Sunday, April 26, 2026
Homeमनोरन्जनकुपिण्डे दहमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, कर्णाली पर्यटन प्रवर्द्धनमा जोड

कुपिण्डे दहमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, कर्णाली पर्यटन प्रवर्द्धनमा जोड

सुर्खेत । शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य सल्यानस्थित कुपिण्डे दहमा विविध सांस्कृतिक तथा चलचित्रसम्बन्धी प्रस्तुतिहरू प्रदर्शन गरिएको छ। चलचित्रमार्फत कुपिण्डे तालको प्रचार–प्रसार र यसको महत्त्व उजागर गर्ने उद्देश्यले ताल किनारमै महोत्सव आयोजना गरिएको हो।

आयोजकका अनुसार महोत्सवले कुपिण्डे तालको पर्यटन प्रवर्द्धन, संरक्षण र समग्र विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतिनिधिसभा सदस्य रमेश मल्ल, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संयुक्त रूपमा महोत्सव उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद मल्लले कर्णालीका थुप्रै पर्यटकीय स्थलहरू प्रचार अभावका कारण ओझेलमा परेको उल्लेख गर्दै प्रभावकारी प्रचारमार्फत पर्यटन विकास गर्न सकिने बताए। उनले कर्णाली क्षेत्र चलचित्र छायाङ्कनका लागि अत्यन्त सम्भावनायुक्त रहेको धारणा राखे।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अधिकारीले कुपिण्डे ताल कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। तालको विकासले स्थानीय आर्थिक सशक्तीकरण र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो।

उनका अनुसार ताल प्रवर्द्धनका लागि कर्णाली सरकारले ७ करोड २० लाख रुपैयाँ र साझेदारी कार्यक्रममार्फत करिब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। तालसम्म पुग्ने सडक स्तरोन्नति, झोलुङ्गे पुल निर्माण, मन्दिर निर्माण तथा तालको सौन्दर्यीकरणजस्ता योजना कार्यान्वयनमा ल्याइनेछन्।

वनगाड कुपिन्डे नगरपालिकाको आयोजनामा सम्पन्न महोत्सवमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, रेडचेरी लगायत संस्थाहरूले प्राविधिक सहयोग गरेका छन्। कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, चलचित्र विकास बोर्डका अध्यक्ष दिने्श डीसी तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

महोत्सवमा सल्यानका प्रसिद्ध सिंगारु नाँच, सरङ्गे नाचलगायत स्थानीय कला–संस्कृति झल्किने प्रस्तुति गरिएको थियो। साथै कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन क्षेत्र र मौलिक संस्कृतिलाई चलचित्रकर्मीसमक्ष पुर्‍याउने लक्ष्य राखिएको छ।

यसैक्रममा महोत्सवले ‘कर्णालीका लुकेका कथा’ विषयमा चलचित्र कथा प्रतियोगिता घोषणा गरेको छ। प्रतियोगितामा विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।

सरकारले घोषणा गरेको ‘घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य’ सूचीमा समावेश कुपिण्डे तालको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका