काठमाडौँ: प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित विनियोजन विधेयकमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिनेछ।
संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको हो।
प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सो विधेयकमा छलफल जारी छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो।


