Thursday, May 14, 2026
Homeअर्थ र ब्यापारलगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

काठमाडौँ: गत वैशाख १६ र १७ गते काठमाडौँमा आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् ।
जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु–एसएस ल्याण्डमार्क, ब्लुबर्ड मल काठमाडौँले आशयपत्र पेस गरेका लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताएका छन्।

लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत रु दुई अर्व ३५ करोड छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ ।

यसैगरी, विभिन्न सरकारी कार्यालयहरू राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गरिएको थियो । कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजनाको अनुमानित लागत रु १० अर्ब २० करोड छ ।

लगानी बोर्डले गत जेठमा आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न १२ वटा परियोजनाको आशयपत्र माग गर्न समय थपेको थियो । जसमध्ये पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र र गौतमबुद्ध म्याटर्निटी हस्पिटलको आयशपत्र पेस गर्ने समय यही असार १८ गते (२०२४ जुलाई २ तारिख) सम्मका लागि समय दिइएको थियो ।

विभिन्न चार वटा आयोजनाका लागि भने आशयपत्र पेस गर्ने समय यही असार २८ गतेसम्म रहेको छ । नौमुरे बहुउद्देश्यीय परियोजना, कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना, खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानीकर्तालाई २०२४ जुलाई १२ तारिखसम्म प्रस्ताव पेस गरिसक्न समयावधि तोकिएको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा विभिन्न १९ वटा आयोजनामा लगानी जुटाउन परियोजना प्रस्तुत गरिएका थिए । पहिचान भएका ती आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढाइएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका