काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे औपचारिक उद्घाटनसँगै विशेष महाधिवेशन प्रारम्भ हुन लागेको हो।
विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि सुरु हुनेछ। भृकुटीमण्डपको मूल गेट नजिकै रहेका स्टलहरूबाट नाम दर्ता गरिनेछ। नाम दर्ताका लागि परिचय खुल्ने कागजात, पासपोर्ट साइजको फोटो तथा एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य गरिएको छ।
महाधिवेशनमा सहभागी हुन देशभरका जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। प्रतिनिधिहरूका लागि काठमाडौंका विभिन्न स्थानमा करिब ३,६०० जनाको आवास व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।
गत असोज २९ गते ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका थिए। उक्त पहलको अगुवाइ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए।
नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।


