Sunday, June 7, 2026
Homeअपराध र घटनाहनिट्रयाप प्रकरण: प्रहरी निरीक्षककै संलग्नता- अदालतबाट पक्राउ पुर्जी जारी

हनिट्रयाप प्रकरण: प्रहरी निरीक्षककै संलग्नता- अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौँ । अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रहरीमा अपराधिक क्रियाकलापमा संलग्न भएका घटनाहरू बेला-बेलामा समाचारमा आउने गरेका छन्। यसैक्रममा हनिट्रयापमा संलग्न भई अवैध तरिकाबाट पैसा असुली कार्यमा लागेको अभियोगमा प्रहरी निरीक्षकमाथि नै अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

प्रहरी निरीक्षक बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् । थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन् ।

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा बिकले असोज ६ मा भैँसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि घटनाले नयाँ मोड लिएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका