काठमाडाैं। नेकपा एमालेले राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नयाँ सहकार्य स्पष्टोक्ति दिएको छ।
एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्च बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने संन्दर्भमा नयाँ सहकार्यलाई फलदायी बनाउने निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकले नयाँ सत्ता समीकरण सकारात्मक रहेको ठहर गर्दै यस प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरिएको उनले बताए। महासचिव पोखरेलले विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य महत्वपूर्ण हुने जिकिर गरे।
त्यस्तै बैठकमा पार्टी स्थापनाको ७५ औं बर्षगाठका सन्दर्भमा आगामी वैशाख १० गते आयोजना गर्न लागेको बिशेष समारोहको तयारीका बारेमा छलफल भएको उनले बताए। त्यसअघि बैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए।


