Tuesday, August 11, 2026
Homeअन्तराष्ट्रियअमेरिकामा सामाजिक सञ्जालमाथि कडाइको माग बढ्यो, ६१ प्रतिशतले सरकारी निगरानीको पक्षमा

अमेरिकामा सामाजिक सञ्जालमाथि कडाइको माग बढ्यो, ६१ प्रतिशतले सरकारी निगरानीको पक्षमा

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायतका प्लेटफर्म अमेरिकी नागरिकको दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन्। तर, यिनै प्लेटफर्मको प्रयोग, विशेषगरी बालबालिकामाथि पर्ने प्रभावलाई लिएर अमेरिकामा सरकारी नियमन र निगरानी बढाउनुपर्ने आवाज तीव्र बन्दै गएको छ।

हालै सार्वजनिक रोयटर्स/इप्सोस सर्वेक्षण अनुसार ६१ प्रतिशत अमेरिकी नागरिकले सामाजिक सञ्जाल कम्पनीमाथि सरकारले थप कडा निगरानी गर्नुपर्ने बताएका छन्। त्यस्तै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउन कम्पनीहरूले अनिवार्य रूपमा उमेर प्रमाणीकरण गर्नुपर्ने पक्षमा ६६ प्रतिशत नागरिक देखिएका छन्।

४ हजार ५०५ अमेरिकी नागरिकबीच गरिएको सर्वेक्षणमा करिब २ प्रतिशतको त्रुटि सीमा रहेको बताइएको छ। सामाजिक सञ्जाल कम्पनीमाथि कडा सरकारी निगरानीको माग गर्नेमा ७१ प्रतिशत डेमोक्र्याट र ६२ प्रतिशत रिपब्लिकन रहेका छन्। यसले सामाजिक सञ्जाल नियमनको मुद्दा राजनीतिक दलको सीमाभन्दा बाहिर पनि व्यापक समर्थन पाइरहेको देखाएको छ।

बालबालिकाको सुरक्षामा विशेष चिन्ता

सर्वेक्षणमा सहभागी ६६ प्रतिशत अमेरिकीले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्ने कानुनको समर्थन गरेका छन्। रिपब्लिकनमध्ये यस्तो व्यवस्थाको समर्थन ७४ प्रतिशत र डेमोक्र्याटमध्ये ६९ प्रतिशत रहेको छ।

त्यस्तै, ८५ प्रतिशत अमेरिकीले सामाजिक सञ्जाल बालबालिकाका लागि लत बन्न सक्ने बताएका छन्। लगभग त्यति नै ठूलो हिस्साले सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने धारणा व्यक्त गरेका छन्।

यद्यपि सामाजिक सञ्जालप्रतिको आकर्षण भने कायमै छ। ७० प्रतिशत सहभागीले सामाजिक सञ्जालमा समय बिताउन रमाइलो लाग्ने बताएका छन् भने ५२ प्रतिशतले आफूहरूले आवश्यकताभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउने गरेको स्वीकार गरेका छन्।

यसबाट अमेरिकी नागरिक सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने पक्षमा भन्दा बालबालिकाको सुरक्षा र कम्पनीहरूको जवाफदेहिताका लागि थप नियम आवश्यक रहेको पक्षमा रहेको देखिन्छ।

मेटामाथि बढ्दो कानुनी दबाब

सर्वेक्षण सार्वजनिक भएको समयमा मेटामाथि अमेरिकामा कानुनी दबाब पनि बढिरहेको छ। न्यु मेक्सिकोको एक अदालतले हालै मेटालाई ५६७ मिलियन डलर भुक्तानी गर्न आदेश दिएको छ। उक्त रकम युवाहरूको मानसिक स्वास्थ्यसम्बन्धी काममा प्रयोग गरिने बताइएको छ।

यसअघि यही मामिलामा मेटामाथि ३७५ मिलियन डलर जरिवाना लगाइएको थियो। दुवै रकम जोड्दा मेटाको कुल वित्तीय दायित्व करिब ९४२ मिलियन डलर पुगेको छ।

न्यु मेक्सिकोका न्यायाधीश ब्रायन बिडसिडले फेसबुक र इन्स्टाग्रामको डिजाइन तथा बालबालिकाको सुरक्षासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएका छन्। अदालतले बालबालिकाको उमेर प्रभावकारी रूपमा जाँच गर्न, नाबालिगका लागि प्रयोगसम्बन्धी सीमाहरू तोक्न तथा राति र विद्यालय समयमा हानिकारक हुन सक्ने ‘पुस नोटिफिकेसन’ नियन्त्रण गर्नेलगायतका उपाय अपनाउन आदेश दिएको छ। केही अवस्थामा अभिभावकको अनुमति आवश्यक पर्ने व्यवस्था पनि आदेशमा समेटिएको छ।

मेटाले भने उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको छ।

सामाजिक सञ्जालको डिजाइनमै परिवर्तनको दबाब

अदालत तथा विभिन्न राज्यबाट यस्ता आदेश र कानुनी व्यवस्था बढ्दै गएमा यसको प्रभाव जरिवाना र क्षतिपूर्तिमा मात्र सीमित नहुने देखिन्छ। उमेर प्रमाणीकरण, नोटिफिकेसन प्रणाली, सिफारिस गर्ने एल्गोरिदम तथा बालबालिकाका लागि उपलब्ध सुविधामा व्यापक परिवर्तन गर्न कम्पनीहरू बाध्य हुन सक्नेछन्।

अमेरिकाका विभिन्न राज्यले यसअघि नै बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने अलग–अलग कानुनी व्यवस्था अघि बढाएका छन्। कतिपय राज्यमा उमेर प्रमाणीकरण र अभिभावकीय सहमति अनिवार्य गर्ने प्रयास भइरहेको छ भने केहीले बालबालिकालाई लक्षित लत लाग्ने प्रकृतिका फिचर नियन्त्रण गर्न खोजेका छन्।

न्यु मेक्सिकोको फैसला प्रत्यक्ष रूपमा त्यही राज्यमा लागू भए पनि त्यहाँका अधिकारीहरूले यसलाई अन्य राज्यका लागि समेत उदाहरण बन्न सक्ने बताएका छन्।

यसको अर्थ फेसबुक वा इन्स्टाग्राम तत्काल बन्द हुने भन्ने होइन। बरु आगामी दिनमा उमेर प्रमाणीकरण, अभिभावकीय नियन्त्रण र बालबालिकालाई लक्षित फिचर तथा नोटिफिकेसनमा थप कडाइ हुन सक्ने संकेत देखिएको छ।

यसैबीच, रोयटर्सका अनुसार २९ अमेरिकी राज्यसँग सम्बन्धित अर्को छुट्टै संघीय मुद्दाको सुनुवाइ अगस्ट १२ देखि क्यालिफोर्नियामा सुरु हुँदैछ। उक्त मुद्दामा मेटालगायत सामाजिक सञ्जाल कम्पनीमाथि बालबालिका तथा किशोरकिशोरीलाई परेको प्रभावसँग सम्बन्धित गम्भीर आरोपमाथि सुनुवाइ हुनेछ। मेटाले भने आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका