Friday, April 17, 2026
Homeस्वास्थ्य र जीवनशैलीमहेन्द्रनगर आँखा अस्पतालमा बिरामीको चाप बढ्दो, भारतीय नागरिक समेत आकर्षित

महेन्द्रनगर आँखा अस्पतालमा बिरामीको चाप बढ्दो, भारतीय नागरिक समेत आकर्षित

कञ्चनपुर, २५ साउन — महेन्द्रनगरस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढेको छ। गुणस्तरीय र सस्तो सेवाका कारण भारतीय बिरामी समेत यहाँ उपचारका लागि आकर्षित भइरहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ। यस अवधिमा ६३४ जनाको मोतियाविन्दु शल्यक्रिया र ५,४१३ जनालाई चश्मा वितरण गरिएको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए। उनका अनुसार, “अन्य स्थानको तुलनामा सेवा सस्तो छ, स्वदेशी वा विदेशी भनेर कुनै विभेद गरिँदैन, सबैलाई समान शुल्कमा समान व्यवहारका साथ उपचार गरिन्छ।”

गत वर्ष मात्र एक हजार ६६७ जना भारतीय नागरिकले अस्पतालको सेवा लिएका छन्। धामीका अनुसार गुणस्तरीय, विभेदरहित सेवा र अतिरिक्त शुल्क नलिइने नीतिले भारतीय बिरामीको चाप बढाएको हो।

अस्पतालमा मोतियाविन्दु, आँखामा मासु पलाउने, नेत्र ज्योतिको समस्या, परेला फर्किने तथा चश्मा आवश्यक पर्ने बिरामीको शल्यक्रिया अत्याधुनिक उपकरणमार्फत गरिन्छ। जलविन्दु वा रेटिना प्रत्यारोपणजस्ता जटिल प्रकृतिका बिरामीलाई भने गेटा आँखा अस्पतालमा ‘रेफर’ गरिन्छ। हाल दैनिक ११५–१२० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीबाट उठाइने शुल्क अस्पताल सञ्चालनमै खर्च गरिने गरिएको छ।

२०७० सालमा १० शय्याको आँखा अस्पतालका रूपमा स्तरोन्नति भएको यस संस्थाले आर्थिक वर्ष २०८१/८२ मा विद्यालय र दुर्गम क्षेत्रमा आँखा शिविर सञ्चालन गरेर थप सेवा विस्तार गरेको छ। विद्यालयस्तरका ६ शिविरमार्फत १,९०० विद्यार्थी र स्थानीय तहस्तरका शिविरमार्फत ३,९०० जनाले सेवा पाएका छन्।

हाल शल्यक्रियाका लागि स्थान अभाव भएपछि नयाँ भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारसँग आग्रह गरिए पनि बजेट टुंगो लागिसकेको छैन।

वायु प्रदूषणका कारण आँखामा भाइरल सङ्क्रमण बढेको भन्दै धामीले दैनिक सफा पानीले आँखा धुने, बाहिर जाँदा क्याप, टोपी वा कालो चश्मा प्रयोग गर्ने र सङ्क्रमण भए तत्काल चिकित्सकको सल्लाह लिन सर्वसाधारणलाई सुझाव दिएका छन्।

नेपाल नेत्रज्योति सङ्घ विसं २०३५ मा स्थापना भएको, नेपालकै अग्रणी गैर–सरकारी संस्था हो। यसले २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, जसमा तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया समावेश छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका