काठमाडौं । संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले बुधबार इराकमा इरान समर्थित मिलिसिया अड्डाहरूलाई लक्षित गर्दै संयुक्त हवाई आक्रमण गरेका छन्। अमेरिकी पक्षले यस कारबाहीलाई आफ्ना सैनिक तथा साउदी अरेबियाका ऊर्जा पूर्वाधारमाथि भएका ड्रोन आक्रमणको प्रतिक्रियाका रूपमा जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार पूर्वी इराकस्थित इरान समर्थित सशस्त्र समूहका लक्ष्यहरूमा आक्रमण गरिएको हो। सेन्टकमले विगत ७२ घण्टामा इरानी रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को निर्देशनमा अमेरिकी सैन्य अड्डा र साउदी अरेबियाका ऊर्जा संरचनालाई लक्षित गरी गरिएका ३० भन्दा बढी ड्रोन आक्रमण विफल पारिएको दाबी गरेको छ।
सेन्टकमले मंगलबार इरानले अमेरिकी सैन्य अड्डामाथि क्षेप्यास्त्र आक्रमण गर्ने प्रयास गरेको भए पनि त्यसलाई रोक्न सफल भएको जनाएको छ।
उता, इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले हवाई आक्रमणमा आफ्ना कम्तीमा २० जना लडाकु मारिएको र ३२ जना घाइते भएको दाबी गरेको छ।
यसैबीच, इरानी रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाको आक्रमणको प्रतिक्रियास्वरूप जोर्डनस्थित अमेरिकी हवाई अड्डा र कमाण्ड सेन्टरलाई निशाना बनाएको दाबी गरेको छ। साथै, चेतावनीको बेवास्ता गर्दै होर्मुज जलडमरूमध्यबाट गुज्रिएका तीनवटा तेल ट्याङ्करमाथि आफ्नो नौसेनाले कारबाही गरेको पनि जनाएको छ।
पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले अमेरिका र साउदी अरेबियाको संयुक्त आक्रमणलाई इराकको सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको आरोप लगाउँदै यसले क्षेत्रीय तनावलाई थप चर्काउने चेतावनी दिएको छ।


