Monday, April 27, 2026
Homeअन्तराष्ट्रियप्रहरी चौकीबाटै मोटरसाइकल चोरी !

प्रहरी चौकीबाटै मोटरसाइकल चोरी !

काठमाडौं: जहाँ प्रहरी चौकी हुन्छ, त्यहाँ कानून र सुरक्षाको प्रत्याभूति हुने अपेक्षा गरिन्छ। तर पाकिस्तानको कराँची शहरमा प्रहरी चौकीको परिसरमै चोरी भएको एक घटनाले सबलाई चकित पारेको छ।

कराँचीको कोरंगी जिल्लास्थित अल-फलाह प्रहरी चौकीको मुख्य ढोका बाहिर पार्क गरिएको मोटरसाइकल त्यतिबेलै चोरी भयो, जब त्यसका धनी शाहिद इकबाल एक प्रहरी अधिकारीलाई भेट्न चौकीभित्र पसेका थिए। उनी फर्कंदा उनको १२५ सीसीको मोटरसाइकल गायब भइसकेको थियो।

जियो न्यूजका अनुसार, यो घटना कराँचीमा बढ्दो सडक अपराधको अर्को स्तब्ध पार्ने उदाहरण बनेको छ। चोरीपछि प्रहरी चौकीमै हंगामा मच्चिएको थियो।

अझ अचम्मको कुरा, सीसीटीभी फुटेजले चोरको चलाखी प्रस्ट पारेको छ। चोरी हुनु भन्दा केही मिनेट अघि नै एक युवक प्रहरी चौकीमा छिरेका थिए। उनले आफनो परिचयपत्र हराएको नाटक गर्दै ड्युटी अफिसरसहित अन्य प्रहरीहरूसँग कुराकानी गरे। यस क्रममा उनले चौकीको वातावरण बुझेर केही समयपछि निस्किए, मोटरसाइकल चोरे र सेकेन्डभरमै फरार भए।

हाल प्रहरी सीसीटीभी फुटेजको आधारमा आरोपीको खोजीमा जुटेको छ। भिडियोमा देखिएअनुसार युवक पहिले चौकी भित्र पसेका र त्यसपछि चालाकीपूर्वक बाहिर आएर बाइक लिएर भागेका थिए।

सडक अपराधमा दिन प्रतिदिन वृद्धि भइरहेको कराँचीमा यस्ता घटनाहरूले आम नागरिकमा भय बढाएको छ। नागरिक–प्रहरी सम्पर्क समितिका अनुसार, फेब्रुअरी २०२५ मा मात्रै कराँचीमा ३,७७३ मोटरसाइकल र १९५ कार चोरी वा लुटिएका थिए।

यद्यपि प्रहरी प्रशासनले सन् २०२४ मा अपराध दरमा २१% कमी आएको दाबी गरिरहेको छ, तर भोगिएको वास्तविकता फरक देखिन्छ। रिपोर्टअनुसार, अघिल्लो वर्ष मात्रै सडक अपराधका कारण १०६ जनाले ज्यान गुमाए, जसमा सर्वसाधारण, प्रहरी र पेशेवर व्यक्ति सम्मिलित छन्, भने ३०० भन्दा बढी घाइते भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका