Monday, May 4, 2026
Home Blog Page 1244

घरेलु मैदानमा उपाधि जित्दा खुसी लागेको छ : कुशल भुर्तेल

0

१२ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज शुरु हुनु दुई दिन अघि नेपालले अन्तिम प्रशिक्षण सकाएपछि कुशल भुर्तेलले राष्ट्रिय टिममा खेल्ने इच्छा व्यक्त गरेका थिए ।

सन् २०१९ मै नेपालबाट एसीसी इमर्जिङ टिम्स कप खेल्दै लिस्ट ए मा डेब्यू गरेका उनी टी–२० अन्तर्राष्ट्रियमा भने डेब्यूको पर्खाइमा थिए । २०१९ डिसेम्बरमा नेपालमै भएको १३औं सागमा टिममा रहेपनि उनले खेल्ने अवसर पाएनन् । त्यसैले यस पटक १५ सदस्यीय अन्तिम टोलीमा परेका उनी घरेलु मैदानमा डेब्यूको अवसर हेरिरहेका थिए । शुरुमा उनीसँगै आसिफ शेखमध्ये एक जनाले कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्ने योजना थियो ।

तर ४ वैशाखमा सिरिज हुने अघिल्लो दिन पूर्वकप्तान पारस खड्का चोटका कारण टिमबाट बाहिरिएपछि दुवैको भाग्य खुल्यो । कप्तान ज्ञानेन्द्र तेस्रो नम्बरमा सिफ्ट भए ।

कुशल भुर्तेल र आसिफ शेख दुवैले नेदरल्याण्ड्ससँग सिरिजको पहिलो खेल खेल्दै डेब्यू गरे । नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दा कुशलले सर्वाधिक ६२ रन बनाए । उनी सन्दीप जोरापछि टी–२० अन्तर्राष्ट्रिय डेब्यूमै अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । त्यही खेलमा आसिफले अविजित ५४ रन बनाए । पहिलो विकेटका लागि दुवैले ११६ रनको साझेदारी गरे ।

सिरिजको शुरुवातको कथा थियो यो ।

एक हप्तासम्म चलेको सिरिजमा नेपालले फाइनलमा शनिबार त्यही नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्यो । नेपालले अहिलेसम्मकै उच्च स्कोर २३८ रन बनाउँदा उनै कुशलले सर्वाधिक ७७ रन बनाए । जुन उनले एकै सिरिजमा प्रहार गरेको चौथो अर्धशतक थियो । उनी लिग चरणमा मलेसियाविरुद्धको एक खेलमा मात्र अर्धशतकबाट चुके ।

त्यसअघि उनले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान नै बनाए । सिरिजभर ५ खेलमा उनले चार अर्धशतकसहित सर्वाधिक २७८ रन बनाए ।

नेदरल्याण्ड्स जस्तो टिमलाई एकै सिरिजमा दुई पटक पराजित गर्दै नेपालले उपाधि जित्दा उनै कुशल म्यान अफ दी सिरिज बने । जसवापत् उनले बजाज पल्सर एनएस–२०० मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

खेलपछि सञ्चारकर्मीसँग बोल्दै घरेलु मैदानमा पहिलो टी–२० सिरिज उपाधि जित्दा कुशलले खुसी व्यक्त गरे । ‘निश्चय पनि राम्रो लागिरहेछ । मेरो प्रदर्शन राम्रो भयो । धेरैपछि होममा सिरिज (ट्रफी) जित्यौं,  खुसी छौं,’ २४ वर्षीय भुर्तेलले भने, ‘यसैका लागि हामीले धेरै अघि देखि योजना बनाएका थियौं । विश्वकप छनोट आउँदैछ । हाम्रो खेल राम्रो भयो । त्यसमा हाम्रो शुरुवात भयो ।’

नेपालले यसअघि सन् २०१० मा नेपालमै भएको डिभिजन ५ को उपाधि जितेको थियो । त्यो ५० ओभरको थियो । घरेलु मैदानमा नेपालले पहिलो पटक त्रिकोणात्मक सिरिज खेलेको हो र पहिलो पटकमै उपाधि जित्यो । नेपालले यसअघि दुई देश सहभागी दुईवटा टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको थियो । तर तीन देश सहभागी भएर फाइनल खेल्दै उपाधि जितेको यो पहिलो पटक हो ।  नेपालले अब २०२२ को शुरुमा टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ ।

भुर्तेलले यसअघि पनि नेपालको लागि खेलिसकेका थिए । तर आईसीसीबाट मान्यता प्राप्त टी–२० पहिलो पटक खेलेका हुन् । तैपनि उनलाई डेब्यू जस्तो कुनै फिल भएन । त्यसैले घरेलु मैदानमा मज्जाले खेले । उनको ब्याट गज्जबसँग चल्यो ।

‘पहिला पनि इमर्जिङ टिम्स कपमा खेलिसकेको थिएँ । डेब्यू भनेर त्यस्तो केही थिएन । राम्रो क्रिकेट खेल्नुपर्ने थियो । मलाई विश्वास गरेकोमा टोली  प्रशिक्षकलाई धन्यवाद,’ उनले टिमतर्फ इशारा गर्दै भने,’ ‘खेल पनि राम्रो भइहाल्यो । प्रदर्शन पनि गरिहालें । खुसी लागेको छ ।’

सन् २०१९ मा ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले इमर्जिङ टिम्स कप खेल्दा कुशलले ज्ञानेन्द्रसँगै ओपनिङ गरिसकेका थिए । उनले भारतको इमर्जिङ टिमसँग खेल्दै लिस्ट एमा डेब्यू गरेका थिए । त्यसपछि हङकङ र बंगलादेशको इमर्जिङ टिमसँग खेलेका थिए । ज्ञानेन्द्रसँग ओपनिङ गर्दा उनले ६० बल खेल्दै ४ चौका मद्दतमा २८ रन बनाएका थिए । त्यसपछि हङकङविरुद्ध १ रनमा आउट भएका उनले बंगलादेशविरुद्ध १० रन जोडेका थिए ।

त्यसपछि नेपालको सिनियर टिमका लागि उनले यही सिरिजमा खेलेका हुन् ।

कुशलले फाइनलमा विपक्षीले योजना बनाएपनि आफ्नो खेल खेलेको बताए । ‘योजना सबैको लागि बनाए होलान् । मेरो काम शुरुवात राम्रो गर्ने हो । मैले शुरुवात दिन सकेपछि फिनिसरहरु थियो राम्रो गर्छन् भन्ने थाहा थियो । दीपेन्द्र र कुशलले राम्रो फिनिस गरे,’ उनले थपे ।

भुर्तेलको ७७ रन अनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमक ब्याटिङमा नेपालले ३ विकेट मात्र गुमाएर २३८ रन बनाएको थियो । कुशल मल्लले आफ्नो पहिलो टी–२० अर्धशतक समेत बनाए ।

नेपाललाई च्याम्पियन बनाउन ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका भुर्तेलले ६९.५० को औसतमा २७८ रन बनाए । उनको स्ट्राइक रेट १४०.४० थियो । उनले २४ चौका र १६ छक्का प्रहार गरे भने फिल्डिङ समेत उत्कृष्ट गर्दै ४ क्याच लिए ।

नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दै ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियासँग अविजित ६१ रन बनाए । त्यसपछि नेदरल्याण्ड्ससँग फेरि ६२ रन बनाएका उनी अर्को खेलमा मलेसियासँग १६ रनमा आउट भए । फाइनलमा भने उनले आफ्नो व्यक्तिगत उच्च स्कोर बनाए ।

एउटै सिरिजमा चार अर्धशतक बनाउने नेपाली खेलाडी बनेका भुर्तेलले एकै सिरिजमा धेरै रन बनाउने नेपाली खेलाडीको कीर्तिमानसमेत बनाए । यसअघि २०१९ मा भएको १३औं सागमा कप्तान ज्ञानेन्द्रले ३ खेलमा १४८ रन बनाएका थिए । यस्तै उनले टी–२० मा नेपालका लागि सर्वाधिक ४ अर्धशतक बनाउने पारस खड्काको कीर्तिमानीसँग बराबरी गरे । पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

यसैगरी डेब्यू सिरिजमै म्यान अफ दी सिरिज हुने भुर्तेल दोस्रो खेलाडी बने । यसअघि सन् २०१९ मा युएई विरुद्धको टी–२० सिरिजमा डेब्यू गर्दै बलर अविनाश बोहरा म्यान अफ दी सिरिज बनेका थिए ।

अनलाईनखर बाट साभार

१५०० जनाले एकैपटक मःमः खाएर गिनिजबुकमा नाम लेखाउने प्रयास

0

नेपालको मौलिक खानाको रुपमा रहेको मःमःलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नको लागि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गराउने तयारी सुरु भएको छ। गिनिज बुकको डिजिटल माध्यमबाट समेत आफ्नो प्रतिभा देखाउन सकिने नयाँ नियम अनुसार नेपालीहरूले एकसाथ म:म: खाएर वर्ल्ड रेकर्ड कायम गराउनको लागि यो अभियान सुरु भएको हो । यो अभियानमा जोडिनको पैसा लाग्दैन ।

यस अभियान अन्तर्गत् १५०० जना जुममार्फत् जोडिएर एकैसाथ मःमः खान लागिएको छ । त्यसको लागि इच्छुक व्यक्तिलाई फेसबुक पेज मार्फत् जोडिन आह्वान गरिएको छ। उक्त अभियानमा अष्ट्रेलियामा बस्ने दीपेश श्रेष्ठ, रहेन्द्र श्रेष्ठ र आशिषराज आचार्यले आयोजना गरेका हुन् ।

नेपाली परम्परागत खानाको प्रचारप्रसार गर्ने उद्देश्यले मःमः खाएर गिनिज बुकमा नाम लेखाउने प्रयास गरिएको आयोजकमध्येका एक दीपेश श्रेष्ठले जानकारी दिए । यसको यकिन मिति तय नभइसकेको भए पनि यसमा सहभागी हुन इच्छुक १५०० जना पुगेपछि यसको मिति तय गर्ने तयारी रहेको आयोजकमध्येका श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अहिले गिनिजबुकले डिजिटल माध्यमबाट पनि आफ्नो प्रतिभा देखाउन सक्ने प्रावधान अन्तर्गत गत नोभेम्बरमा लण्डनका १२९ जनाले पिस एण्ड चेप्स खाएर गिनिज बुकमा रेकर्ड राखेका थिए । ‘रेकर्ड राख्नको लागि अब १३० जनाले सँगै बसेर खाना खाए पनि हुन्छ । तर फेरि सहजै अरुले रेकर्ड नतोडून् भनेर १५०० जनासँगै बसेर मःमः खाने लक्ष्य राखिएको हो’ श्रेष्ठले भने ‘मासुको डल्लोलाई पिठोले बेरेर परिबार बनाउने संस्कार नेपालबाहेक अन्त पनि छ । तर मःमःको संस्कार अन्त छैन । संसारका सबै इण्डियन रेस्टुरेन्टमा मःमः पाइन्छ र यसलाई भारतीय परिकारको रुपमा ब्राण्डिङ गर्न थालिएकोले यसलाई नेपाली परिकारको रुपमा गिनिजबुकमा नाम लेखाउन लागिएको हो ।’

नेपालीहरुमा अनेकतामा एकता रहेको जस्तै मःमः भित्रपनि अनेकतामा एकतायुक्त परिकार रहेकोले त्यसलाई गिनिजबुकको रेकर्डका लागि छनोट गरिएको श्रेष्ठ बताउँछन्। अहिले उक्त अभियानका लागि फेसबुकमा मःमः वल्र्ड रेकर्ड नामको अभियान समेत चलेको छ । यो अभियान अन्तर्गत् तोकिएको दिन र तोकिएको समयमा जुममा अनलाइन आएर १ प्लेट (१० वटा म:म:) खानु पर्ने उल्लेख छ । जसमा आफ्नो रुचि अनुसार जुन म:म: खान पनि सकिन्छ ।

अनलाईनखर बाट साभार

आज ३ बजे सीसीएमसीको बैठक बस्दै

0

१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आइतबार अपरान्ह ३ बजे बस्दैछ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा निर्देशक समितिको बैठक बोलाइएको हो ।

सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बैठक बोलाइएको पुष्टि गरे । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

यसैबीच, आइतबार दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तत्काल देशव्यापी लडडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने बताएका छन् ।

अनलाईनखर बाट साभार

उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह : खाली सिलिण्डर भर्नुस्

0

१२ वैशाख, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।

गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो, यस वर्ष त्यस्तो नहोस् भनेर खाली सिललिण्डर भर्न भनेका हौं,’ अध्यक्ष भण्डारीले अनलाइनखबरसँग भने । ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए । भारतबाट नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।

ग्यासको आपूर्ति व्यवस्थालाई चुस्त बनाउन र अभाव कतैबाट पनि नहोस भनेर व्यवसायीलाई सचेत गराइएको नेपाल आयल निगमले जनाएको छ । ‘गत वर्ष उपभोक्ता त्रसित हुँदा आपूर्ति चेनमा केही समय असर पर्‍यो । यो वर्ष त्यो हुनु भएन भनेर हामीले पूर्वतयारी गर्न भनेका हौं,’ निगमका प्रवक्ता विनितमणि उपाध्ययले अनलाइनखबरसँग भने ।

ग्यासको आपूर्ति नियमित रुपमा भइरहेको भएपनि पाइन्जेल चुप लागेर बस्ने र अभाव भएपछि लाइन लाग्ने उपभोक्ताको स्वभावलाई सुधार गर्न यस पटक पहिल्यै तयारी गरिएको उपाध्यायको भनाइ छ । भारतको धेरै टाढा रहेको पारादीप, हल्दीय, मथुरा लगायतका ठाउँबाट ग्यास ल्याउनुपर्ने र ती क्षेत्रमा कोरोना कहर बढी रहेका कारण सामान्य अवस्था रहँदै क्षमताले भ्याएसममको भण्डारण गनै नीतिमा निगम रहेको उनले बताए ।

अघिल्लो महिना अहिलेसम्मकै धेरै चार अर्ब रुपैयाँ बराबरको ४७ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको पनि निगमले जनाएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार नेपालमा दैनिक ८० हजार सिलिण्डर र मासिक २६ लाख ७६ हजार ५७ सिलिण्डर ग्यास खपत भइरहेको छ ।

अनलाईनखर बाट साभार

प्रश्नपत्र आउट गराएको आरोपमा १० जना पक्राउ

0

१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो ।

उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन् ।

पक्राउ पर्ने कोमलप्रसाद गौतम विश्वविद्यालयको फोटोकपी फाँटमा काम गर्ने कार्यालय सहायक हुन् । अरु भने विद्यार्थीहुन्।

मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङका अनुसार विश्वविद्यालयको फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर पुर्‍याएका हुन् । उनीहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाहीका लागि अनुसन्धान गरिरहेको डीएसपी मुकारुङले जानकारी दिए ।

अनलाईनखर बाट साभार

डाक्टरसहित कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द

0

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ।

अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ।

बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन्।

सेतोपाटी बाट साभार

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटी बैठक

0

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।

ओलीले आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाएका हुन्।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक बस्न लागेको सेतोपाटीलाई बताए।

बैठकका एजेन्डा खुलाइएको छैन।

ओलीले आकस्मिक रूपमा यो बैठक राखेका हुन्।

यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए।

ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। तीमध्ये अधिकांसले स्पष्टीकरण बुझाइसकेका छन्।

सेतोपाटीबाट साभार

पाकिस्तानी प्रधानमन्त्रीले गरे भारतीयका लागि प्रार्थना

0

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संकटको घडीमा भारतीय जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहेको बताएका छन् । ‘भारत बासी खतरनाक लहरसँग लडिरहेका छन् । म उनीहरुको शीघ्र स्वास्थ लाभको प्रार्थना गर्दछु । मानवताका साथ मिलेर हामीले यो वैश्विक चुनौतीसँग लड्नुपर्छ,’ उनले भने ।

कोरोनाविरुद्ध लड्नका लागि तय गरिएका मापदण्डहरु पालना गर्न उनले शुक्रबार देशवासीसँग अपिल गरेका थिए । ‘मानिसहरुले आफ्नो बचाउका लागि स्वास्थ मापदण्ड पालना गरेनन् भने हामीले त्यही स्थिती सामना गर्नुपर्ने हुन्छ, जो अहिले भारतले गरिरहेका छ,’ इमरानले भनेका थिए ।

अवस्था तिव्र रुपमा बिग्रिएकाले आगामी दिनमा देशमा लकडाउन लगाउनुपर्ने पनि हुनसक्ने उनले बताएका थिए । उनले कोभिड १९ का मापदण्डहरुको पालना गराउनका लागि सेनासँग पनि मद्दत मागेका थिए । सबैले मास्क लगाउने हो भने आधा समस्या आफैं समाप्त हुने उनले बताएका थिए ।

रातोपाटीबाट साभार

कोरोनाबारे बालुवाटारमा ब्रिफिङ : आदेश नमाने लकडाउन !

0

भीडभाडका साथ धरहराको उद्घाटन गरेपछि बालुवाटार फर्केका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपरान्ह कोरानाको जोखिम कसरी नियन्त्रण गर्ने भन्ने उपायको खोजीमा लागे । बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा एउटा महत्वपूर्ण बैठक बस्यो । बैठक कोरोनाको बढ्दो जोखिमबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङका लागि आयोजना गरिएको थियो ।

बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरूको सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीका तर्फबाट प्रस्तुती गरिएको थियो ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अधिकारीहरुले पनि प्रस्तुती गरेका थिए ।

आदेश पालना नभए लकडाउन !

स्रोतका अनुसार शनिबारको ब्रिफिङमा सहभागी सबैको साझा निष्कर्ष के थियो– सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना भएन । कलेजका विद्यार्थीहरु पनि सडकमा देखिए । सार्वजनिक यातायात र फुटपाथको भीडभाड पनि उस्तै देखियो । कार्यालयहरूमा कर्मचारी घटेका छैनन्, जात्रा र कार्यक्रमहरुमा भीडभाड देखियो । सिमानामा होल्डिङ सेन्टरहरु बनाउने भने पनि आवतजावत अनियन्त्रित रह्यो । अस्पतालहरुमा बेड र स्वास्थ्य सामग्रीको अभाव हुन थालिसक्यो । सबैतिर लठिभद्र स्थित देखियो ।

यसरी सरकारी आदेश र निर्णयको कार्यान्वयन नभएको अवस्थामा जोखिम बढ्न सक्ने भन्दै यस्तो अवस्थामा यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यकालमा आधा कर्मचारीमात्र राख्ने प्रावधानमा जानुपर्ने हुन सक्ने सरकारी कर्मचारीले प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाएको स्रोतले बतायो ।

बैठकमा सहभागी एक कर्मचारीका अनुसार शनिबार बालुवाटारमा ब्रिफिङ मात्रै भएको हो, त्यहाँ कुनै निर्णय भएको छैन । लकडाउन गर्नुपर्ने हुन सक्छ भन्ने निष्कर्ष निस्किए पनि त्यसबारे कुनै निर्णय भएको छैन ।

ती कर्मचारीले रातोपाटीसँग भने, ‘सरकारले जारी गरेको आदेश पालना भएन भने त लकडाउनमा जानुपर्ने हुन सक्छ, तर अहिले भीडभाड घटाएर चेन ब्रेक गर्नुपर्छ भन्नेमै स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयको जोड छ ।’

रातोपाटीबाट साभार

२४ घण्टामा नेपालमा थपिए २४ सय ८६ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

0

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७५ सय २५ पीसीआर परीक्षणबाट शनिबार २४ सय ८६ जना संक्रमित फेला परेको हो । त्यस्तै ११ सय ४३ एन्टिजेन परीक्षणबाट १३३ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

२४ घण्टामा ३६८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको छ । सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् भने क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

कान्तिपुरबाट साभार