काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक (बजेट) २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने तथा विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा बजेटमाथिको छलफलका क्रममा विभिन्न मन्त्रालय तथा निकायसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्रीहरू बैठकमा उपस्थित भई सांसदहरूको जिज्ञासाको उत्तर दिने कार्यसूची तय गरिएको छ।
कार्यसूचीअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका तर्फबाट सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको पनि जवाफ प्रस्तुत गरिनेछ।
सांसदहरूको प्रश्नको जवाफपछि विनियोजन विधेयक, २०८३ पारित गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।


