Monday, May 4, 2026
Home Blog Page 1243

कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

0

१३ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न आग्रह गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बीमा प्रभावकारी रुपमा लागू गर्न पनि संघले माग गरेको छ ।

संघले चिकित्सकलाई सुरक्षाका उपाय अपनाएर आफू सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न आगह गरेको छ । त्यस्तै कोभिड-१९ को नयाँ भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउन पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संघले आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

अनलाईनखर बाट साभार

कोरोना भाइरसविरुद्धको खोप लगाउन खचाखच लाइन

0

१३ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामाे लाइन लागेको छ ।

चीनमा विकास भएको खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो म हिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने हतारले कोचाकोच गरेर लाइन बसेका थिए ।

नेपालमा चैत २५ गतेदेखि चिनिया खोप लगाउन सुरु गरिएको थियो । कोरोना महामारी फैलिएसँगै मानिसहरुमा खोप लगाउने चाहना बढेको छ ।
अनलाईनखर बाट साभार

त्रिभुवन विश्‍वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

0

१३ वैशाख, काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

सोमबार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड- १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको प्रक्रियामा रहेका सम्‍पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्‍चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्‍चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्‍वविद्यालयद्वारा सञ्‍चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्‍मका लागि स्थगित गरिएको…छ ।’

यसअघि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । तर, त्रिविले सोमबार अबेर सूचना निकालेर १३ गतेको परीक्षा यथास्थितिमा राखेर १४ गतेदेखि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको सूचना जारी गरेको हो ।

हेर्नुहोस् त्रिविको सूचना

अनलाईनखर बाट साभार

कोशी कोभिड अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा

0

१३ वैशाख, विराटनगर । सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।

कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्‍दै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

१८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन् । उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र पाँचजना डाक्टर कार्यरत छन् ।

सामाजिक विकास मन्त्रालयले पठाएकी एकजना नर्स बाहेक अन्यले काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । काममा फर्कनका लागि उनीहरुले सरकारले तोकेको न्यूनतम सुविधा पाउनुपर्ने माग राखेका छन् ।

सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त पाएका डाक्टर नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ । कोरोना सङ्क्रमण घटेपछि एक महिना विदा बसेका उनीहरुले पून नियुक्ति पाएपछि काममा फर्किएका थिए । तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताए ।

‘विरामीको सेवामा खटिदा उच्च जोखिम हुन्छ, तर न्यूनतम सुविधा दिनुहोस् भन्दा मन्त्रालयले चासो दिएन्,’ आन्दालेनमा रहेकी एक नर्सले भनिन्,‘ महामारीमा अग्रपंक्तिमा रहेर लड्दा हाम्रा बारेमा राज्यले सोचिदिएन ।’

कोभिडको पहिलो लहरमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले होटल स्टनस्टारमा क्वारेन्टाइन बनाएको थियो ।

दोस्रो लहरमा भने मन्त्रालयले घरबाटै आउन भनेको छ । घर नभएकाहरुलाई भने उपचार केन्द्र नजिकै रहेको पुराने घर छुट्याइएको छ । तर पुरानो घर व्यवस्थीत नभएको स्वास्थ्यकर्मीको गुनासो छ । स्वास्थ्यकर्मीलाई खाना पनि गुणस्तरयूक्त नदिएको उनीहरुले गुनासो छ ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले स्वास्थ्यकर्मीले उठाएको जायज माग प्रदेश सरकारले सम्बोधन गर्ने बताए । उनले काम छाड्ने भए पनि नर्स र डाक्टरले एक्कासी छाड्न नमिल्ने बताए ।

‘ मैले सचिवज्यूसँग कुरा गरेको छु, उहाँले जायज माग सम्बोधन गर्ने बताउनु भएको छ,’ उनले भने,‘ एक्कासी काम छाडेर जान मानवीयताका हिसाबले पनि दिँदैन ।’

अनलाईनखर बाट साभार

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा स्थगित

0

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो ।

कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन् ।

विमानमा चियाले पोल्दा १ करोड क्षतिपूर्ति

0

आयरल्याण्डका एकजना १३ वर्षीय बालकसँग हवाइ यात्राका दौरान एउटा दुर्घटना भएको थियो । उक्त घटनालाई लिएर उनको आमाले एअरलाइन्समाथि मुद्दा दायर गरेकी थिइन् । चार वर्ष पछि  अदालतले उनलाई क्षतिपूर्ति बापत् ठूलो धनराशी प्रदान गर्न आदेश दिएको छ ।

आयरल्याण्डका ती १३ वर्षीय बालक एमरे कराक्या हवाई जहाजबाट डब्लिनबाट इस्तानबुल जाने क्रममा उक्त दूर्घटना घटेको थियो ।  उनको खुट्टामा क्याबिन क्रुको एक सदस्यले उम्लिरहेको चिया खसालेकी थिइन् । लामो उपचारपछि पनि उनको खुट्टामा दाग बसेको थियो ।
चार वर्ष अघिको उक्त घटनामा एमरे एकदमै डराएका थिए । उनको आमाले   टर्किश एयरलाइन्समाथि मुद्दा दायर गरिन् । आमाका अनुसार  दुर्घटनापछि उनको छोराले ठुलो शारीरिक तथा मानसिक कष्ट भोग्नुपर्यो । उनले अदालतलाई एमरेको खुट्टा चियाले एकदमै नराम्रो पोलेको तथा घाउ ठीक हुन चार हप्ताको समय लागेको बताइन् । उपचारपछि  पनि उनको खुट्टामा दाग नगएको उनको भनाइ छ ।

एमरेकी आमाका अनुसार उनको छोराको अवस्था यति गम्भिर थियो कि उपचारका लागि प्लास्टिक तथा ‘रिकन्स्ट्रक्टिभ सर्जन’ कहाँ लिएर जानु परेको थियो ।

यस  मुद्दामा फैसला सुनाउँदै  न्यायधीशले टर्किश एयरलाइंसलाई  ५६ हजार पाउण्ड (झण्डै एक करोड नेपाली रुपैयाँ ) क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।

रातोपातीबाट साभार

बागमती प्रदेश : अविश्वास प्रस्ताव टार्न मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री

0

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पद जोगाउन यही साता मन्त्रिपरिषद् विस्तार गर्दैछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ जना मन्त्री र सात राज्यमन्त्रीसहित मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

मुख्यमन्त्री पौडेलले सामजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्रीहरु थप गर्दैछन् । त्यसैगरी ७ वटै मन्त्रालयमा राज्यमन्त्रीहरु नियुक्त गरिँदै छ । त्यसका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ । मन्त्रीहरुका लागि कार्यकक्ष तयारी अवस्थामै छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट अरुण नेपाल र सामाजिक विकास मन्त्रालयबाट युवराज दुलालले गत पुस १० गते राजीनामा दिएपछि रिक्त रहेको पदमा नयाँ मन्त्री नियुक्त गर्न लागिएको हो ।

सबै मन्त्रालयमा राज्यमन्त्रीसमेत नियुक्त गर्न लागिएको छ । यसअघि कसैलाई पनि राज्यमन्त्री बनाइएको थिएन । राज्यमन्त्रीहरूको लागि कार्यकक्षको व्यवस्थापनमा दौडधूप सुरु भएको छ ।

राज्यमन्त्रीको लागि कार्यकक्ष र आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए । यही हप्ताभित्रै मन्त्रिपरिषद् विस्तारको लागि मुख्यमन्त्रीले पार्टीसँग आवश्यक समन्वय गरिरहेको स्रोतले बताएको छ ।

गत पुस १० गते आफ्नै पार्टीभित्रबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलको पद धरापमा परेको थियो । सर्वोच्च अदालतले पार्टीको एकीकरण खारेज गरी नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् हुने फैसला गरेपछि पौडेलको पद जोखिएको थियो ।

तर, अहिले पनि एमालेमा नेपाल–खनाल पक्षधर सांसदहरु, नेपाली काँग्रेस र माओवादी केन्द्रसमेत मुख्यमन्त्रीविरुद्ध एकै ठाउँमा उभिन सक्ने स्थिति बन्न थालेपछि उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नेकपा एमालेको ओली पक्षका सांसदहरुबीच आन्तरिक द्वन्द्व नहोस् भन्नका लागि उनीहरु समेतलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको स्रोतले बताएको छ ।

बागमती प्रदेश सरकारले सञ्चालन गर्न लागेको विद्युतीय बस खरिद प्रक्रिया रोक्न, मदन भण्डारी फाउण्डेसनलाई आर्थिक कार्यविधि स्वीकृत नगरी ५० लाख रुपैयाँ दिइएको र निजी कम्पनीसँगको सम्झौता रद्द नगरी सुरुङ मार्गको काम अघि बढाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध पार्दै आएका छन् । यही अवस्था रहने हो भने बागमती प्रदेशको बजेट अधिवेशनसमेत प्रभावित हुने देखिएको छ ।

रातोपातीबाट साभार

प्रधानमन्त्री ओलीका दुई अलपत्र सपना

0

‘नबुझ्ने मान्छेले अलिक समय पानीको बाल्टीमा कागज हालेर उडाउँछन्, हेर्दाहेर्दै कोसी, गण्डकी र कर्णाली स्टिमरबाट जान्छौँ । हाम्रो ढुवानी हुन्छ, हाम्रो रेल, हाम्रो ट्रक, हाम्रो पानीजहाज मजाक उडाउने विषय हो र ? पानीजहाज निदाएको बेला होइन, बिउँझेको बेला भनेको हुँ । मेरा साथीले दिवास्वप्न भन्नुभयो । हो मैले दिउँसै देखेको सपना हो । राति निदाएको बेला होइन ।’

वाम गठबन्धनको सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रमको बचाऊ गर्दै २०७५/७६ को बजेट आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको विचार हो यो । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसको बचाउ गर्दै संसद्मा ओलीले माथिको वाक्यांश बोलेका थिए ।

प्रधानमन्त्री ओलीले देखेको पानीजहाजको सपनाको प्रगति कति भयो त ? यो समीक्षात्मक विषय हो ।

२०७५ फागुन ११ मा उनै प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरिएको नेपाल पानीजहाजको कार्यालय आफैं कानुन र जनशक्तिविहीन देखिएको छ ।

नेपाल पानीजहाज दर्ता तथा सञ्चालन ऐनको मस्यौदा पानीजहाज कार्यालयले गत वर्ष नै मातहतको मन्त्रालय पठाएको थियो । तर, त्यसको अहिलेसम्म अत्तोपत्तो छैन । १६ जनाको दरबन्दी रहेको कार्यालयमा १० जना कर्मचारी छन् । त्यसमा पनि प्राविधिक २ जना मात्र छन् । यसले पनि काम गर्न समस्या भएको कार्यालयको दाबी छ ।

पानीजहाज कार्यालयले चालू आर्थिक वर्ष ७ करोड बजेट पाएको थियो । त्यसमा चैत मसान्तसम्म ६९ लाख २ हजार चालूतर्फ खर्च भएको छ भने पुँजीगत खर्च ८१ लाख ७१ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयले आगामी आर्थिक वर्षका लागि भने ७ करोड ६५ लाख रुपैयाँको बजेट सिलिङ पाएको छ ।

सुरुमा जसरी बजेटमा पानीजहाजले प्राथमिकता पाउँथ्यो पछिल्लो समय कार्यालयले पाएको बजेट सिलिङलाई नै हेर्दा पानीजहाज कम प्राथमिकतामा पर्न थालेको हो कि भन्ने चिन्ता कार्यालयका कर्मचारीको छ ।

पानीजहाज कार्यालयले अहिले चारवटा नदीमा सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ । पूर्वमा कोसीको चतरादेखि तुम्लिङटार, नारायणीको त्रिवेणीदेखि देवघाट हुँदै राम्दी र कर्णालीको खक्रौलादेखि खिमडीसम्म जल यातायात सम्भाव्यताको अध्ययन गरिरहेको जनाएको छ ।

सम्भाव्यता अध्ययनको जिम्मा टीएमएस आईएस रीति र मल्टी एससी जेभीले पाएको छ । यी दुवै नेपाली परामर्शदाता कम्पनी हुन् । पानीजहाज कार्यालयका प्रवक्ता राजन श्रेष्ठले चालू आर्थिक वर्षभित्र अध्ययन सकिने बताएका छन् । गत वर्ष नै सम्भाव्यता अध्ययन गर्ने भनिए पनि कोरोनाको कारण पछाडि धकेलिएको श्रेष्ठको दाबी छ ।

यता, नारायणी नदीमा स्टिमर चलिरहेको भनिए पनि त्यसको नियमन छैन । के कति चलेको छ, कसरी चलेको छ भनेर अनुगमन गर्ने कानुनी आधार पानीजहाज कार्यालयसँग नभएकाले रेकर्ड राख्न नसकिएको श्रेष्ठको भनाइ छ । उता नेपालले आफ्नै ध्वजावाहक पानीजहाज राख्नुपर्यो भने पनि २०२७ सालमा बनेको ऐनले नपुग्ने अवस्था रहेको श्रेष्ठ बताउँछन् ।

चालू आर्थिक वर्षकै बजेटमा नेपालको आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट भारतसम्म जानसक्ने गरी पूर्वाधार निर्माण तथा कानुनी व्यवस्था गर्ने भनिए पनि यो व्यवस्था बजेटको बुँदा नं. २४५ मा मात्रै सीमित बनेको छ ।

६ महिनादेखि घाम ताप्दै रेल…

झण्डै ६ महिनाअघि भारतबाट ल्याइएका दुई थान रेल धनुषामा घाम तापेर बसेका छन् । रेल सेवा सञ्चालनका लागि ऐन, निर्देशिका, जनशक्ति व्यवस्थापन र सञ्चालनयोग्य ट्र्याक नै तयार छैन । तयारीबिना ल्याइएको रेल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने जिम्मेवारी निकाय नै जवाफ दिन सक्तैन । भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहायताबाट न्यारो गेजबाट ब्रोड गेजमा स्तरोन्नति गरिएको जयनगर–जनपुर रेल सञ्चालनका लागि दक्ष जनशक्ति नहुँदा थन्किएको रेल विभागले जनाएको छ । रेल्वे कम्पनीबाट आवश्यक जनशक्ति उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको भनिएको छ ।

नेपालमा जति पनि रेलमार्गहरु बनिरहेका छन् त्यसमा राष्ट्रिय स्तरको मात्र बोलपत्र गरिन्छ जसले सबै काम उनीहरुले मात्र गर्न सक्ने अवस्था छैन । अहिले सडक बनाएका ठेकेदारबाट रेलका लागि सडक निर्माण गरेको विभागका एक कर्मचारी बताउँछन् ।

विभागका अर्का सिनियर डिभिजन इन्जिनियर अमन चित्रकार अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गरेर प्याकेजमै सबै काम उनीहरुलाई दिँदा नेपालमा छिटो रेल कुद्न सक्ने बताउँछन् । एक दुई सय किलोमिटरको दूरी लिएर समग्र काम (ट्र्याक बेल्ट निर्माण गर्ने, गिट्टी बिछ्याउँने, पथ्री बिछ्याउने, स्टेसन बनाउने लगायत सबै काम) अन्तर्राष्ट्रिय कन्ट्रयाक्टरलाई दिन सके छिटो रेल सञ्चालनमा आउन सक्ने चित्रकारको बुझाइ छ ।

रेल मार्गको प्रगति कति ?

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि बजेटमा रेल सेवा र पानीजहाज सञ्चालनको लागि विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा रेल सेवा सञ्चालन र निर्माणका लागि ८ अर्ब ९१ करोड रुपैयाँ र जल यातायात सञ्चालन गर्न १ अर्ब ३८ करोड रुपैयाँ बजेट छुट्याएका थिए ।

फागुनसम्म ५ अर्ब १८ करोड ३१ लाख विनियोजन भएको मध्ये १ खर्ब ९१ करोड २६ लाख खर्च भएको विभागले जनाएको छ ।

पूर्व–पश्चिम रेलमार्ग : यसमा बर्दिबासदेखि पश्चिम निजगढ खण्डमा ट्र्याक बेल्टको काम भइरहेको छ । बर्दिबास निजगढका लागि ७० अर्ब कुल लागत लाग्ने अनुमान भएकोमा हालसम्म २० अर्ब खर्च भएको छ । यो जग्गा प्राप्तिको लागि मुआब्जा वितरणसमेतको रकम हो । अधिकांश रकम मुआब्जामा खर्च भएको छ । छुटफुटबाहेक सो खण्डको मुआब्जाको काम सकिएको विभागको भनाइ छ ।

यता रक्सौल–काठमाडौँका लागि सम्झौता गर्ने निर्णय नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेको छ । तर सम्झौता भइनसकेको चित्रकारले बताए । अहिले भारतको विषम परिस्थितिका कारण एमओयू अड्किएको हो । रक्सौल काठमाडौँ ब्रोडगेजमा निर्माण गर्ने भनिएको छ ।

पूर्व–पश्चिम रेलमार्गलाई काँकडभिट्टा–इनरुवा, इनरुवा–बर्दिबास, बर्दिबास–निजगढ, निजगढ–तमसरिया, तमसरिया–बुटवल, बुटवल–कोहलपुर, कोहलपुर–सुख्खड–गड्डाचौकी गरी ७ खण्डमा विभाजन गरिएको छ ।

काठमाडौँ चक्रपथ मेट्रोरेल : यसका लागि सन् २०११÷१२ मै सम्भाव्यता अध्ययन गरिएको हो । त्यसमा काठमाडौँ उपत्यकामा पाँचवटा लाइन बनाउने भनिएको हो । पहिलो लाइन सातदोबाटोबाट नारायण गोपाल चोकसम्म हो । यसको डीपीआर गर्न विभागले काम अगाडि बढाएको छ ।

अन्तर्राष्ट्रिय परामर्शदाता (भारत) ले काम गर्न थालेको थियो, तर सातदोबाटोबाट नारायणगोपाल चोकसम्म जाँदा मछिन्द्रनाथको लिक पर्ने भन्दै नबनाउन विरोध भइरहेको छ । ललितपुर र काठमाडौँ महानगरपालिकाबाट सो क्षेत्रमा रेल गुडाउन नमिल्ने भन्ने कुरा आएकाले यसलाई के गर्ने भन्ने नै अन्योल छ ।

केरुङ–काठमाडौँ रेलमार्ग :  चिनियाँ पक्षले आफ्नो हिसाबमा गरेको विभागको दाबी छ । तर भौतिक रूपमा नै यहाँ आएर गर्न सक्ने अवस्था छैन । कोभिड कन्ट्रोल भए पनि काम अगाडि बढाउने सहमति नोभेम्बरमा भएको विभागले जनाएको छ ।

रातोपातीबाट साभार

बन्द भएको १०० वर्ष पुरानो घडी भूकम्पको धक्कापछि चल्न थाल्यो

0

१२ वैशाख, काठमाडौं । भूकम्पीय जोखिमको दृष्टिले जापान विश्वमै सर्वाधिक खतरनाक देश हो । यसको कारणचाहिँ जापान पृथ्वीको सबैभन्दा अशान्त टेक्टोनिक प्लेटमाथि पर्नु नै हो । अशान्त टेक्टोनिक प्लेटकै कारण जापान संसारमै सर्वाधिक भूकम्पको केन्द्रकै रुपमा रहेको छ ।

भूकम्पकै कारण जापानमा एउटा अनौठो घटना भएको छ । जापानमा एक सय वर्ष पुरानो बन्द भएको एउटा घडी भूकम्पकै कारण पुनः चल्न थालेको छ ।

यो घटना जापानको यमामोटोमा भएको हो । यमामोटोको एक बौद्ध स्तुपमा एक सय वर्ष पुरानो एउटा विशाल आकारको घडी राखिएको थियो । तर सन् २०११ मा जापानमा गएको विनाशकारी भुइँचालोका कारण उक्त घडी बन्द भयो । त्यसबेलादेखि स्तुपको उक्त घडी चलेको थिएन । तर गत फेब्रुअरीमा गएको भूकम्पपछि चाहिँ सो घडी पुनः चल्न थालेको छ ।

भूकम्पकै कारण १० वर्षसम्म बन्द भएको घडी भूकम्पकै धक्काले चल्न थालेको घटनाले धेरैलाई अचम्मित बनाइदिएको छ । कतिपयले चाहिँ भूकम्पले हल्लाउँदा घडी भित्र जम्मा भएको धूलो झरेको र घडी चल्न थालेको हुनसक्ने लख काटेका छन्।

दश वर्षसम्म बन्द भएको घडी भूकम्पपछि चल्न थालेसँगै त्यहाँ सो घडी निर्माता कम्पनीका एक प्रतिनिधि समेत पुगेर अवलोकन गरेका थिए ।

सन् २०११ मा गएको भूकम्पपछि आएको सुनामीको छाल स्तुपभित्र समेत छिरेर मन्दिरलाई तहसनहस बनाइदिएको थियो । सुनामीबाट स्तुपका खम्बा तथा छत मात्र बँचेका थिए । एउटा खम्बामा टाँगिएको हुनाले उक्त घडीलाई पनि पानीले बगाएन।

सुनामी पश्चात् स्तुपाको पुनर्निर्माण भयो । उक्त घडी मर्मत गर्ने प्रयास भएपनि त्यो सफल भएन । जसका कारण घडीलाई बन्द भएकै अवस्थामा भित्तामा टाँगियो । तर मर्मत गर्दा पनि नचलेको सो घडी भूकम्पको एक धक्काबाट पुनः चल्न थालेको हो ।

अनलाईनखर बाट साभार

मेजाईको उपहार

0

एक डलर ८७ सेन्ट । जम्मा रकम त्यति नै थियो । त्यसमध्ये पनि साठी सेन्ट त पेनीहरूमा मात्र थियो । पेनी अर्थात् अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ, अझ भनौं, अमेरिकी एक पैसाको ढ्याक ।

धेरैवटा पेनी गनेर किनकान गर्ने किसिमका ग्राहक आइलाग्दा किराना वा तरकारी र मासु पसलेहरूलाई सधैं हत्तु–हैरान हुने गर्दथ्यो । पसलेलाई पैसा तिर्नुपर्दा धेरै पेनी दिँदा कहिलेकाहीं दुई–चार पेनी कम दिए पनि खासै फरक पर्दैनथ्यो ।

त्यसो गरेर केही पेनी बचाउन पनि सकिने हुन्थ्यो । डेलाले तीनपटक त्यो रकम गनेकी थिई । एक डलर ८७ सेन्ट । भोलिपल्ट क्रिसमसको चाड थियो ।

अब गर्नुपर्ने थप अरू केही बाँकी थिएन, सिवाय पुरानो सोफामा थचक्क बस्ने र खुइय्य आवाज सुसेल्नेबाहेक । डेलाले पनि त्यही गरी । जीवनयापन सम्बन्धी एउटा नैतिक प्रश्न उसमा बेलाबखत उठिरहने गथ्र्यो । जीवनका आरोह–अवरोह, हाँसो–रुवाइ, सुविधा–असुविधा आदि सबै कुराले उसलाई नराम्ररी जकडेका थिए ।

खासमा उसलाई अप्ठ्यारा, असहजता र असुविधाले धेरै अँठ्याएका थिए । खुसीभन्दा अवसाद (निराशा)का क्षणहरू नै धेरै थिए । यसले गर्दा ऊ जीवनसित सन्तुष्ट पनि त थिइन ।

यसरी घरकी लक्ष्मी, स्वयम् गृह–स्वामिनीको अवस्था नै थकित, गलित, क्लान्त र क्रमशः खस्कँदै गइरहेको थियो भने घरको स्थितिप्रति पनि एक नजर लगाउनु उचित हुन्छ ।

प्रतिसाता आठ डलर तिर्नुपर्ने गरी लिइएको औसत फर्निचरसहितको एउटा फ्ल्याट । ठ्याक्कै हेर्दा त्यो आवास कुनै भिखारीको बासस्थान जस्तो नै त थिएन तापनि आफ्नो दयनीय अवस्थाले गर्दा अमेरिकी नगरहरूमा भिखारी अथवा जथाभावी गर्दै हिँड्ने घरबारविहीनहरूलाई पक्राउ गर्ने दायित्व बोकेको प्रहरी जत्थालाई आमन्त्रण गर्ने किसिमको भने पक्कै थियो ।

भोलि क्रिसमसको दिन थियो तर पैसाको नाममा ऊसित केबल १.८७ डलर मात्र थियो र त्यही रकमबाट उसले जिमका लागि केही उपहार किन्नुपर्ने थियो । उसले पेनी–पेनी गरेरै भए पनि आफूले जोगाउन सक्ने जति रकम महिनौंदेखि जोगाउँदै आइरहेकी थिई ।

भवनको प्रवेशद्वार ठूलो थियो । त्यसमा एउटा थोत्रो पत्र–मञ्जूषा थियो तर त्यसमा कुनै पनि किसिमको चिठी–पत्र खसाल्न मिल्दैनथ्यो । त्यही सानो मञ्जूषामाथि बिजुलीबाट चल्ने एउटा संकेत–घण्टी (डोर बेल) पनि थियो । त्यो पनि कति पुरानो र खिइसकेको थियो भने कसैगरी पनि बज्दैनथ्यो । कसैले बजाउन त के कुरा छुनै समेत सक्दैन्थ्यो । योसँगै त्यहाँ एउटा नामपाटी पनि झुण्डिएको थियो र त्यसमा लेखिएको थियो, ‘श्रीजेम्स डिलिङ्गम योङ ।’

त्यसो त ‘डिलिङ्गम’भनेर लेखिएको शब्द कुनै बेला कायम सम्पन्नताको क्षणमा हावाको लहरसँगै यता र उता लहरिने पनि गथ्र्यो । यो त्यो बेला थियो जतिखेर त्यसको मालिकले प्रतिसाता तीस डलर रकम पाउने गथ्र्यो ।

अहिले, जतिखेर साप्ताहिक आय घटेर बीस डलरमा खुम्चिएको थियो, ‘डिलिङ्गम’ भनेर संकेत गर्ने अक्षरहरू पनि धमिलिएका र खिइएका देखिन्थे । र, मानौं ती अक्षरले अब केवल अत्यन्त साधारण किसिमले ‘डी’ अक्षरसित मात्र नयाँ सम्झौता गर्न चाहिरहेका थिए !

तर, जति जति बेला श्री जेम्स डिलिङ्गम योङ घर आइपुग्थ्यो र आफ्नो फ्ल्याटमा प्रवेश गथ्र्यो, ऊ ‘जिम’ भनेर पुकारिन्थ्यो र श्रीमती जेम्स डिलिङ्गम योङ –जसलाई हामीले यसअघि नै डेला भनेर चिनिसकेका छौं– ले न्यानो आलिङ्गनले स्वागत गर्थी । यो सबै कुरा स्वभाविक थियो र सुन्दर पनि ।

डेलाले खुइय्य गर्न छोडिन, सुँक्कसुँक्क पनि गरिन । बरु अनुहारमा पाउडर आदिले शृङ्गार गरी, झ्यालनिर उभिन पुगी र बाहिरतिर हेर्न थाली । बाहिरको वातावरण पूरै मलिन त थिएन तापनि डेलाको मन अनि हृदयभित्रको नैराश्य र उत्साहहीन जस्तै अनाकर्षक भने थियो । उमंगहीन थियो, कुनै स्फूर्ति जगाउने किसिमको थिएन ।

भोलि क्रिसमसको दिन थियो तर पैसाको नाममा ऊसित केबल १.८७ डलर मात्र थियो र त्यही रकमबाट उसले जिमका लागि केही उपहार किन्नुपर्ने थियो । उसले पेनी–पेनी गरेरै भए पनि आफूले जोगाउन सक्ने जति रकम महिनौंदेखि जोगाउँदै आइरहेकी थिई ।

बीस डलरमा एक साताभरि घरको सम्पूर्ण खर्च–पर्च चलाएर केही बचत पनि गर्न खोज्नु त्यत्ति व्यावहारिक थिएन । त्यसमा पनि साप्ताहिक खर्च उसले सोचेभन्दा जहिल्यै धेरै हुने गथ्र्यो । भएको रकमभन्दा साप्ताहिक खर्च नै बढी हुन्थ्यो ।

अब अहिले जिमका निम्ति क्रिसमस उपहार किनिदिनका लागि ऊसित केवल १.८७ डलर मात्र संकलन हुनसकेको थियो । उसको आफ्नो ‘जिम’ । उही जिमका लागि केही अत्यन्त राम्रो, कुनै अति सुन्दर उपहार किनिदिने अनेक योजना बनाउँदै उसले घण्टौं सुखद समय बिताएकी थिई ।

उसले किन्ने उपहार सुन्दर, विशिष्ट र मूल्यवान हुनेछ– केही त्यस्तो उपहार जुन चाहिँ जिमले प्रयोग गर्ने वस्तुको गरिमाअनुकूल हुनुपर्नेछ ।

उनीहरू बस्ने कोठामा दुईवटा झ्याल थिए । ती झ्यालहरूको बीचमा रहेको भित्ताको खाली भागमा एउटा अग्लो तर साँघुरो सस्तो ऐना मिलाएर राखिएको थियो । सायद तपाईं पाठकले पनि यस किसिमको लामो साँघुरो ऐना देख्नुभएको होला ।

कुनै दुब्लो अथवा सुगठित शरीर भएको मानिसले यो ऐना हेर्नुपर्‍यो भने उभिएकै ठाउँमा घुम्दै र पटकपटक गर्दै मात्र त्यसमा आफ्नो प्रतिबिम्ब हेर्न सक्थ्यो । डेला पातली थिई, त्यस कारणसमेत उसले त्यसरी ऐना हेर्ने कलामा निपूर्णता हासिल गरिसकेकी थिई ।

अचानक ऊ मख्ख पर्दै झ्यालबाट फनक्क फर्किई र हतार–हतार ऐना अगाडि उभिन पुगी । उसका आँखामा गज्जबको चमक थियो तर लगत्तै उसको अनुहार भने ओइलाएजस्तो भयो । छिटो छिटो उसले आफ्नो बाँधेको कपाल फुकाई, त्यसलाई पूरा खुलै छोडिदिई र ऐना हेर्न थाली ।

‘जिम, मेरो प्यारा, मलाई त्यसरी न हेर न । मैले आफ्नो कपाल काटें र त्यसलाई बेचिदिएँ, किनभने क्रिसमसको बेला तिमीलाई कुनै उपहार नदिइकन म त बाँच्न पनि सक्दिन थिएँ ।’

यहाँनिर जेम्स डिलिङ्गम योङ्हरूसित दुई कुरा थिए र ती दुवै कुरामाथि उनीहरूलाई गज्जबको गर्व पनि थियो । ती दुईमध्ये एउटा थियो– जिमको सुनौला घडी, जुन उसको पिताको थियो र पिताका पनि पिताको थियो । र, अर्को थियो– डेलाको बाक्लो, लामो अनि सुन्दर कपाल । उसको कपालको सुन्दरताको त के कुरा गर्नु ?

शीबा प्रदेशकी अपूर्व सुन्दरी महारानी नै आएर यदि उनीहरू बस्ने फ्ल्याटकै वरिपरि बसोबास गरिरहेको भए पनि मौसूफ सरकारका तमाम गर–गरहना र उपहारहरूलाई मात गर्ने गरी डेलाले आफ्नो लामो कपाल त्यही झ्यालबाहिर तलसम्मै आउने गरी सुकाउने थिई । महाराजा सोलोमनले आफूसित भएजतिका स्वर्ण–आभूषणसहितको तमाम खजाना त्यही फ्ल्याटको तल्लो भाग (बेसमेन्ट)मा राखेको भए पनि जिम त्यस ठाउँ वरिपरिबाट भएर आउजाउ गर्दा उसले हरेकपटक खल्तीबाट आफ्नो घडी बाहिर झिक्थ्यो र हेथ्र्यो । उता दाह्री मुसार्दै महाराजा सरकार ईष्र्यापूर्वक उसलाई हेरिरहेका हुन्थे ।

डेलाको सुन्दर कपाल अब मानौं उसैमाथि खसेको थियो, लहराउँदै र झरनाबाट खसिरहेको जलप्रवाह जस्तै चम्किइरहेको । कपाल उसको घुँडालाई ढाक्दै अझ तलसम्म पुग्यो र उसका लागि त झन्डै सर्लक्कको बस्त्र जस्तै हुन गयो ।

उसलाई रमाइलो लाग्यो र मक्ख पर्दै फेरि एकपटक त्यस्तै गरी । त्यसो गर्दागर्दै ऊ एकपटक लडखडाई र लगत्तै एकछिनसम्म उभिएर यताउता हेरी । दुई थोपा आँसु खस्यो र भूईंको रातो गलैंचामा बिलायो ।

डेलाले आफ्नो पुरानो खैरो ज्याकेट लगाई, अनि पुरानै खैरो ह्याट पनि । ज्याकेट सुहाउँदो स्कर्ट फर्फराउँदै र आँखामा उही अघिकै चमक यथावत् राख्दै ऊ ढोकाबाहिर निस्की । लगत्तै भर्‍याङबाट ओर्लेर ऊ बाहिर पसलहरूतिर जाने सडकमा फूर्तिसाथ हिँडिरहेकी थिई ।

जुन पसलअगाडि पुगेर ऊ रोकिएकी थिई, त्यसमाथि राखिएको साइनबोर्डमा लेखिएको थियो, ‘म्याडम सोफ्रोनी । सबै किसिमका कपाल पाइने ठाउँ ।’ हस्याङ–फस्याङ गर्दै डेला पसलभित्र पसी । स्वाँ–स्वाँ गर्दै त्यहाँ पुगेकी उसले अब स्वयम्लाई सामान्य अवस्थामा रहेको देखाउने प्रयास गरी ।

साहुनी अर्थात् म्याडम सोफ्रोनी ठूलो ज्यान, औधी श्वेत वर्ण र ठाडो स्वभाव भएकी महिला थिई । नामको सुन्दरतासित उसको शरीर र अनुहारको कुनै साइनो थिएन ।

‘तपाईंले मेरो कपाल किन्नुहुन्छ ?’ डेलाले सोधी ।

‘मैले कपाल किन्ने गरेकी छु,’ साहुनीले भनी, ‘तपाईंले आफ्नो ह्याट झिक्नुस् । तपाईंको कपाल कस्तो भनेर एक नजर हेर्न त पर्‍यो ।’

डेलाले ह्याट झिकी । साहुनीले कपाल हेरी– झरनाको बगिरहेको पानीजस्तो सुन्दर, बाक्लो, मुलायम, लामो खैरोकपाल ।

‘बीस डलर,’ आफ्नो ‘व्यवसायिक सीप’ देखाउँदै साहुनीले भनी ।

‘ल, ल, हुन्छ । मलाई छिटै त्यो रकम दिनुस्,’ डेलाले भनी ।

मेरी बास्सै, त्यसपछिका दुई घण्टा त मानौं मलमलका पखेटा फिँजाएर उडेजस्तो पो बिते । यहाँ प्रयुक्त रूपक र लक्षणलाई भुलिदिनुस् । खासमा डेलाले त जिमका लागि उपहार किन्ने भनेर त्यहाँ भएभरका पसल चहारेकी थिई ।

अन्ततः आफूले खोजेको जिनिस उसले फेला पारी । डेलालाई लाग्यो– त्यो जिनिस वास्तवमा जिमकै लागि भनेर बनेको थियो, अरू कसैका लागि भनेर होइन । अन्य कुनै पनि पसलमा यस किसिमको सामान थिएन, उसले सबै पसलमा भित्र–बाहिर गएर उत्सुकता, सतर्कता एवम् हार्दिकतापूर्वक हेरेकी थिई ।

त्यो जिनिस गोजी घडीमा लगाउन मिल्ने प्लाटिनमको सानो सिक्री थियो, आवरणबाट अत्यन्त आकर्षक तर भित्रबाट प्रायः, केही नभएको– जस्तो, अक्सर सबै राम्रा वस्तु हुने गर्दछन् । यसो भए पनि यो वस्तु घडीका लागि अत्यन्त सुहाउँदो र बढी सुन्दर पनि थियो । त्यो सिक्री देख्ने बित्तिकै डेलालाई थाहा भइसक्यो, यो चाहिँ निश्चय पनि जिमकै लागि बनेको हो । यो ऊ (जिम) जस्तै पनि त छ । शान्त, स्निग्ध र गुणवत्ता– दुवैमा उत्तिकै मिल्ने प्रवृत्ति ।

पसलेले त्यसका लागि ऊसित एक्काइस डलर लियो, र ऊ बाँकी ८७ सेन्ट लिएर हतारिंदै घर फर्की । उसलाई लागिरहेको थियो– आफ्नो गोजी घडीमा त्यो सिक्री राखेपछि  जिम जहाँ भए पनि, जहाँ पुगे पनि समयका बारेमा यथोचित तवरबाट चनाखो भइरहनेछ । उसले घडीजस्तै भव्य एवम् आकर्षक त्यो सिक्रीलाई घरिघरी नियालिरहनेछ किनभने अहिलेसम्म उसले सिक्रीको ठाउँमा छालाको पुरानो र सस्तो फित्ता प्रयोग गरिरहेको छ ।

डेला जति बेला घर पुगी, झल्याँस्स उसलाई केही कुराले ब्युँझाएजस्तो भयो । उसले आफ्नो कपाल सजाउन प्रयोग गर्ने कर्लिङ आइरन निकाली, ग्यास चुल्हो बाली र प्रेममा समर्पण गर्नका लागि देखाएको उदारताबाट मिलेको असरलाई सकेसम्म मिलाउने र काँटछाँट गर्न थाली । (पाठक मित्रहरू, यो चाहिं जहिले पनि जबर्जस्त काम हो, दारुण अनि वृहत् काम हो ।)

चालीस मिनेटभित्रैमा उसको टाउको साना–साना र घुँघराला रौंले ढाकियो, यसले गर्दा ऊ स्कुलमा अक्सर अनुपस्थित रहने उटुङ्ग्याहा विद्यार्थीजस्तो देखिन पुगी । उसले ऐनामा आफूलाई लामो समयसम्म हेरीरही, सतर्कतापूर्वक, र आलोचक बनेर पनि ।

‘यदि जिमले मलाई मारेन भने,’ उसले आफैंसित कुरा गर्दै भनी, ‘उसले ममाथि दोस्रोपटक हेर्नुभन्दा पहिले नै म न्युयोर्कको चर्चित कोनी आइल्यान्डका ‘कोरस गल्र्स’ नर्तकीहरू जस्तो देखिएकी छु भनेर भन्नेछ । तर, मैले के गर्न सक्छु र– हरे ! जम्मा एक डलर सतासी सेन्ट रकमबाट मैले के नै पो गर्न सक्छु र ?’

सात बजे कफी तयार भयो र चप पकाउनका लागि ताबा तातै रहने गरी चुल्होको पछाडिपट्टि राखियो ।

जिम कहिल्यै ढिलो गर्दैन थियो । डेलाले गोजी घडीको सिक्री दोब्रयाउँदै हातमा राखी र ऊ सधैं भित्र छिर्ने ढोका छेउमा राखिएको टेबलको कुनातिर गएर बसी । त्यही बेला उसले बाहिर तल भर्‍याङको पहिलो खुड्किलोमा जिमका पाइतालाको आवाज सुनी, निमेषभरका लागि उसको अनुहार सेतो भएर आयो । उसको एउटा बानी थियो, दैनिक जीवनका सबै झिना–मसिना कुराहरूलाई लिएर मौन प्रार्थना पुटपुटाउने । र, अहिले पनि उसले आफूले मात्र सुन्ने गरी पुटपुटाउँदै भनी, ‘हे दैव, कृपया उसलाई म अझै उस्तै राम्री छु भनेर सोच्ने बनाइदेऊ ।’

ढोका खुल्यो । जिम भित्र पस्यो र ढोका बन्द गर्‍यो । ऊ दुब्लो थियो र निकै गम्भीर देखिन्थ्यो । बबुरो, भर्खर बाइसौं वर्षमा टेकेको थियो र पनि परिवारको बोझ बोकिरहेको थियो ! उसलाई नयाँ ओभरकोट चाहिएको थियो, त्यसमाथि ऊसित हात छोप्न पञ्जा पनि थिएन ।

जिम ढोकाबाट भित्रतिर हिंड्न खोज्यो तर अनायास स्तब्ध भयो र अवाक् एकै ठाउँ उभिइरह्यो, शिकार देखेर त्यसमाथि झम्टिन तम्तयार एकटक अडिएको शिकारी जस्तो भएर ।

उसका आँखा डेलामाथि एकोहोरिएका थिए । ती आँखामा केही थियो जसलाई उसले बुझ्न पनि सकिन र पढ्न पनि । ऊ त बरु भयभीत भई, र आतंकित जस्तै पनि । आँखाको त्यो भाकामा न रिस थियो न विस्मय, न असहमति थियो न आतंक र न त्यस्तो कुनै पनि भाव थियो, जसको सामना गर्ने भनेर ऊ तयार भएरै बसेकी थिई ।

जिमले अनुहारमा उही विशेष भावाभिव्यक्ति यथावत् राख्दै उसैलाई एकोहोरो हेरिरह्यो ।

डेलाले टेबल सरक्क सारेजस्तो गरी र जिम भएतिर गई ।

हामीले एकअर्काका लागि भनेर ल्याएका क्रिसमस उपहारहरू केही समयका लागि अलग्गै राखौं । ती उपहार अहिले नै प्रयोगमा ल्याइहाल्नका लागि त्यति उपयुक्त छैनन् । मैले तिम्रा लागि काइँयो किन्ने भनेर आफ्नो घडी बेचिसकेको छु ।

‘जिम, मेरो प्यारा,’ उसले भनी, ‘मलाई त्यसरी न हेर न । मैले आफ्नो कपाल काटें र त्यसलाई बेचिदिएँ, किनभने क्रिसमसको बेला तिमीलाई कुनै उपहार नदिइकन म त बाँच्न पनि सक्दिन थिएँ । यो त फेरि पनि बढ्दै जान्छ र लामो पनि भइहाल्छ– तिमीले यसलाई अन्यथा लिंदैनौ नि, होइन त ? कसो गरूँ, मैले यसो नगरी धरै पाइन के !

मेरो कपाल त एकदम छिटो पो बढ्छ । ल त जिम, ‘मेरी क्रिसमस’ भन अनि हामी दुवैजना खुसी होऔं, रमाऔं । तिमीलाई अझै थाहा छैन, मैले तिम्रा लागि भनेर कति राम्रो, कति सुन्दर र कति आकर्षक उपहार ल्याइदिएकी छु ।’

‘तिमीले त आफ्नो कपालै काटिछौ ?’ जिमले गाह्रो मानी मानी सोध्यो, मानौं कठिनतम मानसिक परिश्रमपछि पनि ऊ अझै डेलाले कपाल काटेको यथार्थ पत्याउन सकिरहेको थिएन ।

‘हो त, मैले यसलाई काटें र बेची पनि दिएँ,’ डेलाले भनी, ‘यस्तो जे भए पनि तिमीले मलाई पहिले जस्तै गरी मन त पराइरहन्छौ नि ? कपाल नभए पनि म मजस्तै त छु नि, होइन र ?’

अत्यन्त उत्सुक हुँदै जिमले कोठाको चारैतिर नजर दौडायो ।

‘के भनेको तिमीले, कता गयो तिम्रो कपाल ?,’ उसले सोध्यो, अनुहार र आवाजमा लगभग पटमूर्ख भावभंगी भरेर ।

‘तिमीले यतातिर हेर्दै नहेरे हुन्छ र केही सोच्दै नसोचे हुन्छ,’ डेलाले भनी, ‘यो त बिक्री भइसक्यो, म तिमीलाई फेरि पनि भन्छु– यो बिक्री भइसक्यो र लोप पनि भइसक्यो । आज क्रिसमसको पूर्वसन्ध्या हो, साथी । मप्रति राम्रो बन र त्यस्तै राम्रो व्यवहार पनि गर किनभने यो कपाल त तिम्रै लागि लोप भएको हो ।

हुनसक्छ, मेरो टाउकोमा भएको रौं गन्न सकिने संख्यामा थियो होला,’ अचानक उसको आवाजमा गम्भीर मिठास भरिएर आयो, ‘तर तिम्रा लागि मभित्र रहेको प्रेमलाई कसैले गन्न सक्दैन । जिम, के मैले अब चप पकाउन बसाल्दा हुन्छ ?’

लगत्तै आफ्नो अचेतन अवस्थाबाट जिम चाँडै ब्युँझियो । उसले आफ्नी डेलालाई अँगालोमा बेर्‍यो । दश सेकेन्डका लागि हामी दुई फरक दिशा र भिन्न धारमा भएका कुनै कम आवश्यक वस्तुहरूको सचेत एवम् सन्तुलित जाँच–परख गरौं ।

प्रतिसाता आठ डलर अथवा प्रतिवर्ष दश लाख डलर– फरक के छ ? यसको प्रतिउत्तरमा कुनै पनि अंकगणितशास्त्री अथवा कुनै चतुर विद्धानले तपाईंलाई गलत जवाफ दिनेछ ।

मेजाईहरूले एकअर्काका लागि भनेर अमूल्य उपहार ल्याएका थिए तर त्यसको उपादेयता स्वयम् उनीहरूका लागि भने थिएन । यो अँध्यारो पक्ष कथामा पछि उज्यालोमा आउनेछ ।

जिमले आफ्नो ओभरकोटको खल्तीबाट एउटा सानो प्याकेट झिक्यो र टेबुलमा हुत्याएजस्तो गर्‍यो ।

‘मेरोबारेमा अन्यथा केही नसोच, डेल,’ उसले भन्यो, ‘मलाई के लाग्दैन भने कसरी कपाल काट्ने अथवा दाह्री–जुँगा खौरिने अथवा कुन साबुन–स्याम्पू प्रयोग गर्ने भन्ने कुनै कुराले पनि मलाई आफ्नी प्रेमिकाभन्दा न्यूनतर तुल्याउन अथवा कमजोर देखाउन सक्छ । तर, त्यो प्याकेट खोल्यौ भने थाहा पाउनेछ्यौ, शुरुमै तिमीले मलाई किन र कसरी विस्मित् पारेकी छौ ।’

डेलाको हातका औंला चल्मलाउन थाले, तिनले त्यो प्याकेट बाँधेको डोरी र बेरेको कागज च्याते । उपहार देखेर डेला हर्षातिरेकले चिच्याउन पुगी, अनि लगत्तै, हे दैव ! तत्कालै उसको हर्ष–ध्वनिमा नारीसुलभ परिवर्तन आयो र ऊ क्वाँ–क्वाँ रुन थाली । उसलाई फकाउन जिमलाई आफूसित भएभरको क्षमता र सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्था सिर्जना हुन गयो ।

त्यो प्याकेटभित्र केही काँगियाहरू थिए– काँगियोको झुप्पा, अर्थात् सिङ्गो सेट, छेउबाट हेर्दा पनि र पछाडिबाट हेर्दा पनि सबैतिरबाट अत्यन्त चित्ताकर्षक । यो त्यस्तै काँगियो–सेट थियो जस्तो डेलाले घरको खुला झ्यालमा बसेर धेरै–धेरैपटक त्यसकै प्राप्तिका लागि भनेर लामो समयदेखि ईश्वरलाई पुकारा गर्दै आएकी थिई ।

ती अति आकर्षक र सुन्दर काँगिया थिए, शुद्ध कछुवा–खोलबाट निर्मित र सबै किनारा आभूषणले मण्डित– उसको लुप्त भइसकेको सुन्दर खैरो कपाल कोर्न पनि र त्यसमा खिप्न पनि सर्वोत्तम ।

ती काँगिया निकै महँगा थिए, डेला जान्दथिई, र, उसलाई कहिल्यै यी पाउन सकिन्छ भन्ने झीनो आशासमेत थिएन तापनि उसले हृदयबाटै त्यो प्राप्तिको लालसापूर्ण कामना भने गर्दै आएकी थिई । र अहिले, तिनै काँगिया ऊसँग थिए, जसलाई उसले मन लागेअनुसार प्रयोग गर्न सक्थी तर त्यो चीर–इच्छित आभूषणले सजाउनुपर्ने लामो खैरो सुन्दर कपाल अब त्यहाँ थिएन, कतै हराइसकेको थियो ।

उसले तिनलाई अँगालो हालेजस्तो गर्दै छातीमा टाँसी, र बिस्तारै आफ्ना अँध्यारिएका आँखा माथितिर उठाई, हलुकासित मुस्कुराई र भनी, ‘मेरो कपाल त कत्ति छिटो बढिसक्छ, जिम !’

अनि त्यसपछि डेला खुसीले बुरुक्क बुरुक्क भई । उसको मुखबाट अनायासै निस्कियो, ‘आहा, आहा !’

उसले किनेको उपहार जिमले अझै हेरिसकेको थिएन । ऊ अत्यन्त उत्सुकता र उत्साहपूर्वक जिमका अगाडि उभिई र आफ्नो खुल्ला हत्केलामा राखेको वस्तु उसलाई देखाई । भित्रैदेखि उसमा पलाएको असीम उत्साह र उज्यालोको प्रतिबिम्बमा परेर मानौं त्यो बहुमूल्य निष्प्राण धातु–टुक्रा पनि अनौठो तरिकाले चम्किन थालेको थियो ।

‘यो बिछट्टै राम्रो छैन त, जिम ? यसलाई खोज्दा–खोज्दै मैले झण्डै सिङ्गो शहर पो चाहारें, बाबै । तिमी अब यसलाई दिनहुँ सयौंचोटी हेरी बस्नेछौ । मलाई तिम्रो घडी देऊ त । मैले हेर्नु छ, तिम्रो घडीमा यो कस्तो देखिँदो रहेछ ।’

तत्काल जिमले डेलाको आग्रह स्वीकार गरेन, त्यसको सट्टा ऊ सोफामा अझ बढी ढल्किन पुग्यो अनि आफ्ना दुवै हात टाउकोमुनि राख्यो र मुसुमुसु मुस्कुरायो ।

‘डेल,’ उसले भन्यो, ‘हामीले एकअर्काका लागि भनेर ल्याएका क्रिसमस उपहारहरू केही समयका लागि अलग्गै राखौं । ती उपहार अहिले नै प्रयोगमा ल्याइहाल्नका लागि त्यति उपयुक्त छैनन् । मैले तिम्रा लागि काइँयो किन्ने भनेर आफ्नो घडी बेचिसकेको छु । ल, बरु अब खाना खाऔं होला ।’

मेजाई, तपाईं पाठकहरूलाई थाहा भएजस्तै, ती बुद्धिमान मानिस गज्जबका तीनजना बुद्धिमान मानिसहरू थिए जसले डुँडमा राखिएको शिशु (नवजात येशू ख्रिष्ट –अनु.) का लागि सर्वप्रथम उपहारहरू ल्याएका थिए ।

उनीहरूले नै क्रिसमसको अवसरमा उपहार लिने–दिने कलापूर्ण प्रचलनको शुरुआत पनि गरे । बुद्धिमान भएकैले, निःसन्देह, उनीहरूले ल्याएका उपहार पनि विशिष्ट थिए, सम्भवतः एकै किसिमका हुन गए भने तिनलाई साटफेर गर्न मिल्ने विशेष सम्भाव्यता तिनमा रहन्थ्यो ।

र, यहाँनिर म तपाईंहरूलाई एउटा फ्ल्याटमा बस्ने त्यस्ता दुईजना ‘केटाकेटी’ले गरेको अनाकर्षक कार्य–व्यवहारका सम्बन्धमा बताइरहेको छु, जसले केवल आफू एकअर्काका लागि भनेर सर्वाधिक मूर्खतापूर्ण ढङ्गले घरका सबैभन्दा मूल्यवान वस्तुकै परित्याग गरिदिए । यसो भए तापनि अचेलका बुद्धिमानहरूका लागि के भन्न सकिन्छ भने त्यसरी उपहार दिनेहरूमध्ये उनीहरू दुईजनाले दिएको उपहार सबैभन्दा बुद्धिमानीपूर्ण थियो ।

उपहार दिने र लिनेहरूमध्ये उनीहरू जस्ता दुईजना नै सर्वाधिक बुद्धिमान पनि थिए । सर्वत्र उनीहरू नै सर्वाधिक बुद्धिमान हुन्छन्, सबैभन्दा जानिफकार ठहरिन्छन् । उनीहरू मेजाई हुन् ।

अनलाईनखर बाट साभार