Tuesday, August 11, 2026
Homeअन्तराष्ट्रियकोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १३२ जनाको मृत्यु; केबलकारमा फसेका १६ जनाको उद्धार

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १३२ जनाको मृत्यु; केबलकारमा फसेका १६ जनाको उद्धार

काठमाडौँ । पश्चिमी कोलम्बियाको चोको क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० भन्दा बढी घाइते भएका छन्।

भूकम्पका कारण पेरेरा सहरमा केबलकारमा यात्रा गरिरहेका १६ जना यात्रु करिब ६ घण्टासम्म फसेका थिए। स्थानीय प्रशासनका अनुसार उनीहरूलाई स्थानीय समयअनुसार दिउँसो १ः३० बजेतिर सकुशल उद्धार गरिएको हो।

पेरेरा नगरप्रमुखको कार्यालयका अनुसार भूकम्प गएको समयमा यात्रुहरू केबलकारका क्याबिनभित्रै थिए। उद्धारपछि सुरक्षा जाँच पूरा नभएसम्म केबलकार सेवा बन्द राखिने भएको छ।

पहाडी क्षेत्रका बासिन्दालाई मुख्य सहरसँग जोड्ने सार्वजनिक यातायातका रूपमा कोलम्बियामा केबलकारको व्यापक प्रयोग हुँदै आएको छ।

यसैबीच, कफी उत्पादनका लागि प्रसिद्ध पहाडी सहर मनिजालेसमा पनि भूकम्पबाट संरचनात्मक क्षति भएपछि केबलकार सेवा बन्द गरिएको छ। त्यहाँ रहेका यात्रुको समेत उद्धार गरिएको नगरप्रमुखले बताएका छन्।

भूकम्पबाट पेरेरा सहरमा मात्रै ६० जनाको मृत्यु भएको बताइएको छ। राष्ट्रपति नेतृत्वमा भएको विपद् व्यवस्थापनसम्बन्धी बैठकपछि कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले मृतक तथा घाइतेको तथ्याङ्क सार्वजनिक गरेको हो।

भूकम्पपछि देशका पाँच प्रमुख सहरमा रेड अलर्ट जारी गरिएको छ। देशभर कम्तीमा ८६ वटा भवन पूर्ण रूपमा भत्किएका छन् भने सातवटा विमानस्थलले उडान तथा सञ्चालन स्थगित गरेका छन्।

भूकम्पको प्रभाव क्याली सहरमा समेत परेको छ। त्यहाँ केही भवन भत्किएपछि उद्धारकर्ता र स्थानीय बासिन्दा भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका