Thursday, August 6, 2026
Homeखेलकुदपुलिसको पहिलो जित

पुलिसको पहिलो जित

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो।

पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरेका थिए। परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका लामाले ७०औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका थिए। रवि पासवानको पासमा लामाले उत्कृष्ट गोल गरेका थिए। त्यही गोल खेलको निर्णायक बनेको थियो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तेस्रो मिनेटमै जावलाखेलका ओन्गुना जुनियरले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए। डिबक्सभित्र गोलरक्षकलाई बिट गर्दै प्रहार गरेको उनको बलले जाली चुम्न सकेन। १०औं मिनेटमा अमिर श्रेष्ठले डिबक्सभित्रबाट प्रहार गरेको बलले पनि पोस्ट्को दिशा लिन सकेन। ४०औं मिनेटमा पुलिसका तेज तामाङको प्रहारलाई  जावलाखेलका गोलरक्षकले विफल पारेका थिए।

खेलको ४६औं मिनेटमा जावलाखेलका रुपबहादुर लामाले पनि गोलको राम्रो अवसर खेर फालेका थिए। ६७औं मिनेटमा जावलाखेलका सन्तबहादुर गुरुङको प्रहार पनि पोस्ट्मा लागेर फर्किएको थियो। खेलको ८९औं मिनेटमा पुलिसका भरत शाहको प्रहार जावलाखेलका गोलरक्षकले मुश्किलले विफल पारेका थिए। जितसँगै पुलिसले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। जावलाखेलको भने यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा जावलाखेल मनाङ मस्र्याङ्दीसँग १–० गोलले पराजित भएको थियो। कतार एयरवेजको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार दुई खेल हुनेछ। पहिलो खेलमा न्युरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गर्ने छन्। दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच खेल हुनेछ। फागुन १४ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ७५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका