काठमाडौं: गण्डकी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे, जो गुण्डा नाइके भनेर चिनिन्छन्, फरार भएका छन्। सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि उनी फरार भएका हुन्।
काठमाडौं प्रहरीले मंगलबारदेखि नै उनको खोजी गरिरहेको थियो। एक प्रहरी अधिकारीका अनुसार, ‘उनलाई पक्राउ गर्न खोजिएको भए पनि हिजोबाटै उनी सम्पर्कविहीन छन्।’ सर्वोच्च अदालतले उच्च अदालत पाटनले दिएको ५ वर्ष कैदको सजायलाई सदर गरेपछि उनी फरार सूचीमा परेका छन्।
सर्वोच्च अदालतले मंगलबार फैसला सुनाएको भए पनि फैसलाको पूर्णपाठ भने अझै सार्वजनिक भएको छैन। पूर्णपाठ सार्वजनिक भएपछि उनको सांसद पदबारे कार्यान्वयन गरिनेछ।
निर्वाचनसम्बन्धी ऐनको दफा १३ अनुसार, सांसद पदको अयोग्यता सम्बन्धी प्रावधान छ। ऐनको उपदफा ६ मा मनाङेको हकमा मिल्ने व्यवस्था छ, जसमा खण्ड ‘घ’ र ‘ङ’ बाहेक अन्य कसूरमा ५ वर्ष वा सोभन्दा बढी कैदको सजाय भोगेका व्यक्तिहरूलाई अयोग्य ठहरिने व्यवस्था छ।
यो प्रावधानअनुसार, मनाङे भर्खरै सर्वोच्चबाट दोषी ठहर भएका छन्। अब प्रहरीले यो फैसला कार्यान्वयनमा लगेपछि उनी उम्मेदवार हुन अयोग्य ठहरिनेछन्। सर्वोच्चको फैसलापछि प्रहरीले अब यो फैसला कार्यान्वयनमा लैजाने छ।
थुनामा पुगेपछि उनको सांसद पद निलम्बन हुने कानुनविद्हरूको तर्क छ। अन्तिम अदालतको फैसला कार्यान्वयन भएपछि प्रदेश सभा सभामुखले यसको जानकारी दिने प्रावधान पनि छ।
२०७४ को मंसिर १० मा पहिलो पटक मनाङबाट प्रदेश सभामा निर्वाचित भएका मनाङेमाथि २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको आरोप लागेको थियो। सोही अभियोगमा काठमाडौं जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो।
पछि उक्त मुद्दामा पुनरावेदन अदालत, पाटनले फैसला उल्ट्याउँदै ५ वर्ष कैद सजाय दिएको थियो। त्यस फैसलाविरूद्ध मनाङेले तत्काल सर्वोच्चमा पुनरावेदन गरेका थिएनन्। फरार रहेकै अवस्थामा उनी २०७४ मा मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। २०७५ वैशाख ६ मा उनलाई उच्च अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो।
त्यसपछि उनलाई डिल्लीबजार कारागार पठाइएको थियो। कारागारमा रहेकै बेला उनले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए।
सर्वोच्च प्रशासनले पुनरावेदन गर्ने म्याद नाघेको भन्दै उनको निवेदन अस्वीकार गरेपछि उनी इजलासमा गएका थिए। इजलासले पुनरावेदन दर्ता गर्न अनुमति दिएको थियो।
त्यतिबेला सर्वोच्चले कारागारलाई लेखेको पत्रमा उल्लेख थियो, ‘ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीलाई २ वर्ष कैदको फैसला भएको मिति २०६३-१०-०७ (२०६२ सालको स.फौ.नं. १५३३) को फैसलामाथि वादी नेपाल सरकारले पुनरावेदन दर्ता गराउँदा पुनरावेदन अदालत पाटनले २०६९-०४-२८ मा ५ वर्ष कैदको फैसला सुनाएको थियो। प्रतिवादीले मुलुकी ऐन अ.बं. १९४ अनुसार सुविधा माग गरी कारागार कार्यालयमार्फत पुनरावेदन दर्ता गराएकोमा धरौटिमा थुनामुक्त गर्ने आदेश गरिएको थियो।’
अब उनको विषयमा सर्वोच्चले मंगलबार उच्चको फैसला सदर गरेको छ। अब उनलाई पक्राउ गर्ने प्रहरीको योजना छ। उनले अब करिब २८ महिनामात्रै जेल सजाय भुक्तान गर्नुपर्नेछ। यसअघि उनले दुई वर्ष र आठ महिना गरी ३२ महिनाको कैद सजाय भुक्तान गरिसकेका छन्।
२०६१ वैशाख ३१ मा मनाङेको मुख्य योजनामा महाराजगञ्जस्थित चाइनिज चुफाङ रेस्टुरेन्टमा चक्रे मिलनमाथि धारिलो हतियार प्रहार भएको थियो। यस घटनामा उनी २०६२ मा ठमेलबाट पहिलो पटक पक्राउ परेका थिए।


