विराटनगर : मोरङमा नेपाली कांग्रेसको जिल्ला नेतृत्व चयन गर्न दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएको छ। यसअघि प्रतिस्पर्धामा उत्रिएका जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि निर्वाचन प्रक्रियामा गएर पुनः मतदान गर्नुपर्ने अवस्था आएको हो।
१४ औँ महाधिवेशनअन्तर्गत मोरङमा आइतबार भएको निर्वाचनमा ३ हजार ४ सय १४ मत खसेको थियो। सोमबार बिहान मतगणना सम्पन्न हुँदा सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन्।
संस्थापनइतरका डिगबहादुर लिम्बू र संस्थापन पक्षबाट दिलिप गच्छदार तथा यदुकुमार विष्ट सभापतिका उम्मेदवार थिए। अन्तिम मतपरिणाम अनुसार लिम्बूले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ६६ र विष्टले ५ सय ६३ मत प्राप्त गरे।
आवश्यक मत ल्याउन नसकेपछि सभापतिका लागि पुनः मतदान गर्नुपर्ने अवस्था आएको निर्वाचन समितिले जनाएको छ। पुनः मतदानपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरूको मतगणना हुने जनाइएको छ।


