काठमाडौँ, २५ असोज — काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना विद्यार्थीको आँखा परीक्षण गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ।
कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय समेट्ने गरी परीक्षण कार्यक्रम सञ्चालन गरेको हो। विभागका प्रमुख दीपककुमार केसीका अनुसार परीक्षण कक्षा १ देखि १० सम्मका छात्रछात्रालाई समावेश गरेर गरिएको थियो। तीमध्ये छ हजार १७५ जना छात्र र पाँच हजार ४६२ जना छात्रा थिए।
परीक्षणका नतिजाअनुसार करिब १० दशमलव ८३ प्रतिशत अर्थात् एक हजार २६० जनामा नजिक वा टाढाको वस्तु देख्न नसक्ने समस्या भेटिएको छ। यस्तै, करिब दुई दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखासम्बन्धी विभिन्न रोगहरू पाइएको छ। जाँचपछि आवश्यक विद्यार्थीहरूलाई ११ प्रकारका औषधि निःशुल्क वितरण गरिएको थियो।
यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा दृष्टि समस्या पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउने, आँखाको स्वास्थ्य र सरसफाइप्रति सचेतना बढाउने, र विद्यार्थी, शिक्षक तथा अभिभावकबीच आँखाको हेरचाह र स्याहारको बानी विकास गराउने रहेको कामपाले जनाएको छ।
कार्यक्रमबाट प्राप्त सुझावहरूमा विद्यालय उमेरका बालबालिकाको दृष्टि जोगाउन नियमित आँखा परीक्षणलाई निरन्तरता दिनुपर्ने, बहुक्षेत्रीय साझेदारी विस्तार गर्नुपर्ने, तथ्याङ्क व्यवस्थापन र विश्लेषणका आधारमा नीति निर्माण गर्नुपर्ने, शिक्षक तथा कर्मचारीमा दृष्टिदोष पहिचान र समाधानका सीप विकास गर्नुपर्ने, साथै एकीकृत र डिजिटल सेवा प्रणाली विकास गर्नुपर्ने सिफारिस गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर कम्तीमा दुई करोडभन्दा बढी मानिस दृष्टि कमजोरी वा दृष्टिविहीनताबाट प्रभावित छन्। प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार ‘विश्व दृष्टि दिवस’ का रूपमा मनाइन्छ। यस वर्षको नारामुनि ‘दृष्टि, प्रविधि र भविष्य’ भन्ने विषयवस्तुका साथ दिवसका कार्यक्रमहरू आयोजना गरिएको छ।


