Wednesday, July 29, 2026
Homeराजनीतिमन्त्रिपरिषद्का निर्णय: ९ विधेयक संसद्मा लैजाने स्वीकृति, राहदानीदेखि बालश्रमसम्बन्धी कानुन संशोधन हुने

मन्त्रिपरिषद्का निर्णय: ९ विधेयक संसद्मा लैजाने स्वीकृति, राहदानीदेखि बालश्रमसम्बन्धी कानुन संशोधन हुने

काठमाडौं । सरकारले विभिन्न विषयसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।

मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०५३, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, तथा संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

त्यसैगरी, राहदानी ऐन, २०७६, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, बालश्रम निषेध तथा नियमनसम्बन्धी कानुन, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलाप ऐन, २०६८, तथा कर्मचारी ऐन, २०१९ संशोधनसम्बन्धी विधेयक पनि संघीय संसद्मा पेस गर्ने निर्णय गरिएको छ।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।

यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौँ संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका