काठमाडौं । बडा दशैँको फूलपातीको दिन सार्वजनिक भएको नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा ठूलो तहल्का मच्चाएको छ । रिलिज भएको केही घण्टामै यो नेपालमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ ।
नेपालमै नभई नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि ट्रेलरले ट्रेन्डिङमा स्थान बनाएको छ । लामो समयदेखि प्रतीक्षित चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रबार सार्वजनिक भएपछि दर्शकमाझ थप उत्सुकता बढेको देखिन्छ । शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले ट्रेलरले धेरै दर्शकको मन जितेको छ । विशेषगरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र दमदार अभिनयले ट्रेलरलाई अझ आकर्षक बनाएको छ ।
भावनात्मक सुरुवातदेखि समीर भट्टको जोशिलो संवाद र एक्सन दृश्यले दर्शकलाई तान्छ । सौगात मल्ल र समीरबीचको द्वन्द्वसँगै अन्य कलाकारहरूको प्रस्तुतिले चलचित्रको कथा अझ रोमाञ्चक हुने संकेत दिएको छ । उत्कृष्ट छायाङ्कन, सशक्त संवाद र प्रभावशाली ब्याकग्राउन्ड स्कोरको संयोजनले ट्रेलरलाई उच्च स्तरमा पु¥याएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको विद्रोहको प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ । यसले गर्दा यो चलचित्र नेपाली दर्शकका लागि अझ विशेष बनेको छ । यसअघि नै सार्वजनिक भइसकेको यसको शीर्षक गीत ‘यो ज्यान बलिदान’ले पनि निकै लोकप्रियता कमाइसकेको छ ।


