काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ।
आगामी जुलाईमा स्पेनमा तय भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल स्कटल्यान्ड र नामिबिया सम्मिलित एकदिवसीय शृंखला स्थगित भएपछि नेपालको प्रशिक्षण पनि स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानले स्पेनमा हुने उक्त शृंखलाको तयारीका लागि २० खेलाडी समावेश गरेर बन्द प्रशिक्षण सञ्चालन गरेको थियो। प्रशिक्षण सुरु गर्नुअघि सबै खेलाडीको पीसीआर परीक्षण गरिएको थियो भने सबै स्वास्थ्य मापदण्ड पनि अपनाइएको थियो।
बन्द प्रशिक्षण स्थगित भए पनि खेलाडीहरूले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सानो समूहमा मुख्य प्रशिक्षक डेभ वाटमोर र फिजियो विक्रम न्यौपानेको निगरानीमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ।


