वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग जारी द्वन्द्व अन्त्यका लागि सम्झौता हुनेमा बुधबार आशा व्यक्त गरेको छ। फेब्रुअरीको अन्त्यतिर इजरायलसँग मिलेर सुरु गरिएको यो सैन्य तनाव अब अन्त्यतिर पुगेको ट्रम्पको दाबी छ।
यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरू अझै खुकुलो पारेको छैन। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पाकिस्तानको मध्यस्थतामा भइरहेका वार्ताहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको बताउँदै छिट्टै सहमति हुने विश्वास व्यक्त गरेकी छन्।
अमेरिकाले इरानमाथि थप रणनीतिक दबाब सिर्जना गर्न ‘पश्चिम एसिया’ क्षेत्रमा आफ्नो नीति कडा बनाएको छ। ट्रेजरी सचिव स्कट बेसेन्टले इरानी तेल खरिद गर्ने मुलुकहरू, विशेषगरी चीनमाथि थप प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्।
चीनले इरानको ८० प्रतिशतभन्दा बढी तेल खरिद गर्दै आएकोमा अमेरिकी नाकाबन्दीका कारण त्यसमा ठूला अवरोध आउने दाबी गरिएको छ। बेसेन्टका अनुसार इरानले वित्तीय क्षेत्रमा पनि गम्भीर क्षति व्यहोर्नुपर्नेछ, जसरी अमेरिकी र इजरायली हवाई आक्रमणबाट उसको सैन्य संरचना र नेतृत्व प्रभावित भएको छ। साथै, अमेरिकाले तेलको मूल्य नियन्त्रणका लागि दिएको छुटहरू अब नवीकरण नगर्ने स्पष्ट पारेको छ।
यसैबीच, युद्धविराम र शान्ति वार्ताका लागि पाकिस्तानले सक्रिय भूमिका खेलेको छ। अघिल्लो चरणको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएपछि पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर बुधबार तेहरान पुगेका छन्। उनले दुवै पक्षबीच रहेका असमझदारी कम गर्ने प्रयास गर्ने जनाइएको छ।
इरानले भने यदि नाकाबन्दी नहटेमा खाडी क्षेत्र, ओमानको खाडी र लाल सागरमा हुने व्यापारिक आवागमन नै रोकिदिने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराक्चीले मुनिरलाई स्वागत गर्दै क्षेत्रीय शान्ति र स्थिरताप्रति इरान प्रतिबद्ध रहेको बताएका छन्। वार्ता सफल भएमा ओमानतर्फको समुद्री मार्गबाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रस्ताव पनि इरानले अघि सारेको छ।
युद्धका कारण विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलडमरूमध्य अहिले लगभग ठप्प जस्तै भएको छ। अमेरिकी सैन्य नाकाबन्दीको सुरुवाती ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहबाट भित्रिन वा बाहिरिन सकेका छैनन्, र केही जहाजहरूलाई अमेरिकी सेनाले बीचमै फर्काएको बताइएको छ।
राष्ट्रपति ट्रम्पले इरानका महत्वपूर्ण पूर्वाधारहरू लक्षित गरी कडा चेतावनी दिएका छन्, तर आफू त्यसो गर्न नचाहने पनि बताएका छन्।
शान्ति वार्तामा इरानको परमाणु कार्यक्रम र लेबनानको स्थिति मुख्य बाधक बनेका छन्। अमेरिकाले इरानको परमाणु गतिविधि २० वर्षका लागि निलम्बन गर्नुपर्ने प्रस्ताव राखेको छ भने इरान ३ देखि ५ वर्षसम्मका लागि मात्र सहमत देखिएको छ।
यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाहमाथि गरिरहेको आक्रमणलाई इरानले युद्धविराम उल्लङ्घनको रूपमा व्याख्या गरेको छ। तर अमेरिका र इजरायलले यसलाई छुट्टै विषय मानेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने इरानसँगको कुनै पनि परिस्थितिको सामना गर्न इजरायल तयार रहेको बताएका छन्।


