काठमाडौं, ७ साउन — नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकपछि बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो जानकारी दिएका हुन्।
महासचिव पोखरेलका अनुसार, राष्ट्राध्यक्षजस्तो गरिमामय पदमा रहेकी भण्डारीले पुनः दलको सक्रिय राजनीतिमा फर्किनु नेपालको संविधानको भावना विपरीत हुने निष्कर्षमा पार्टी पुगेको हो। “पार्टी बलियो बनाउनुभन्दा लोकतन्त्रलाई बलियो बनाउने उद्देश्यले नै पार्टीले उनीलाई पुनः सक्रिय राजनीतिमा स्वागत नगर्ने निर्णय गरेको हो,” पोखरेलले भने।
उनले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः निर्विकल्प बनाउने हेतुले दुई कार्यकालको सीमा र ७० वर्षे उमेर हद हटाइएको भन्ने चर्चा मात्र ‘राजनीतिक बहस’ भएको उल्लेख गरे। विधानअनुसार योग्यता पुगेका जो–कोही प्रतिनिधिले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिन सक्ने स्पष्टिकरण समेत उनले दिए।
पत्रकार सम्मेलनमा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा पारित आठ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए।


