काठमाडौं: संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि तय गरिएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावसहित वक्तव्य पेस गर्ने कार्यक्रम रहेको छ। सो प्रस्तावमाथि आजै प्रतिनिधिसभामा सामान्य छलफल हुने सम्भावना छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि सभामा पेस गर्ने कार्यसूचीमा समावेश छ।
तर पछिल्ला दिनहरूमा ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी दलसहितका प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका कारण नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।
यही अवरोधका कारण विगतका बैठकहरू नियत समयमै कार्यसूचीमा प्रवेश गर्न नसकेको र आजको बैठक पनि सञ्चालन हुने वा नहुनेमा अन्योल रहेको बताइएको छ।


