काराकास । भेनेजुयलामा गत बुधबार आएका दुई शक्तिशाली भूकम्पपछि ७२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि उद्धार टोलीले भग्नावशेषबाट जीवित व्यक्तिहरू निकाल्ने क्रम जारी राखेको छ। सप्ताहन्तमा मात्रै ३३ जनाको सकुशल उद्धार भएपछि प्रभावित क्षेत्रमा आशा अझै जीवित रहेको देखिएको छ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज का अनुसार उद्धार गरिएकामध्ये दुई जना ११ वर्षीय बालक छन्। उनीहरूलाई आइतबार भत्किएका छुट्टाछुट्टै भवनबाट केही घण्टाको अन्तरमा जीवितै बाहिर निकालिएको हो।
उद्धारकर्मीहरूका अनुसार भूकम्पपछि सुरुवाती ४८ देखि ७२ घण्टा जीवित व्यक्तिको खोजीका लागि सबैभन्दा महत्त्वपूर्ण समय मानिए पनि भग्नावशेषभित्र पानी वा खाद्यान्न उपलब्ध भएमा त्यसपछि पनि मानिसहरू जीवित भेटिन सक्ने सम्भावना रहन्छ। यद्यपि, अझै पनि दशौँ हजार मानिस सम्पर्कविहीन रहेकाले समय बित्दै जाँदा जीवित उद्धार हुने सम्भावना क्रमशः घट्दै गएको छ।
गत बुधबार ३९ सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएपछि सयौँ भवन भत्किएका थिए। अधिकारीहरूले हालसम्म कम्तीमा १,४५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने हजारौँ मानिस बेपत्ता छन्।
आफ्ना आफन्तलाई बचाउने आशामा धेरै परिवार आफैँले भग्नावशेष हटाइरहेका छन्। स्थानीय बासिन्दाले भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिए पनि भारी कङ्क्रिट हटाउन आवश्यक उपकरणको अभावले उद्धारमा कठिनाइ भइरहेको बताएका छन्।
६ घण्टापछि बालकको उद्धार
उद्धार टोलीले ‘मोइसेस’ नामका ११ वर्षीय बालकलाई करिब तीन मिटर गहिरो भग्नावशेषबाट सकुशल बाहिर निकालेको छ। उद्धारका लागि टोलीले झन्डै छ घण्टासम्म अत्यन्त सावधानीपूर्वक काम गरेको थियो।
उद्धारकर्मीका अनुसार मोइसेस आफ्नी आमा र दिदीको शव नजिकै फेला परेका थिए। त्यसको केही घण्टापछि काराबालेडा सहरबाट अर्का ११ वर्षीय बालकलाई पनि जीवितै उद्धार गरिएको भिडियो राष्ट्रपति रोड्रिगेजले सार्वजनिक गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “यो घडीमा प्रत्येक जीवन भेनेजुयलाका लागि आशाको किरण हो।”
यसैबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काराबालेडामै फ्रान्सेली र अमेरिकी उद्धार टोलीले एक बुबा र उनका किशोर छोरालाई पनि आइतबार जीवितै बाहिर निकालेका छन्।
उद्धारमा परकम्प र जनआक्रोश
अधिकारीहरूका अनुसार तटीय ला गुइरा क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ। लगातार आइरहेका परकम्पका कारण उद्धार कार्य प्रभावित भएको छ भने स्थानीय बासिन्दामा त्रास कायम छ।
सरकारको उद्धार कार्य ढिलो र प्रभावहीन भएको भन्दै केही प्रभावित क्षेत्रमा असन्तुष्टि बढ्दै गएको छ। स्थानीयले कतिपय स्थानमा सडक बन्द गरिएका कारण उद्धार कार्य थप प्रभावित भएको गुनासो गरेका छन्।
खुला स्थानमा आश्रित हजारौँ नागरिक
भवन पुनः भत्किने डरले हजारौँ मानिस घर फर्कन सकेका छैनन्। धेरैले आफ्ना सवारीसाधन, विमानस्थल, गल्फ कोर्स तथा अन्य खुला स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका छन्।
काराबालेडास्थित गल्फ कोर्स अहिले अस्थायी अस्पताल, राहत वितरण केन्द्र र हेलिकप्टर अवतरणस्थलका रूपमा प्रयोग भइरहेको छ। देश तथा विदेशबाट आउने राहत सामग्री र उद्धार टोलीहरू त्यहीँबाट प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।
भूकम्पले चिराचिरा परेका सडक, भग्नावशेषले ढाकिएका बस्ती र आफन्तको खोजीमा व्याकुल नागरिकहरूको पीडाले प्रभावित क्षेत्र अझै शोक र त्रासमा डुबेको छ।


