Wednesday, September 16, 2026
Homeअर्थ र ब्यापारडीडीसीको कारोबार ४ अर्ब नजिक, किसानको भुक्तानी ढिलाइ घटेर २–३ महिनामा सीमित

डीडीसीको कारोबार ४ अर्ब नजिक, किसानको भुक्तानी ढिलाइ घटेर २–३ महिनामा सीमित

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ। संस्थानले गत वर्ष अत्यधिक दूध उत्पादनका कारण किसानलाई समयमै भुक्तानी गर्न नसकेको स्वीकार गर्दै अहिले बक्यौता भुक्तानीको अवधि ६–७ महिनाबाट घटेर २–३ महिनामा सीमित भएको जनाएको छ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा डीडीसीका प्रवक्ता निलकण्ठ गौतमले फ्लस सिजनमा अपेक्षाभन्दा धेरै दूध संकलन भएपछि त्यसलाई दूध पाउडर र बटरमा रूपान्तरण गरी भण्डारण गर्नुपरेकाले नगद प्रवाहमा समस्या आएको बताए। ती उत्पादन बिक्री हुन समय लागेकाले किसानलाई भुक्तानीमा ढिलाइ भएको उनको भनाइ छ।

उनका अनुसार डीडीसीले किसानको दूध खेर जान नदिने नीति अपनाएको छ। उत्पादन बढी हुँदा दूधलाई प्रशोधन गरी भण्डारण गर्नुपर्ने र बिक्रीपछि मात्रै नगद प्रवाह हुने भएकाले भुक्तानीमा केही ढिलाइ हुने गरेको उनले स्पष्ट पारे।

गौतमका अनुसार अहिले बटर र दूध पाउडरको मौज्दात क्रमशः बिक्री भइरहेकाले किसानको बक्यौता भुक्तानी सहज बन्दै गएको छ। उनका अनुसार पहिला ६–७ महिनासम्म भुक्तानी रोकिएको अवस्थामा अहिले अधिकांश किसानले २–३ महिनाभित्रै रकम प्राप्त गरिरहेका छन्।

डीडीसीले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका किसानबाट दूध संकलन गर्दै आएको छ। दुर्गम क्षेत्रका किसानको उत्पादन पनि बजारसम्म पुर्‍याउने सरकारी दायित्वका कारण निजी डेरीको तुलनामा ढुवानी, कोल्ड चेन र व्यवस्थापनमा बढी खर्च व्यहोर्नुपरेको संस्थानको भनाइ छ।

प्रवक्ता गौतमले खुला रूपमा बिक्री हुने दूधका कारण प्याकेजिङ गरिएको दूधको बजार प्रभावित भएको बताए। उपभोक्तामा अझै पनि खुला दूधप्रति विश्वास रहने प्रवृत्तिले गुणस्तरीय प्याकेजिङ गरिएको दूधको बिक्रीमा चुनौती थपिएको उनको भनाइ छ।

उनका अनुसार नयाँ सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनमा देखाएको चासोका कारण डीडीसीका उत्पादनको बिक्रीमा सकारात्मक सुधार देखिएको छ। विशेषगरी सरकारी तहबाट स्वदेशी दुग्धजन्य पदार्थको प्रचारप्रसार भएपछि बजार विस्तारमा सहयोग पुगेको उनले बताए।

डीडीसीले यस वर्षदेखि मोहीलाई नयाँ ब्रान्डिङसहित बजारमा ल्याएको छ। प्राकृतिक तथा स्वास्थ्यवर्द्धक पेयका रूपमा मोहीलाई कोल्ड ड्रिंकको स्वदेशी विकल्पका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य संस्थानको छ।

संस्थानका अनुसार हाल बटर र दूध पाउडरको मौज्दात क्रमशः बिक्री भइरहेको छ। गत वर्ष करिब ५०० मेट्रिक टन बटर७०० मेट्रिक टन दूध पाउडर मौज्दात रहेकोमा अहिले बजारको मागअनुसार ती उत्पादन बिक्री भइरहेको छ।

प्रवक्ता गौतमले निजी डेरीसँगको प्रतिस्पर्धा र पुरानो उत्पादन प्रविधिलाई संस्थानका मुख्य चुनौतीका रूपमा औंल्याए। उनका अनुसार डीडीसी अझै पनि करिब ४० वर्ष पुरानो प्रविधि प्रयोग गरेर सञ्चालन भइरहेको छ। आधुनिक प्रविधिमा लगानी भए बेबी पाउडर, चकलेटलगायत थप मूल्य अभिवृद्धि भएका दुग्धजन्य उत्पादन नेपालमै उत्पादन गर्न सकिने उनको विश्वास छ।

डीडीसीले गुणस्तरका सबै सरकारी मापदण्ड पूरा गर्दै सेवा दिइरहेको दाबी गर्दै प्रवक्ता गौतमले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन उपभोक्तासँग आग्रह गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका