काठमाडौं । बढ्दो मानसिक स्वास्थ्य समस्याको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले विज्ञ तथा सरोकारवालासँग व्यापक छलफल गरेको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा मानसिक स्वास्थ्यप्रति व्यक्तिगत र पारिवारिक दृष्टिकोण, प्रभावित व्यक्तिलाई सहयोग गर्ने संस्कार, कानुनी दायित्व, सामाजिक अवस्था तथा प्राज्ञिक र सरोकारवालाको भूमिकाबारे गहन छलफल गरिएको थियो।
छलफलका क्रममा डंगोलले साना–साना समस्याले पनि व्यक्तिको जीवनमा ठूलो मानसिक असर पार्ने बताउँदै विशेषगरी विवाहपछिको जिम्मेवारी, सामाजिक अपेक्षा, गर्भावस्था, सुत्केरी अवस्था र त्यसपछिको अवधिमा महिलाहरूले गम्भीर मानसिक दबाब झेल्नुपर्ने अवस्था रहेको उल्लेख गरिन्। उनले यस्तो समस्या पुरुषहरूमा पनि देखिने बताइन्।
उनले मानसिक रोगलाई स्वीकार नगर्ने प्रवृत्तिले पीडितलाई झन् समस्यामा पारिरहेको भन्दै यसबारे सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याइन्। “शारीरिक रोगलाई जस्तै मानसिक रोगलाई पनि स्वीकार गरेर उपचार गराउने वातावरण बनाउनुपर्छ,” उनले भनिन्।
स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी.ले महानगरले सञ्चालन गरिरहेका स्वास्थ्य प्रवर्धन कार्यक्रमहरूमा मानसिक स्वास्थ्य सेवालाई कसरी प्रभावकारी रूपमा समेट्न सकिन्छ भन्ने विषयमा प्राज्ञिक क्षेत्रबाट सुझाव आवश्यक रहेको बताए। उनले विज्ञ, अनुसन्धाता र व्यवस्थापन क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूको पृष्ठपोषण लिएर आगामी कार्यक्रम अघि बढाइने जानकारी दिए।
छलफलमा सहभागी प्रा.डा. रवि शाक्य, डा. सुरज प्रधान, डा. ऋषभ कोइराला, पीताम्बर कोइराला, रमेश खड्का, श्रेया गिरी, प्रमिला वस्ती र मातृका देवकोटालगायत विज्ञहरूले मानसिक रोगलाई अझै पनि व्यक्तिगत कमजोरीका रूपमा हेरिने, सामाजिक लाञ्छना जोडिने र पीडितले एक्लै सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसमा सुधार आवश्यक रहेको साझा धारणा राखे।
उनीहरूले शारीरिक स्वास्थ्यको तुलनामा मानसिक स्वास्थ्यले अपेक्षित प्राथमिकता नपाएको उल्लेख गर्दै हालका स्वास्थ्य कार्यक्रम, अनुसन्धान र प्रयोगशालामा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने सुझाव दिए। साथै, स्थानीय तहबाटै परामर्श र उपचार सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
छलफलमा जीवनप्रति निराश हुने अवस्थालाई छोटो समयमै सहयोग प्रदान गरेर रोक्न सकिने, डिजिटल लत पनि मानसिक समस्याको प्रमुख कारण बन्दै गएको तथा बालबालिकालाई यसबाट जोगाउन आवश्यक रहेको विषय उठाइएको थियो। तनाव व्यवस्थापनका परम्परागत तथा वैज्ञानिक विधिहरूको प्रवर्धन, नेपाली परिवेशअनुसार मानसिक स्वास्थ्य सूचक तयार पार्ने, ‘खुसी सूचक’ विकास गर्ने र सेवा प्रदायकहरूको नक्साङ्कन गर्नुपर्ने सुझावसमेत दिइएको छ।
महानगरपालिकाले यी सुझावलाई समेटेर मानसिक स्वास्थ्य सुधारका लागि समन्वित प्रणाली विकास गर्ने तयारी गरेको जनाएको छ।


