काठमाडौं । रुपन्देही उद्योग संघको आयोजनामा आगामी पुष ३ देखि १७ गतेसम्म बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो।
महोत्सवको नारा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ रहेको छ। संघले २०४५ सालमा नेपालमै पहिलो पटक औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो भने २०५३ सालदेखि निरन्तर रूपमा प्रदर्शनी आयोजना गर्दै आएको छ।
बुटवलस्थित नवनिर्मित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, कृषि तथा पर्यटनसँग सम्बन्धित सामग्री प्रदर्शन गरिनेछ। सोका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन निर्माण गरिने छन्। आधुनिक स्तरका स्टल, सजावट र व्यवस्थापनका कारण यसपटकको प्रदर्शनी अघिल्ला प्रदर्शनीभन्दा फरक र आकर्षक हुने आयोजकको दाबी छ।
महोत्सवको मुख्य उद्देश्य स्वदेशी उद्योगका उत्पादनको प्रदर्शन तथा बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्ने चेतना विकास गर्नु रहेको छ। यस अवसरमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल’ अभियानलाई विशेष प्राथमिकताका साथ प्रवद्र्धन गरिनेछ। त्यसैले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश गरिने जनाइएको छ।
प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने, नयाँ उद्योग स्थापनामा प्रोत्साहन गर्ने र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। साथै, नयाँ प्रविधिको पहिचान, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमी प्रोत्साहन, स्वरोजगार सिर्जना, कला–संस्कृतिको संरक्षण तथा गोष्ठी र अन्तर्क्रिया कार्यक्रम पनि गरिनेछ।
महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायत करिब ५०० स्टल रहनेछन्। करिब ८ लाख दर्शकले अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
महोत्सवलाई मनोरञ्जनात्मक बनाउने उद्देश्यले लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त गायक–गायिका र हास्य कलाकारको प्रस्तुति, स्थानीय कलाकारहरूको कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता तथा लोक भजन प्रतियोगिता आयोजना गरिनेछ।
महोत्सव सफलतापूर्वक सम्पन्न गर्न रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति तथा ३० वटा विभिन्न उपसमितिहरू गठन गरिएको संघले जनाएको छ।


