जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ। प्रतिष्ठानमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना माग पूरा नभएको भन्दै तालाबन्दी गरेका हुन्।
बढुवा र स्तरवृद्धिको माग सम्बोधन नगरिएको कारण देखाउँदै ५८ जना शिक्षक र कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका छन्। यसले गर्दा पठनपाठन पूर्णरूपमा प्रभावित भएको छ। उपकुलपति, शिक्षाध्यक्ष, र रजिस्ट्रारलगायत पदाधिकारीका कार्यकक्षमा समेत तालाबन्दी भएपछि प्रशासनिक काम ठप्प भएको छ।
प्रतिष्ठानमा करिब चार सय कर्मचारी कार्यरत छन्, तर जसमध्ये केवल ७०-७५ जना स्थायी छन्। ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारीले काम गरिरहेका छन्। लामो समयदेखि स्थायी प्रक्रियामा प्रगति नभएको, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसकेको र प्रतिष्ठानले सिनेट बैठकको निर्णय अनुसार माग सम्बोधनको प्रक्रिया अघि नबढाएको भन्दै कर्मचारीहरूले असन्तोष व्यक्त गरेका छन्।
विसं २०८० भदौ २१ मा दुई पक्षीय सम्झौतापछि असोज ८ मा बढुवापत्र प्रदान गरिएको थियो। तर, बाँकी स्थायी कर्मचारीको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ देखि अघि बढाउने सहमतिमा ढिलाइ भएको आरोप आन्दोलनरत कर्मचारीले लगाएका छन्।


