः नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहलाई ओलीले जुनसुकै बेला प्रतिनिधिसभा भंग गर्ने र निर्वाचनमा जाने भय छ ।
यही कारणले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अझै लिखित रूपमा फिर्ता लिएको छैन । समर्थन फिर्ता लिंदासाथ ओलीले विश्वासको मत लिनुपर्ने र ढिलो चाँडो फेरि प्रतिनिधिसभा भंग हुने बाटोमा मुलुक जाने बुझाइ माओवादीको छ ।
यो संसदले गतिरोधको निकास दिन नसक्ने
नेकपा मात्रै होइन एमाले स्वयं पनि विभाजित अवस्थामा देखिंदा समेत ओलीले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् । ओलीले बारम्बार यो संसदले राजनीतिक गतिरोधको निकास दिन नसक्ने बताएर चुनावको औचित्य पुष्टि गर्न खोजिरहेका छन् ।
सर्वाेच्चको फैसलालाई ओलीले कार्यान्वयन गरे पनि फैसलाप्रतिको उनको असन्तुष्टि सार्वजनिक रूपमा नै व्यक्त हुने गर्दछ । नेताहरूका अनुसार अहिले पनि यसलाई उनले ठूलो प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैले उनको ध्यान ‘अर्लि इलेक्सन’ मै छ ।
देशभर कति निर्वाचन क्षेत्र जित्न सकिन्छ भन्ने विषयमा ओली समूहले मदन भण्डारी फाउन्डेसनमार्फत अनौपचारिक सर्वेक्षण गरिरहेको छ
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि संसद अधिवेशनमा देखिएको गतिरोधलाई समेत ओली पक्षीय नेताहरूले प्रधानमन्त्रीको संसद भंगको निर्णय सही भएको पुष्टि हुँदै गएको बताउन थालेका छन् । जब ओलीले प्रतिनिधिसभा भंग गरे उनकै पार्टीको एक समूह, विपक्षी दल र नागरिक समाज त्यसको विरुद्धमा सडकमा उत्रियो । उनको राजनीतिक कदमलाई सर्वाेच्च अदालतले बदर गरिदियो ।
‘अर्लि इलेक्सन’ नभएको खण्डमा २० महीनापछि हुने नियमित निर्वाचन ओली आफ्नै नेतृत्वमा गराउन चाहन्छन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘प्रतिनिधिसभाले पूर्ण कार्यकाल पूरा गर्न पायो भने पनि आगामी २० महीनाभित्रै नयाँ निर्वाचन हुनेछ । स्थानीय तहको निर्वाचन त आगामी वर्षका लागि निर्धारित नै छ ।’
ओली निकट नेता एवं पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेल प्रधानमन्त्रीले संसद विघटनकै समयमा यो प्रतिनिधिसभाले अहिलेको राजनीतिक अस्थिरता र अन्तरविरोधलाई सम्बोधन गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको बताउँछन् । पोखरेल भन्छन्, ‘प्रतिनिधिसभा पुनस्थापना भएको पनि फागुन ११ बाट दुई महीना भइसक्यो तर अहिलेसम्म पनि यसले गतिरोध हटाउन सकेन ।’
संसद पुनस्र्थापनामा लाग्ने राजनीतिक शक्ति अहिले पनि वैकल्पिक सरकार बनाउन तयार छैन,’ उनले भने, ‘सडक आन्दोलन गर्ने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।’ पोखरेलका अनुसार अहिलेको प्रतिनिधिसभाले निकास दिंदैन त्यसैले ‘अर्लि इलेक्सन’ को विकल्प छैन ।
तर, प्रधानमन्त्रीले संसद भंग गरेर निर्वाचनको घोषणा गर्ने अनि समयमा निर्वाचन नहुने र संवैधानिक, राजनीतिक संकट बढ्ने आशंका पनि त्यत्तिकै छ । पार्टी कमजोर भएको समयमा आफैंले हार्ने निर्वाचन प्रधानमन्त्रीले गराउँछन् भन्नेमा शंका गर्ने जमात पनि ठूलो छ ।
विश्लेषक दाहाल ओलीको पार्टी कमजोर भएको तर त्योभन्दा पनि आफ्ना पार्टीका विपक्षीहरू झन् कमजोर भएकाले उनी चुनावमा जान चाहेको बताउँछन् । दाहालका अनुसार प्रधानमन्त्रीसँग यतिबेला राज्यसत्ता र पार्टी सत्ता दुवै छ र उनी राज्यसत्ताको बलमा पार्टी सत्तालाई जिताउन चाहन्छन् ।
दाहाल भन्छन्, ‘पार्टी सत्तामा आफू अनुकूल व्यक्तिलाई टिकट दिएर चुनावमा अरूसँग तालमेल गरेर भए पनि ओली आफ्नो पक्षलाई जिताउन चाहन्छन् र पार्टीभित्रका आफ्ना विरोधीको अस्तित्व नै नामेट पार्न योजनामा छन् ।’ उनका अनुसार त्यसैले चुनावमा जति सिट आए पनि ओली चुनावका लागि तयार छन् ।
ओलीको जोडघटाउ
ओली निकट नेताहरू अबको निर्वाचनमा पार्टीको यति नै सिट आउँछ भनी भन्न नसकिने तर मत चाहिं पहिलेको निर्वाचनको हाराहारीमा नै आउने दाबी गर्छन् । यद्यपि देशभर कति निर्वाचन क्षेत्र जित्न सकिन्छ भन्ने विषयमा ओली समूहले मदन भण्डारी फाउन्डेसनमार्फत अनौपचारिक सर्वेक्षण गरिरहेको छ ।
उनीहरूको दाबी अनुसार जनता समाजवादी पार्टीको माग सम्बोधन गरे लगत्तै मधेशमा पनि पार्टीको अवस्थामा सुधार आउनेछ भने ओलीको राष्ट्रवादी छविका कारण पहाड र काठमाडौं उपत्यकामा मत बढ्नेछ ।
नेता पोखरेलका अनुसार पार्टीले अबको निर्वाचनमा राम्रो गर्न सक्ने केही आधार छन् । उनका भनाइमा पहिलो, केपी ओली नेतृत्वको पार्टीलाई कम्युनिष्टहरूले स्वाभाविक रूपमा भोट दिन्छन् । दोस्रो, देशभक्त नेपालीले अब केपी ओली नेतृत्वको एमालेलाई मतदान गर्छन् । तेस्रो, सबै खालका धर्म, संस्कृति र मान्यता राख्नेहरूले ओली नेतृत्वको एमालेलाई मतदान गर्नेछन् ।
विश्लेषक दाहाल पनि केही महीना यता जति पनि विकास आयोजना सकिएका छन्, त्यसको जस आफूलाई आउँछ र निर्वाचनमा फाइदा हुन्छ भन्ने प्रधानमन्त्री ओलीले सोचेको हुनसक्ने बताउँछन् ।
यसबाहेक ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये ठूलो संख्या आफ्नो पक्षमा उभिने ओलीको बुझाइ हुनसक्छ । जुन आगामी निर्वाचनमा मानवीय र आर्थिक स्रोतसाधन प्रयोग गर्न सकिने संरचना पनि हो ।
कतिपय विश्लेषकहरूका अनुसार ओलीले नेपाली कांग्रेसभित्रको राजनीतिलाई पनि नजिकबाट नियालिरहेका छन् । भदौमा हुने कांग्रेसको महाधिवेशनलगत्तै मंसीरको निर्वाचनमा कांग्रेसभित्रको गुटबन्दी सेलाइनसकेको हुनाले त्यसको फाइदा आफूलाई हुने ओलीको विश्लेषण हुनसक्छ ।
विश्लेषक दाहाल भन्छन्, ‘कांग्रेस अहिले पनि आन्तरिक कलहमा छ र कांग्रेसको महाधिवेशनपछि निर्वाचन हुँदा कांग्रेसको गुट र उपगुटको झगडाले चुनावमा सबैभन्दा बढी फाइदा आफूलाई हुन्छ भन्ने विश्लेषण प्रधानमन्त्रीको हुनसक्छ ।’
‘राज्यका संस्थाहरूमा यतिबेला प्रधानमन्त्रीको बलियो पहुँच छ,’ दाहालले भने, ‘यी सबै हिसाबले परिस्थिति आफ्नो पक्षमा भएको लागेर उहाँ निर्वाचनमा जाने सोचाइमा पुग्नुभएको हुनसक्छ ।’
हो, अहिले केन्द्रदेखि स्थानीय तहसम्मको सत्ता र शक्ति ओलीसँग छ । संवैधानिक र प्रशासनिक संरचनामा उनको पकड छ । चार वर्षसम्म सत्तामा रहँदा गरेका केही काम र समयले उनलाई उद्घाटन गर्ने अवसर दिएका केही सीमित परियोजना उनीसँग छन् ।
तर, बलियो नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्रमा बदलिनु, स्वयं एमाले वडा तहसम्म ओली र नेपाल पक्षमा विभाजित मानसिकतामा हुनु अनि विपक्षमा बलियो जनाधार भएको नेपाली कांग्रेस दल हुनु यी कारणहरूमा तात्विक हेरफेर नहुँदासम्म ओलीका लागि आगामी निर्वाचन सहज हुने विश्लेषण तार्किक र वस्तुनिष्ठ नभएको मत पनि त्यति नै छ ।
१० वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले डिनर मिटिङको क्रममा अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ ।
गौतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् ।
गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत् सार्वजनिक गरेको कुराकानीको अंशअनुसार खाना खाने क्रम चल्दाचल्दै गौतम बालुवाटारबाट फर्किएका थिए ।
विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए ।
तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए, जसलाई ओलीले नकारेका थिए । त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन’ भनेर विदा भएका थिए । ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ,’ गौतमले भनेका छन् ।
१० वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको बताए ।
कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि ९ महिनासम्म पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । संक्रमण केही कम भएपछि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला गरिएको थियो ।
१० वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ देखि ७० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, सर्लाहीका २ जना र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
संक्रमितहरुमध्ये २६ जना छन् । संक्रमितहश्रको सिटी भ्यालु १४ देखि ३४ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
नारायणी अस्पतालको आइसोलेसनमा ३१ जना संक्रमित उपचाररत छन् । एक जना भेन्टिलेटरमा छन् । अन्य अधिकांशलाई अक्सिजन लगाएर राखिएको अस्पतालले जनाएको छ ।
९ वैशाख काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसिया टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।
नेपाल र नेदरल्याण्ड्स यसअघि नै शीर्ष दुईमा रहँदै फाइनल पुगिसकेकोले आजको खेल प्रतिष्ठाको लागि हुनेछ । नेपालले यसअघि मलेसिया र नेपालरल्याण्ड्सलाई समान ९ विकेटले पराजित गरेको थियो भने अर्को खेलमा नेदरल्याण्ड्ससंऊ ३ विकेटले पराजित भएको थियो ।
मलेसियाले भने अहिलेसम्म २ खेलमा हार बेहोर्दा एक खेल बराबरी खेलेको थियो ।
बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन्। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने दौडमा रहेका उनले केही साताभित्र धवलागिरिको शिखर चुम्ने अठोट लिएका हुन्। उक्त कीर्तिमान राख्न अब उनले धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।
आफ्नो युटुबमा भिडियो अपलोड गर्दै उनले भने, ‘यो आइतवार हामी धवलागिरि बेस क्याम्पमा पुगेका छौं। यो हाम्रो घर हो। जहाँबाट हामी शिखरमा पुग्ने सपना देख्दैछौं । सितो र लुइस नाम गरेका उनका दुई स्पेनिस साथीहरु र शेर्पाहरु आरोहण दलमा रहेका छन्।
तीन साताअघि स्पेनदेखि नेपाल पुगेका कार्लोसले दुई हप्ताको समय खुम्बु क्षेत्रमा ट्रेकिङ् गर्दै बिताएका थिए। त्यहाँबाट काठमाडौं फर्किएर गत साता उनि धवलागिर प्रस्थान गरेका हुन्।
उनलाई धवलागिरि हिमाल नौलो होइन । सन् १९९८ मा उनको पहिलो प्रयास थियो । दुई दशकयता १०औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् ।
उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।
शिखरमा पुग्दा कोभिड महामारीबाट मृत्यु भएका संसारभरका मानिसहरूलाई सम्मान प्रकट गर्ने कार्लोसले बताउँदै आएका छन्।
नयाँ वर्षको रौनक नै बेग्लै । नयाँ साल लाग्नु एक महिनाभन्दा अघिको हाम्रो तामझामको त झन् के कुरा ! सधैंजस्तो वैशाख १ गते वनभोज जाने तरखर हुन्थ्यो । गाउँका नौ–दश जना केटाकेटी मिलेर केही पैैसा उठाउँथ्यौं । वनभोजका लागि चाहिने सामान किन्न एक जिल्लाबाट अर्को जिल्ला जान्थ्यौं । अर्थात्, भोजपुरसँग सिमाना जोडिएको खोटाङ पुग्थ्यौं ।
गाउँका ‘भुराभुरी’ मिलेर हामी वैशाख १ गते बिहानै घरबाट स्टिलको थाल र बटुको बोकेर वनभोज खान जान्थ्यौं । कसैले घरबाट कराई, कसैले ताप्के, कसैले डाडु त कसैले पनिउँ बोकेर हिंड्थ्यौं । घरदेखि एक किलोमिटर पश्चिम ‘केप्छाकी टाहार’ सम्म वैशाख १ गते नयाँ वर्ष मनाउन हामी तम्तयार भइहाल्थ्यौं ।
वनभोज गएको समयमा हामी सबै मिलेर खानपिनको काममा व्यस्त र मस्त हुन्थ्यौं । कसैले दाउरा–झिक्रा खोज्ने, कसैले आगो बाल्ने, कसैले पानी ल्याउने त कसैले सब्जी केलाउने । सँगसँगै तयार हुन्थ्यो– बिहानको चिया र खाजा । आफ्नै बलबुताले बनाएको खानेकुरा यसै मीठो लाग्ने !
चिया–खाजा खाएपछि हामी तत्काल राष्ट्रिय खेल ‘डण्डिबियो’ खेल्थ्यौं । ‘डण्डिबियो’मा केही नियम हुन्थे । जस्तो, बियोलाई डण्डीले हान्ने र सीमित एउटा क्षेत्रभन्दा बाहिर गएमा त्यो मानिस आउट हुने । अथवा, त्यो बियो पक्रिएमा आउट हुने । बियोलाई डण्डीले हिर्काएपछि डण्डीले नाप्ने र स्कोर गणना गर्ने चलन हुन्थ्यो । यसरी केही घण्टा ‘डण्डिबियो’ खेलेर थकित ज्यान लिएर हामी पुनः वनभोजमा सरिक हुन्थ्यौं ।
वनभोज सकिएपछि साँझ ऐंसेलु खान्थ्यौं, घँगारुको लठ्ठी बनाउँथ्यौं र गाईवस्तुलाई घाँस काटेर घर फर्किन्थ्यौं । त्यतिबेलासम्म झ्याउँकिरीहरू मधुरो संगीतमा लीन भइसकेका हुन्थे भने जूनकिरीहरू हामी घर जाने बाटोमा मधुरो प्रकाश बनेर छाउँथे । अलि अबेला भयो भने घरमा गाली खाइने डर पनि उत्तिकै हुन्थ्यो । तर मनमा रमाइलोबाहेक अरू हुँदैनथ्यो । अहिले कम्प्युटरको किबोर्डमा लेखिरहँदा ती दिन र स्मृतिहरू आँखामा नाचिरहेका छन् ।
भोजपुरको एउटा विकट गाउँमा जन्मिएर हुर्किएको म हरेक वैशाख १ लाई एउटा स्मृति बनाएर सँगाल्न मन पराउँथें । आजको कोलाहलमा नयाँ वर्षको रौनक कहाँ भेटिनु ! सधैंको भागदौड र व्यस्तताले मान्छे बाँधिएको छ ।
नयाँ वर्ष आउनुपूर्व विद्यालयमा वार्षिक परीक्षा हुन्थ्यो । वार्षिक परीक्षा सकिने दिन मन परेका मित्रहरूबीच पत्रसँगै हिरो–हिरोइनका पोस्टर आदानप्रदान हुन्थ्यो । हरेक महिनाको ५ र २० गते लाग्ने सप्तमी बजारमा गएर पोस्टर किन्नुपथ्र्यो । आफ्नो मन परेको साथीका लागि पहिल्यै बजार गएर पोस्टर किनेर राख्ने गरिन्थ्यो । घरमा फलेको साग बोकेर सप्तमी बजारमा बेचेपछि आएको पैसाबाट केही पैसाले आमाले डुनोट किनिदिनुहुन्थ्यो । त्यो समय किनेर खाएको डुनोट–स्वादको प्रशंसा गरी के साध्य हुन्थ्यो !
घर फर्किने बेला राजेश हमाल, विराज भट्ट, रेखा थापा, निखिल उप्रेती, रमित ढुङ्गानाको पोस्टर किनेर फर्किनु नित्य कर्म नै थियो ।
अनि घर पुगेपछि भर्खरै चिचिला लाग्दै गरेका आल्चा खाँदै साथीलाई गफ लगाउनुको मज्जा । ती नयाँ वर्ष साँच्चै विशेष थिए । केटी साथीले केटालाई र केटाले केटी साथीलाई पोस्टर दिने चलन थियो ।
‘शहरको एउटा कुनामा बसेर मैले आफ्नो बालापन र नयाँ वर्षलाई स्मरण गरिरहेको छु । सम्झिरहेको छु– ‘डण्डिबियो’ खेल्ने साथीलाई । पोस्टर उपहार दिने मनहरूलाई । लप्सीको गुच्चा खेल्ने साथीलाई । र, मेरो प्रिय गाउँलाई !’
तर, मैले भने पोस्टर कसैलाई दिइनँ, बरु मलाई एकजना मिल्ने केटा साथीले नै अहिलेका महानायक राजेश हमालको पोस्टर दिएको थियो । मैले त्यो पोस्टर रातो माटो र कमेरोले पोतेको भित्तामा सजाएर वर्ष दिनसम्म राखें । यो कुरा हो, कक्षा ६ पढ्दाको । पोस्टरसँगै राता अक्षरले लेखिएको केही हुन्थ्यो–
‘नजिकको साथी । आउने साल भेट होला–नहोला तिमीलाई यो साल धेरै सम्झना है !’
सँगै लेखिएको हुन्थ्यो एउटा शायरी पनि–
‘वसन्तको सौगात तिमीलाई
म शिशिरको उजाड भए पनि
दुई शब्द उपहार छ तिमीलाई
केवल म मरेर गए पनि !’
प्राप्त गर्ने विवेक रेग्मी, पठाउने……फलानो । श्री कटुञ्जे माध्यमिक विद्यालय, धोद्लेखानी–३, भोजपुर ।
यसरी पत्रमित्रसँगै पोस्टर पठाउने र प्राप्त गर्ने प्रचलन स्मरण गर्दा म दुई दशक अगाडि गाउँमा हुर्किएको बालापनमा हराइरहेको छु । वास्तवमा गाउँलाई चलाउन न कुनै राज्य चाहिन्थ्यो, न कुनै संयन्त्र ।
स्कूलमा पढ्दा लप्सीको दानाले गुच्चा खेलेको कुराले झक्झकाउँछ, नयाँ वर्षमा । गुराँस ढकमक्क फुलेको, ऐंसेलु फक्रिंदै गरेको, घँगारुले नयाँ पालुवा दिइरहेको र उत्तिसको रूखले नयाँ पात दिइराखेको ।
यी कुराले त झन् नयाँ वर्षको आगमन भइरहेको आभास हुन्थ्यो । अहिले ती स्मरणले मनको ढोका ढक्ढक्याउँछ । दिन, महिना सँगै समय र परिस्थिति पनि फेरिंदोरहेछ । हिसाब गर्दै जाँदा समयले पनि कति छिटो नयाँ वर्ष दिएर जान्छ । ल्याइदिन्छ जिन्दगीमा पुराना दिनका यादहरू र बनाइदिन्छ भावुक !
अहिले सोच्छु– जिन्दगीमा कहिल्यै पनि फिल्म नहेरेका हामीलाई कसरी थाहा भयो होला हिरो हिरोइनको मुहार । कसरी थाहा भयो होला तिनै हिरो–हिरोइन त्यो समयका चर्चित हुन् !
यी सबै स्मृतिहरू अब सम्झनामा मात्रै हैन, इतिहासजस्तो बनेर उभिइरहेका छन्, पुराना पात्रोमा । समयले हरेक क्षण स्मृति मात्र दिंदोरहेछ । त्यसो त बालापन मात्रै नभएर जीवनको छोटो समयमै आएका आरोह–अवरोहले सधैं झक्झकाइरहेका हुन्छन् । अहिले शहर रेडिमेट शुभकामनाले भरिएको छ । शहर र गाउँको अन्तर शुभकामनामा मात्र हैन हरेक कुरामा हुँदोरहेछ ।
अहिले शहरको एउटा कुनामा बसेर मैले आफ्नो बालापन र नयाँ वर्षलाई स्मरण गरिरहेको छु । सम्झिरहेको छु– ‘डण्डिबियो’ खेल्ने साथीलाई । पोस्टर उपहार दिने मनहरूलाई । लप्सीको गुच्चा खेल्ने साथीलाई । र, मेरो प्रिय गाउँलाई !’ त्यो बेला दिमाग कलिलै थियो । तर पनि मन चिन्तनशील हुन्थ्यो, चिन्ताग्रस्त हुन्थेन । अहिले दिमाग छिप्पिएको छ । मन चिन्ताग्रस्त छ, चिन्तनशील छैन ।
ओहो ! मन त सम्हाल्न सक्ने भइसक्दा पनि स्मृतिको सागरमा डुब्न मन पराइरहँदोरहेछ ।