Monday, July 27, 2026
Homeराजनीतिकांग्रेस नेताहरूको कार्यशैली सुधार गर्न केन्द्रीय सदस्यहरूको माग, महाधिवेशन समयमै गर्न जोड

कांग्रेस नेताहरूको कार्यशैली सुधार गर्न केन्द्रीय सदस्यहरूको माग, महाधिवेशन समयमै गर्न जोड

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टी नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल सुधार गर्न आग्रह गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले नेताहरूको व्यवहार र निर्णय प्रक्रियाप्रति कार्यकर्ताहरू निराश रहेको जनाउँदै जिम्मेवार र पारदर्शी कार्यशैली अपनाउनुपर्ने धारणा राखेका हुन्।

सदस्यहरूले तोकिएको म्यादभित्रै महाधिवेशन सम्पन्न हुनुपर्नेमा पनि जोड दिएका छन्। उनीहरूका अनुसार, महाधिवेशन समयमै नगर्नु पार्टीभित्र अन्योल सिर्जना गर्ने भएकाले त्यसको सुनिश्चितता आवश्यक छ।

शुक्रबारको बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दीपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाईलगायत करिब ३० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। त्यसैगरी आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरी तथा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पनि आ–आफ्नो विचार प्रस्तुत गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवका अनुसार, सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीबारे छलफल भए पनि मन्त्रीहरू परिवर्तन गर्ने विषय भने उठाइएको थिएन। विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक असार २२ गते बिहान ८:३० बजे पुनः बस्ने कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका